टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो, प्रधानमन्त्री प्रचण्डले दिए समवेदना – Nepal Press

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो, प्रधानमन्त्री प्रचण्डले दिए समवेदना

काठमाडौं । टर्कीमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ भने १ हजारभन्दा बढी गम्भीर घाइते भएका छन् । सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको उक्त भूकम्पको पराकम्प ३ सय किलोमिटरसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार पहिलो भूकम्पको केन्द्रविन्दु टर्कीको कहरामनमारास प्रान्तको गाजियनटेप शहरबाट ३० किलोमिटर टाढा र जमिनबाट २४ किलोमिटर तल थियो । स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

यस्तै ६.७ म्याग्निच्युडको दोस्रो परकम्प ११ मिनेटपछि र साँझ ४ बजेर ४७ मिनेटमा ५.६ म्याग्निच्युडको तेस्रो परकम्प महसुस गरिएको थियो ।

भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १० शहरमा पुर्‍याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेण्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४४० जना घाइते भएका छन् ।

यस्तै सिरियामा २३७ जनाको मृत्यु भएको छ भने ६३९ जना घाइते भएका छन् । यी दुई देशमा मृत्यु हुनेको संख्या ३१३ पुगेको छ । धेरै मानिस अझै पनि भग्नावशेषमा दबिएकाले दुबै देशमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । लेबनान र इजरायलमा हालसम्म कुनै क्षति भएको खबर छैन ।

टर्कीमा गएको उक्त विनाशकारी भूकम्पपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन् । ‘टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर