छुवाछुतका घटनामा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

छुवाछुतका घटनामा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतविरुद्धका घटनाको समयमै प्रभावकारी अनुसन्धान नहुदाँ न्याय प्राप्त गर्ने अधिकारबाट पीडित वञ्चित हुनुपरेको जनाएको छ ।

आयोगमा पछिल्लो समय जातीय छुवाछुतसँग सम्बन्धित २ वटा उजुरी तथा ज्ञापन पत्र प्राप्त भएको भन्दै आयोगले सोमबार एक विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

आयोगमा भर्खरै मात्र रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा ५ का गणेश परियारको निर्मम कुटपिटबाट मृत्यु भएको उजुरी परेको छ । यस्तै, जुम्ला जिल्ला सिंजा गाउँपालिका २ का एक व्यक्तिले सामाजिक सञ्जालमा जातीय छुवाछुत विरुद्धको अभिव्यक्ति दिएका घटनाका दोषीलाई प्रभावकारी कानूनी कारबाहीको माग गर्दै आयोगमा उजुरी परेको छ ।

आयोगको अनुगमनका क्रममा पनि सामाजिक सञ्जालमा दलित समुदायमाथि मानमर्दन हुनेगरी जातीय भेदभाव तथा छुवाछुतजन्य क्रियाकलापलाई बढावा दिने खालका कार्य हुने गरेको पाइएको आयोगका प्रवक्ता एवम् सहसचिव डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अनुगमनबाट प्राप्त तथ्यको आधारमा आयोगले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पटक-पटक आह्वान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारका अमानवीय र आपराधिक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र पीडितको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न आयोगले तीन वटै तहका सरकार एवम् सबै सरोकारवालासँग आग्रह पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर