रेशम चौधरीको मुद्दामा आज सुनुवाइ – Nepal Press

रेशम चौधरीको मुद्दामा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा आज टीकापुर घटनासम्बन्धी मुद्दाको पेसी तोकिएको छ । यसअघि ८ पटकसम्म साधारण तारिख र ६ पटक पेसी सरिरहेको यो मुद्दाको आज बहस हुने बताइएको छ ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

फागुन १२ गते रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ । उक्त मुद्दा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासमा पेसी तोकिएको छ । थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेसी रहेको छ ।

जिल्ला अदालतले ११ जनालाई जन्मकैदको फैसला सुनाएको र उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हुँदा सरकारी वकिलले पनि झझी (झगडिया झिकाऊ) कै लागि बहस गर्ने बताइएको छ । रेशम पक्षका कानून व्यवसायीले रेशम निर्दोष रहेको भन्दै झझीका लागि बहस गर्ने छन् ।

टीकापुर घटनाको सन्दर्भमा न्यायाधीशले झझी (झगडिया झिकाऊ)का लागि फैसला गरे टीकापुर घटनाका विषयमा थप बहस हुने छ । तर, न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरे अदालतीय प्रक्रियामार्फत रेशम रिहाइको बहस सकिनेछ ।

कान”न व्यवसायीहरू भने आज दुवै सम्भावना रहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर