सहकारीबाट आफ्नै बचत निकाल्न सास्ती- कारबाहीको सट्टा उजुरी कुर्छन् अधिकारी – Nepal Press

सहकारीबाट आफ्नै बचत निकाल्न सास्ती- कारबाहीको सट्टा उजुरी कुर्छन् अधिकारी

रुपन्देही । रुपन्देहीमा रहेका केही सहकारीमा समस्या आएको धेरै समय भइसकेको छ । संचारमाध्यमले धेरै पटक यो विषय उठाइसकेका छन् । बचतकर्ता अनेक दुःखकस्ट पाएर जम्मा गरेको रकम निकाल्न नपाएको समस्या सार्वजनिक भएको छ तर नियामक निकायले भने कुनै निवेदन वा उजुरी नै नआएकाले कारबाही गर्न नसकेको जनाएको छ ।

प्रदेशको मुकाम रहेको रहेको बुटवलमा यति धेरै सहकारीमा समस्या आउँदा बुटवलमै रहेको सहकारी मन्त्रालय तथा सहकारी विभागमा भने अहिलेसम्म कुनै उजुरी परेको छैन । यो विभाग केही समयअघि मात्रै देउखुरी गएको हो ।

रुपन्देहीको भैरहवामा रहेको क्रयमबकय जडीबुटी सहकारी, भलबारीमा रहेको कल्पवृक्ष सहकारी, बुटवलमा रहेको सुप्रिम तथा शिवशिखर सहकारीले करोडौं रकम संकलन गरेर बचतकर्तालाई दिन नसकेको र दैनिक उनीहरुले ती सहकारीको कार्यालयमा घेरेको भएपनि नियामक निकायमा उजुरी भने गरेका छैनन् । ती बाहेकका अन्य संकटग्रस्त सहकारीको विषय पनि बाहिर आएको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्याग्रस्त भएको ३ महिना बढी भयो । बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन दिनहुँ सहकारी पुग्ने गर्छन्, तर अझै पाएका छैनन् ।

गत कात्तिकदेखि सङ्कटमा परेको सुप्रिम सहकारीले बचतकर्ताको सानो रकमको चेक साट्न पनि सकिरहेको छैन । अहिले पनि दैनिक ५० भन्दा बढी शेयर सदस्य रकम झिक्न सहकारीमा पुग्ने गरे पनि रकम झिक्न पाएका छैनन् ।

‘पहिले ब्याज बढी दिने भनेर रकम जम्मा गरियो । १८ लाखसम्मको कारोबार समेत सहकारीमा भयो । तर सहकारी सङ्कटमा पुगेपछि रकम पाउन अप्ठयारो भएको छ। पटक पटक गरी केही रकम लिए पनि सबै रकम अझै पाएको छैन’, बुटवल सुख्खानगरका बचतकर्ता नेत्र शर्मा भन्छन् । सहकारीमा पुग्दा भोलि भोलि भन्दै फर्काउनेगरेको उनले बताए ।

बुटवलकै शिवशिखर सहकारीमा बचत गरेका व्यवसायी यज्ञ सापकोटा दिनदिनै आफ्नो रकम निकाल्न कार्यालय पुगेपनि पाउन नसकेको बताए । संचालकहरुले आफ्ना केही नजिकका मान्छेलाई बोलाएर जम्मा भएको रकम दिएपनि सर्वसाधारणलाई तारेख लगाएपनि दिन नसकेको बताए ।

नियामक निकायको कमजोरीले गलत गर्नेहरुले अहिले पनि बचतकर्तालाई थर्काउने, दुःख दिने गरेपनि कोही साथ दिने नभएको गुनासो सापकोटाले गरे । पहिले आफ्नो क्षेत्रमा काम गर्न दिने, राजश्व लिने अहिले मेरोमा दर्ता छैन भन्दै बुटवल उपमहानगर उम्कन नपाउने उनको भनाइ छ । सहकारीले बचत जम्मागरेकाहरुलाई अहिले दोब्बर मूल्यमा सामान बेचेको भएपनि कोही बोल्न नसकेको भन्दै सबैको मिलेमतोमा यस्तो भएको आक्रोश पोखे ।

रुपन्देही कार्यक्षेत्र बनाएका केही सहकारी आर्थिक सङ्कटमा परेपछि अहिले बचतकर्ता समस्यामा परेका छन् । ऋण प्रवाहमा भएको लापरबाहीले सहकारी सङ्कटमा पुग्दा बचतकर्ता दिनहुँ जम्मा गरेको रकम लिन सहकारीमा धाउनुपर्ने बाध्यता छ ।

बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले अहिले ऋणीहरूको धमाधम लिलामीको सूचना निकालेको छ । लिलामी गरेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको सहकारीले अहिलेलगानी गरेको ऋण लगानी उठाउन ऋणीलाई बारम्बार ताकेता गरिरहेको सहकारीले बताएको छ ।

सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङ पहिलेको तुलनामा सहकारी अहिले समस्याग्रस्त नभएको तर्क दावी गर्छन् ।‘अहिले बजारमा हामीले ताकेता गरेर दैनिक जसो ८/१० लाख रुपैयाँसम्म बचतकर्तालाई दिन थालेका छौँ । केही समयमै सहकारी सही ट्र्याकमै आउँछ’, उनले भने । तर उनले भनेजस्तो बचतकर्ताले सहज ढंगले आफ्नो रकम पाउने विश्वासमा छैनन् ।

अध्यक्षका गुरुङका अनुसार अहिले पनि उठाउनुपर्ने ऋणबापतको रकम बजारमा ८० करोड छ । कालोसूचीमा राखेका ऋणीहरूले पनि छिटै रकम बुझाउने भनेकाले सहकारीले सबैको पैसा समयमै फिर्ता दिने र यसमा ढुक्क हुन उनले आग्रह गरेका छन् । सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न तालिका बनाएपनि तालिकाअनुसार बचत रकमझिक्न पुगेका बचतकर्ताले पनि पैसा सहकारीबाट झिक्न पाएका छैनन् ।

सहकारीले पुस १७ गते सूचना प्रकाशित गर्दै रकम दिने बारसहितको सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार पाँच लाखसम्म जम्मा गरेका ५० जनासम्म बचतकर्तालाई आइतबार पाँच हजारका दरले, पाँच लाखदेखि १५ लाखसम्म जम्मा गरेका २६ जनासम्म बचतकर्तालाई सात हजार पाँच सयका दरले सोमबार, १५ देखि ५० लाखसम्म बचत गर्ने २० जनासम्म बचतकर्तालाई १० हजारका दरले बुधबार र ५० लाखमाथि बचत गर्ने १० जनासम्मलाई २० हजारका दरले बिहीबार रकम दिने सूचनामा उल्लेख थियो । तर यो सूचनाअनुसार रकम नपाएको बचतकर्ताको गुनासो छ ।

रुपन्देही, कपिलवस्तुमा कर्मचारीबाट बचत संकलन गरेको यो सहकारीले बिनाधितो ऋण लगानी गर्दा समस्यामा परेको हो ।
सहकारीको नियमन प्रदेश र स्थानीय सरकारले गर्छन् । तर सहकारीको पछिल्लो अवस्थाका विषयमा यी दुवै निकाय बेखबर छन् । यी निकाय मौन हुँदा यस्ता सहकारीको आत्मबल झन् बढिरहेको छ ।

फितलो नियमनको फाइदा उठाउँदै सहकारीका ठूला लगानीकर्ताबाट साधारण सदस्यको बचत अपचलन भएको सहकारी अभियान्ताको भनाइ छ । सहकारीको बचत आफ्ना सदस्यबाहेक अन्यमा ऋण प्रवाह हुँदैन । तर, सहकारीले पछिल्ला समय ग्रामिण क्षेत्रमा शाखा खोली रकम सङ्कलन गर्ने र शहरी क्षेत्रका गैरसदस्यलाई लगानी गर्ने गरेकाले समस्या आएको सहकारी बोर्ड प्रदेश उपाध्यक्ष टिकाराम पोखरेल बताउँछन् ।

जिल्लाबाहिर समेत कारोबार गर्ने सहकारीलाई नियमन गर्ने प्रदेश माताहतको सहकारी मन्त्रालय हो । तर, नियमनकारी निकाय प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले भने सहकारीबारे अहिलेसम्म लिखितउजुरी नआएको जनाएको छ । प्रदेशको सहकारी रजिष्ट्रार भीमप्रसाद तिवारीले अहिलेसम्म सहकारीबाट पीडित बनेको भन्दै कसैको पनि उजुरी नआएको बताए ।

‘मौखिक रूपमा ५/६ सहकारीमा समस्या आएको सुनेपनि लिखित आएको छैन, केही दिनअघि एकजनाले फोन गर्नुभएको थियो, मैले सके आफै आउनुस् नभए मेलबाट भएपनि पठाउनुस् भने तर केही पनि आएन’– उनले भने ।

उनले भने–‘लिखित रूपमा केही आएको छैन । तर पनि हाम्रो ध्यान गएको छ । हामीले यस्तै समस्याग्रस्त सहकारी रहेका बाँके र बर्दियाका नमस्ते सहकारीको करोडौं रकम बचतकर्तालाई फिर्ता गराउने गरी योजना बनाएका छौं, दाङको लमहीमा १ सहकारीले ५ वर्षदेखि साधारणसभासमेत नगरी बचत उठाएको पाएका छौं, अब रुपन्देहीमा पनि धेरै समस्या आएको छ, यसको सुक्ष्म अध्ययन सुरु गरेका छौं ।’

प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले संघीय संरचनामा गएपछि सहकारीमा केही समस्या आएको , केही सहकारीमा मनोमानीरुपमा नियम विपरीत बचत संकलन तथा लगानी भएकाले समस्या आएको बताए । उनले अब तीनै तहका सरकारले यसलाई कडाईका साथ नियमन थाल्नुपर्ने र सहकारीको ग्रेडिङ गर्नुपर्ने बताए ।

अर्थविश्लेषक माधवकुमार पौडेलका अनुसार सहकारीले वित्तीय संस्थाजस्तो गरी आफनाे कार्यक्षेत्र र सिमा बिर्सेर उत्पादनमूलक काम गर्नुको साटो व्यवसायिक गतिविधिमा लाग्दा सहकारीहरुमा समस्या देखिएको हो । बेलैमा नियमन कसिलो नपार्ने हो भने अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा रहेको सहकारी प्रणाली नै धाराशायी हुने खतरा देखिदै गएको उनको भनाइ छ ।

उता संकटमा परेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संचालक समितिका अध्यक्ष शुशिल बानिया, उपाध्यक्ष भोजराज पौडेलसहित संचालक सदस्यहरुले हस्ताक्षर गरेको विज्ञप्तीमा सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिवद्ध रहेको बताएको छ । स्थिर सम्पति बेचेरै भएपनि बचत फिर्ता गर्ने संस्थाले जनाएको छ । संस्थामा देखिएको सदस्य समाधान गर्न संस्था प्रयासरत रहेको रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘एकैपटक धेरै सेयर सदस्य बचत फिर्ता लिन आउँदा हामीलाई बचत फिर्ता गर्न केही असहज भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रा सदस्यहरुलाई पर्न गएको असुविधाप्रति हामी पूर्ण रुपमा जानकार छौं र दुखित पनि छौं । विगतमा जुन विश्वासले तपाईहरु हामीसँग जोडिनुभएको थियो । त्यही विश्वास देखाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *