ओलीको टिप्पणी- सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ (भिडिओ)

एमालेमा सत्तालिप्सा छैन, अस्थिरता रोक्न प्रचण्डलाई प्रधानमन्त्री बनायौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको भविष्यको आकार दिने राजनीति आफैँ दिशाविहीन बनेर भैपरी आउने अवसर कुरेर बसेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक अस्थिरता अन्य गर्न संविधान जारी गरेपनि सफल नभएको बताए ।

उनले भने, ‘राजनीतिक परिवर्तनपछि अहिलेसम्म कुनै सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन । राजनीतिक स्थायित्वको अपेक्षा भएको संविधान जारी भएको सात वर्षभित्र सातजना प्रधानमन्त्री फेरिए । हामीले राजनीतिक स्थायित्वको साथ संविधान जारी गर्‍यौं तर अझै वर्षमा एउटा प्रधानमन्त्री । हाम्रो चाहान स्थिरता भएपनि प्राप्ति अस्थिरता हुनपुग्यो ।’

उनले एमाले सत्ता लिप्सामा कहिल्यै नरहेको जिकिर गरे । राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्न आफूहरूले सरकार बनाउनको लागि पहल थालेर प्रचण्डलाई प्रधानन्त्री बनाएको ओलीले बताए । नयाँ सरकार गठनपछि जनतामा उत्साह पैदा भएको जिकिर गर्दै यसबीचमा कांग्रेसले प्रदर्शन गरेको व्यवहार बुझिनसक्नु भएको उनले बताए ।

ओलीले भने, ‘कांग्रेसका केही साथीहरुलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भइरहेको छ । मन मानेको छैन । तर, प्रतिपक्षमै बस्न बाध्यता छ । यतिबेला कांग्रेस पानीबाहिरको माछाजस्तै छटपटाएको देखिन्छ । सत्ताबाहिर आफ्नो अस्तित्व आफैँ विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ ।’

कांग्रेसका नेताहरूले सरकार नरहँदा विग्रह ल्याएर अल्पकालीन लाभ लिने गरेको आरोप लगाए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई अस्थिरताको कारक नबन्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर