एमाले लुम्बिनीको आमनिर्वाचन समीक्षा: महासचिव पोखरेल पराजित भएको दाङको आलोचना – Nepal Press

एमाले लुम्बिनीको आमनिर्वाचन समीक्षा: महासचिव पोखरेल पराजित भएको दाङको आलोचना

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले मंसिर ४ मा भएको आमनिर्वाचनको समीक्षा गरेको छ ।

बुटवलस्थित प्रदेश कार्यालयमा बसेको प्रदेश कमिटीको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, प्रदेशमा रहेका पार्टी केन्द्रका नेताहरु, सबै जिल्लाका इन्चार्ज तथा अध्यक्षहरु सहभागी रहेर निर्वाचनको समीक्षा गरेका थिए ।

निर्वाचनमा तत्कालीन सत्तारुढ दलको बलियो गठबन्धनसँग लडेको एमालेले संघमा २६ मध्ये ११ र प्रदेशमा ५२ मध्ये १८ स्थानमा जितेको थियो ।

लुम्बिनी, राप्ती र भेरीका १२ जिल्ला मिलेर बनेको प्रदेशमा साबिक लुम्बिनीका ६ जिल्लामा राम्रो नतिजा आएको, साबिक राप्तीको प्यूठान र भेरीको बाँकेमा मात्रै राम्रो नतिजा आएको बैठकमा सहभागीले चर्चा गरेका छन् ।

लुम्बिनीबाट पार्टी पदाधिकारीमा रहेका ७ जनाको गृहजिल्लामा महासचिव शंकर पोखरेलको दाङमा संघ तथा प्रदेशमा शून्य सहभागिता भएको भन्दै केही नेताहरुले आलोचना गरेका छन् ।

‘निर्वाचनमा परिणाम राम्रो आएका जिल्लाको प्रशंसा र संगठन बलियो भएर पनि नतिजा राम्रो आउन नसकेको जिल्लाको आलोचना हुनु त स्वाभाविक हो, दाङको विषय पनि त्यही हो’, बैठकमा सहभागी एक सदस्यले भने ।

सचिवालय बैठकमा निर्वाचनको समीक्षा, फागुन मसान्तसम्म प्रदेशमा रहेका सबै पार्टी सदस्यहरुको नवीकरण, फागुन ९ गते दाङमा प्रदेश कमिटीको पूर्ण बैठक, भ्रातृ संगठनहरुको अधिवेशन तथा क्रियाशीलतामा विशेष ध्यान दिने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नेपाल प्रेसलाई बताए ।

उनले २५ माघमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदार कुमार दसौदीलाई विजयी बनाउन सम्पूर्ण पार्टी पंक्ति लाग्ने निर्णय भएको बताए ।

बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न निर्देशन दिएका थिए । सचिव विश्वकर्माले भ्रातृ संगठनलाई चलायमान बनाउँदै पार्टीलाई जीवन्त राख्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *