नेपाल-भारत रेल सेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयले आन्दोलन गर्ने (भिडिओ) – Nepal Press

नेपाल-भारत रेल सेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयले आन्दोलन गर्ने (भिडिओ)

काठमाडौं । नेपाल-भारत रेल सेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् । सोमबार कोशी ब्यारेजस्थित नेपाल-भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

रेलसेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । सन् २०११ मा सम्पन्न कोशी सम्झौताअनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्ने गरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए ।

प्रदेश १ का पूर्वपर्यटन मन्त्री जगदीश कुसियतले नेपाल-भारत संयुक्त रेल सेवा आन्दोलनको आवश्यकता महसुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए ।

उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेकोमा जोड दिए ।

भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकारविरुद्ध संघर्षमा छन् । कोशी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतियासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई विस्तार गरी अघि बढ्ने निर्णय गरेको छ ।

कोशी प्रोजेक्टअन्तर्गत भारतले सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो । त्यस बखत कोशी ब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपालतर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेशन राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *