मुख्य बजारको पार्किङ निषेध गर्ने निर्णयबाट पछि हट्यो पोखरा महानगर – Nepal Press

मुख्य बजारको पार्किङ निषेध गर्ने निर्णयबाट पछि हट्यो पोखरा महानगर

पोखरा । कास्कीको पोखरा महानगरपालिका मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने निर्णयबाट पछि हटेको छ । महानगरले माघ २३ गतेदेखि मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो ।

व्यवस्थित भएका ठाउँहरुलाई खाली गर्ने कारण देखाउँदै महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय स्थगित गरिएको जनाएको हो ।

महानगरले यसअघि पोखराका मुख्य शहरी क्षेत्रको पृथ्वीचोक-सभागृहचोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोक सडकखण्डमा सोमबारदेखि पूर्ण रूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । बजारका मुख्य सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत असर भएकाले पार्किङ निषेध गर्ने निर्णय गरिएको जनाएको थियो ।

तर, आइतबार सूचना जारी गर्दै सरोकारवाला निकाय, पोखरा उद्योग वाणिज्य संघ, यातायात्र क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरु तथा सरोकारवालाहरुको छलफलपछि यसअघि गरेको निर्णयबाट महानगरपालिका पछि हटेको हो ।

उद्योग वाणिज्य संघ र अरु संस्थाहरुले तयारी नपुगेको बताएकाले २÷४ दिन पछि सारिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । ‘उद्योग वाणिज्य संघ र अरु संस्थाहरुले तयारी पुगेन भनेको हुनाले ठीक छ उहाँहरुको कुरा सुनौं न भनेर’, उनले भने, ‘केही ठाउँमा खाली गर्नुस् भने पनि खाली नभइसकेको रैछ । तयारी नपुगेकाले र साथीहरुले यसमा छलफल होस् पनि भनेको कारणले २÷४ दिन सारेको हो ।’

खाली भएको ठाउँमा सोमबारबाटै पार्किङ सुरु हुने मेयर आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *