रामकथा वाचन गर्न लुम्बिनी आए मोरारी बापू


रुपन्देही । मंगलबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा हुने राम कथा प्रवचन कार्यक्रमका लागि भारतका प्रख्यात रामकथा वाचक मोरारी बापू रुपन्देही आइपुगेका छन् ।
उनलाई सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, वसिउद्दिन खान, सीके गुप्ता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कार्यसमिति सदस्य मंगल भण्डारी, सञ्जय बजिमयसमेत उनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
रामकथा प्रेम यज्ञ समिति लुम्बिनीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलमा राम कथा प्रवचन हुँदैछ । प्रवचन माघ २४ देखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको छ । माघ २१ गतेदेखि हुने भनिए तापनि प्राविधिक कारणले तीन दिन सरेको कार्यक्रम संयोजक राजेशकुमार अग्रवालले बताए ।
सो कार्यक्रमको केही संस्थाले विरोध गरे पनि स्थानीयले लुम्बिनीको विकासमा सबै धर्म र समुदायका नागरिकको सहयोग चाहिने भन्दै प्रतिरोध गरेका थिए । सोमबार दिउँसो केही समय लुम्बिनी क्षेत्रमा सामान्य झडप भए पनि पछि शान्त भएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।