क्यानलाई विदेशी प्रशिक्षक टिकाउने चिन्ता, देसाईलाई वर्षमा १२५ दिन छुट्टी – Nepal Press

क्यानलाई विदेशी प्रशिक्षक टिकाउने चिन्ता, देसाईलाई वर्षमा १२५ दिन छुट्टी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देसाईलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सुरुमै विदेशी प्रशिक्षकहरु नेपालमा नटिकिरहेको सन्दर्भ जोड्दै भने, ‘सधैं आरोप लाग्छ, विदेशी कोचहरु नेपाल आउने, ट्रान्जिट बनाउने अनि जाने । त्यो आरोपबाट पनि यो पटक मुक्त हुन्छौं कि भन्ने विश्वास दिलाउन चाहन्छु ।’

क्यानका अनुसार देसाईसँग २ वर्षको सम्झौता भएको छ र यसलाई नवीकरण पनि गर्न सकिनेछ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले देसाईले ३ वर्ष सम्झौता गर्न प्रस्ताव गरेकाले उनी लामो समय नेपाली क्रिकेटमा टिक्ने विश्वास व्यक्त गरे । सम्झौताअनुसार देसाईको वर्षमा २४० ‘कार्य दिन’ हुनेछ ।

यसको मतलब १२५ दिन उनले छुट्टी पाउनेछन् । क्यान अध्यक्ष चन्दले नेपालमा विगतमा पनि कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा काम गरेकाले देसाईलाई रोजिएको बताए ।

‘निकै छलफलपछि नेपाली क्रिकेटको भविष्यलाई हेरेर हामीले उहाँलाई नियुक्त गरेका छौं । अबको हाम्रो चुनौती भनेको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउने र त्यसका लागि विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ८ वटा खेलमा सुखद नतिजा निकाल्ने हो’, चन्दले भने ।

इन्डियन प्रिमियर लिग क्लब राजस्थान रोयल्सका पूर्वप्रशिक्षक देसाईले यसअघि अफगानिस्तान, क्यानडालगायत देशका राष्ट्रिय टोलीमा रहेर पनि काम गरेका छन् । देशाईले सन् २०१२ देखि नेपाली टोलीसँग काम गरेकाले धेरै कुरा बुझेको बताएका छन् ।

पछिल्लो ३-४ वर्षमा विदेशी प्रशिक्षकहरु नेपाली टोलीमा टिक्न सकिरहेका छैनन् ।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि यसलाई जोगाउनुपर्ने चुनौतीमा रहेको नेपाली क्रिकेटमा विदेशी प्रशिक्षकलाई टिकाउन नसकेको आरोप लाग्ने गरेको छ । सन् २०२० मा चर्चित डेभ वाट्मोर, सन् २०२१ मा पुबुदु दासानायके र सन् २०२२ मा मनोज प्रभाकर प्रमुख प्रशिक्षक रहेका थिए ।

७ टोली रहेको आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपाल हाल २४ खेलबाट १८ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ । प्रतियोगितामा नेपालले १२ खेल खेल्न बाँकी छ । हरेक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीन स्थानमा रहने टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।

सन्दीप लामिछानेमाथिको बलात्कार आरोप र नेपाल टी-२० लिगको स्पट फिक्सिङ विवादका कारण नेपाली क्रिकेट असहज अवस्थामा छ । उच्च अदालतको आदेशले धरौटीमा छुटेका सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किसकेका छन् । यी दुवै विषयमा प्रशिक्षक देसाईले आफ्नो पहिलो पत्रकार सम्मेलनमा बोले ।

देसाईले भने, ‘उनी कसरी मैदान फर्कन्छन् भन्ने महत्वपूर्ण थियो । तर, उनी मैदानमा आफ्नो भूमिका र सीपमा पूर्ण उपस्थित देखिन्छन् । टीमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको छ । उनी अहिले गरिरहेका छन् र उनलाई थाहा छ आफूले के गर्नुपर्छ भनेर, त्यो भनेको बलिङ हो ।’

देसाईले आफूले क्रिकेट र क्रिकेटको भाषा बुझेकाे भन्दै नेपाली टोलीको आजको दिनसम्म पूरा प्रक्रिया अपनाइएको बताए । उनले नेपाली क्रिकेट म्याच फिक्सिङको विवादमा परे पनि त्यसलाई बिर्सिएर शत प्रतिशत दिने बताए ।

‘उतारचढाव हरेकको जीवनमा आउँछ । तर, त्यसलाई पार गरेर शत प्रतिशत दिने हो । अहिले यी सबै कुरालाई बाहिर राखेर हामीले शत प्रतिशत दिन प्रयास गर्नेछौं’, उनले भने ।

देसाईले टीम अहिले कुन परिस्थितिमा चलिरहेको छ भन्नेबारे आफू जानकार भएको बताउँदै एक ढिक्का हुनुको विकल्प नभएको औंल्याए । ‘नराम्रा कुराहरुलाई बाहिरै राख्नुपर्छ । म राम्रो र खुशी ड्रेसिङ रुम चाहन्छु । सबै एक ढिक्का भएर परिस्थितिको सामना गर्नुपर्छ’, उनले भने ।

उनले आफू तत्कालका लागि विश्वकप लिग २ का १२ खेलमा केन्द्रित रहेको बताए । ‘अहिले भनेको टीम मजबुत बनाउनु र खेलाडीहरुलाई मैदानमा उनीहरुलाई के आवश्यक छ भनेर बुझाउनु छ । मेरो शक्ति अहिले त्यसैमा गइरहेको छ’, उनले थपे ।

आफूलाई परिस्थिति बुझ्न अझै केही साता वा महिना लाग्ने र त्यसपछि आवश्यक योजनाहरु बनाउने बताए । उनले तत्कालको यात्रा कहाँ पुग्छ भनेर अनिश्चित रहेको बताए ।

‘पछिल्लो एक सातामा मैले बुझेको भनेको केही खेलाडीहरुमा अनुभवसहितको सीप छ । अब उनीहरुले एक भएर प्रदर्शन गर्नुपर्छ’, उनले भने ।

नेपालसँग ‘अनकन्डिसनल लभ’

प्रशिक्षक देसाईले नेपालसँगको अनकन्डिसनल लभका कारण आफू जोडिएको बताएका छन् । सन् २०१२ देखि आफू नेपाली क्रिकेटमा जोडिएको बताउँदा यहाँका खेलाडीको क्रिकेट भोक र क्षमतालाई आफूले बुझेको उनले बताए । उनले नेपालसँग इमोसन जोडिएको र कतिपय कुराहरु नलेखिएको तर कुनै दिन लेखिने बताए ।

उनले नेपालमा क्रिकेट लिगेसी रहेको र एकदिवसीय अन्तर्राष्ट्रिय प्राप्त गर्न भएको १०औं विकेटको साझेदारी पनि स्मरण गरे । उनले पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचनलगायत खेलाडीको नाम लिएर उनीहरुसँग काम गरेको र उनीहरुको योगदान बुझेको बताए ।

‘अबको चुनौती भनेको नयाँ पुस्तामा जिम्मेवारी आएको छ । नयाँ पुस्तामा सिक्ने भोक छ । सीमित स्रोतबीच पनि नेपाली खेलाडीहरुले ठूलो मेहनत र योगदान गरेका छन् । म यो पुस्तासँग जोडिएर सफलताको कथा लेख्न उत्साही छु’, देसाईले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर