बुद्धको जन्मथलो पुगेर मन्त्री किराँतीले भने- लुम्बिनीलाई पर्यटकीय हब बनाउन काम थाल्छु (भिडिओ) – Nepal Press

बुद्धको जन्मथलो पुगेर मन्त्री किराँतीले भने- लुम्बिनीलाई पर्यटकीय हब बनाउन काम थाल्छु (भिडिओ)

किराँतीले भने- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा एयर रुटलाई एजेण्डाका साथ उठाउँछौँ

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उडानमा समस्या आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै सञ्चालनको लागि कूटनीतिक तथा प्राविधिक तयारीमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

पहिलो पटक यो विमानस्थल आएका मन्त्री किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राख्दै यस्तो बताएका हुन् ।

निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै गौतमबुद्व विमानस्थलबाट तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताए ।

उनले अहिले रोकिएको उडान सुचारु गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसलाई गौतमबुद्व विमानस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने बताएका हुन् ।

उनले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट कूटनीतिक र मन्त्रालय स्तरबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्धता जनाए ।

उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रुटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने उनको भनाइ थियो । मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा गौतमबुद्व विमानस्थलको रुटको एजेन्डा राख्ने बताए ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थल सञ्चालनका लागि रुटका विषय मुख्य एजेन्डामा पर्छ, श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छु’, उनले भने । मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने बताए ।

निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए । उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गरे ।

उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताए ।

मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री किराँती समक्ष विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *