मनोज पाण्डे प्रकरणमा कानून तोडमोड : आरोप बलात्कारको, सजाय मानव बेचविखनमा – Nepal Press

मनोज पाण्डे प्रकरणमा कानून तोडमोड : आरोप बलात्कारको, सजाय मानव बेचविखनमा

हदम्याद कटेका बलात्कारका घटनामा अब मानव बेचबिखनमा मुद्दा लाग्नसक्ने

काठमाडौं । ८ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताका क्रममा आफूमाथि बलात्कार भएको भन्दै गत वैशाखमा भाइरल भइन् । उनले टिकटकमार्फत आफ्नो कथा सुनाएकी थिइन् जसले सामाजिक सञ्जालमा निकै ठूलो भाइब्रेसन ल्याइदियो ।
दबाबमा परेको प्रहरी आरोपी मनोज पाण्डेको खोजीमा तत्कालै जुट्यो ।

तर बलात्कारका घटनामा जाहेरीका निम्ति एक वर्षको मात्र हदम्याद रहने प्रावधान छ । अर्थात्, घटना भएको एक वर्ष बितिसकेपछि मुद्दा चल्दैन । त्यसैले, ८ वर्ष पुरानो घटनाका आरोपिमाथि के मुद्दा चलाउने भनेर प्रहरी अन्योलमा थियो ।
हदम्यादको विषय जोडतोडले उठिरहेका बेला पीडित भनिएकी युवती रुँदै सामाजिक सञ्जालमा आएकी थिइन् । उनको प्रश्न थियो– हदम्यादकै कारण मैले न्याय नपाउने त ?’

पीडितलाई जसरी पनि न्याय दिलाउने दबाबमा परेको प्रहरीले बाध्य भएर मुद्दालाई तोडमोड गरिदियो । आरोप बलात्कारको थियो, तर प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्धा चलाउने निर्णय लियो । उक्त ऐनको दफा ४ मा कस्तो कस्तोलाई मानव बेचबिखन र कस्तो कस्तोलाई मानव ओसारपसार मानिने भनेर ब्याख्या गरिएको छ ।

ऐनमा कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने तथा वेश्यागमनलाई मानव बेचबिखन मानिएको छ ।

यस्तै, किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने तथा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितीको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की, दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफुसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कामलाई ओसारपसार भनिएको छ ।

मनोज पाण्डेमाथि लागेको आरोप माथि उल्लेखित परिभाषासँग मेल खाने खालको थिएन । तर, प्रहरीले यही कानूनलाई टेकेर पाण्डेमाथि अनुसन्धान गर्यो । महत्वपूर्ण के भने यो कसुरमा आफू निर्दोष रहेको प्रमाण आरोपीले नै पुर्याउनुपर्ने हुन्छ । यसको मतलब पाण्डेले आफूमाथि लागेको अभियोग झुट्टो हो भनेर भनेर प्रमाणित गर्नुपर्ने थियो अदालतमा । उनले सरकारी वकिलसँगको बयान र अदालतमा गरेको बयानमा आरोप निराधार रहेको दाबी गरेका थिए ।

त्यसअघि पीडित भनिएकी युवतीले सुन्दरी प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टी गराउने नाममा पाण्डेले आफूलाई एभरेस्ट होटलमा लट्याउने औषधि खुवाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । मानव बेचविखनको कुरा कतै थिएन । तर, बलात्कारमा मुद्दा लगाउन हदम्यादका कारण नमिलेपछि प्रहरीले मानव बेचविखनमा हालिदियो । अदालतले पनि त्यसमै फैसला सुनाएर एउटा नजिर बनाइदिएको छ, जसले गर्दा भविष्यमा पनि पुराना बलात्कारका घटनाहरु मानव बेचबिखनमा परिणत भएर अदालतमा पेश हुन सक्छन् ।

यो मुद्धा प्रहरीका लागि पनि एउटा प्रयोगजस्तो बनेको अधिकारीहरु बताउँछन् । ‘हदम्याद कटेका बलात्कारका घटनामा दोषीलाई सजायको दायरामा कसरी ल्याउने भन्ने अन्योलता प्रहरीलाई थियो’ एक अनुसन्धान अधिकृतले भने, ‘पाण्डे प्रकरणमा लगाइएको मानव बेचबिखन तथा ओसारपसार प्रमाणित भएपछि अब यस्तै प्रकृतिका अन्य मुद्दामा पनि अगाडि बढ्न सजिलो हुनेछ ।’

मानव बेचबिखन तथा ओसारपसारको मुद्धामा कुनै हदम्याद छैन । जहिले पनि उजुरी लाग्न सक्छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले दुई साताअघि दोषी ठहर गरे पनि मानव बेचबिखन तथा ओसापसारमा सोमबार मात्र सजाय निर्धारण गरेका हुन् ।

पाण्डेविरुद्ध १५ वर्ष कैद सजाय माग गरिएको थियो । पाण्डेमाथि भएको सजायको पूर्ण पाठ भने आएको छैन । पूर्ण पाठमा पाण्डेले कानूनमा उल्लेख भएजस्तो कसरी मानव बेचबिखन तथा ओसारपसार गरेका थिए भन्ने विस्तृत उल्लेख गर्नुपर्ने हुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर