बैंक बाहेक अरू सबै व्यवसाय धराशायी : मन्त्री श्रेष्ठ – Nepal Press

बैंक बाहेक अरू सबै व्यवसाय धराशायी : मन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले अहिलेको अवस्थामा बैंक बाहेक अन्य सबै व्यवसाय धरापमा परेको बताएका छन् ।

प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा मकवानपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले कोरोना कहर पछि नेपालको अर्थतन्त्रमा सुधार हुन नसकेको भन्दै बैंक बाहेक सबै व्यवसायको अवस्था धराशायी भएको बताए ।

अन्य व्यवसायसँगै नेपालको पत्रकारिता व्यवसायलाई पनि गम्भीर असर परेको भन्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

पत्रकारिता क्षेत्र पनि धराशायी बन्दा पत्रकारहरू पनि अन्य व्यवसायका व्यक्तिहरूजस्तै पलायन हुने खतरा बढेको भन्दै सरकार चौथो अंगको विषयमा गम्भीर रहेको बताए ।

पत्रकारिता क्षेत्रको माध्यमबाट मानिसहरूले सही सूचना पाउने, आफूहरूले सही सुझाव पाउने भन्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले पत्रकारिताको क्षेत्रलाई महत्त्वको साथमा हेरेको बताए ।

अहिले अर्थतन्त्र गम्भीर मोडमा रहेको र सयौँ श्रमजीवी पत्रकारहरूले महिनावारी तलब नपाउँदा पनि जनताले पाउने सूचनाको सन्दर्भमा काम गरिरहेको भन्दै उनले त्यस्ता पत्रकारलाई सम्मान रहेको भनाई व्यक्त गरे ।

‘अप्ठेरो अवस्थामा पनि पत्रकारिता क्षेत्रलाई सेवा क्षेत्रको रूपमा बुझेर काम गर्नुहुने पत्रकार साथीहरूलाई म स्याल्युट गर्न चाहन्छु’ उनले भने ।

बागमती प्रदेश सरकारले पत्रकार कल्याण कोषमा ५० लाख दिने घोषणा मुख्यमन्त्रीले गरिसकेको भन्दै मन्त्री श्रेष्ठले उक्त घोषणा कार्यान्वयनको लागि आफूहरू लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर