अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक छ (भिडिओ) – Nepal Press

अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक छ (भिडिओ)

काठमाडौं । अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् ।

मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् ।

उनीहरुले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको औंल्याएका छन् ।

अर्थविद्हरुले सरकारले ल्याएका नीतिगत प्राथमिकता र साझा न्युनतम कार्यक्रम प्रभावकारी कार्यान्यनकोे लागि भएपनि पूरक बजेट आवश्यक रहेको बताए ।

उनीहरुले अहिलेको बजेटमा सरकारका साझा न्युनतम कार्यक्रम समावेश नभएको भन्र्दै साझा कार्यक्रम कार्यान्वयन गर्नेगरी पूरक बजेट आवश्यक रहेको बताए ।

उनीहरुले सरकारले बजारमा लगानीयोग्य रकम सहज बनाउन र अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षामार्फत आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने बताए । उनीहरुले सरकारले पूरक बजेट ल्याएर पुँजीगत खर्च बढाएर तिब्ररुपमा काम गर्नसके आर्थिक वृद्धिको लक्ष्य भेट्टाउनसक्ने बताए ।

अर्थविद् डा.डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य समेट भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए ।

उनले भने,‘अर्थतन्त्रमा समस्या रहेकाले सरकारले खर्च कटौती गर्नु आवश्यक छ भने बजेटको आकार घटाउनुपर्छ । वर्तमान सरकारले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम ल्याएको छ । सरकारका साझा कार्यक्रमलाई पूरा गर्नुपर्छ । अहिलेको बजेटमा सबै कुराहरु छैन । साझा न्युनतम साझा कार्यक्रमलाई पूरा गर्ने गरी पूरक बजेट ल्याउनु आवश्यक छ । तर सरकारले पूरक बजेटको नाममा जथाभाबी,मनपरि ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पैसा उभारेर सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम ल्याएको छ ।’

त्यस्तै,नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए । उनले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।

उनले भने,‘अघिल्लो सरकार भन्दा नयाँ सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्र र उद्योगी व्यवसायीहरुमा केही गर्न खोजेको देखिएको छ । सात वटा पार्टी मिलेर बनेको सरकारको साझा कार्यक्रम ल्याएको छ । साझा कार्यक्रममा धेरै नीतिगत विषयहरु फरक पर्छ । सरकारमा गएकाहरु कोही खुला अर्थतन्त्रमा विश्वास गर्छन । कोही सामाजवादी, साम्यवादी अर्थतन्त्र भन्नेहरु रहेका छन् । सबैको विचारलाई मिक्स गरेर सरकारले अवतरण गराउँछ हेर्न बाँकी रहेको छ । तर वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मागहरु सुनेको देखिन्छ । सरकारले जसरी सकिन्छ बजारमा पैसा पठाउने काम गर्नुपर्छ ।’

त्यस्तै,नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताए ।
पूर्वगभर्नर क्षेत्रीले  सरकारले भ्रष्टाचार न्युनिकरणका निम्ति शुन्य सहनसिलताको नीति लिएर अगाडि बढ्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर