प्रचण्डलाई युवराज ज्ञवालीको सुझाव- कांग्रेसको अलमलमा लागे तपाई आफैँ खाल्डोमा पर्ने हो (भिडिओ) – Nepal Press

प्रचण्डलाई युवराज ज्ञवालीको सुझाव- कांग्रेसको अलमलमा लागे तपाई आफैँ खाल्डोमा पर्ने हो (भिडिओ)

‘गाउँपालिका उपाध्यक्षलाई धम्की दिने बदनाम ठेकेदार एमालेको नोटिसमा छन्, महिलाको अपमान सैह्य हुन्न’

ओखलढुंगा । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड फेरि कांग्रेसको हुलामुलामा परेमा आफैँ खाल्डोमा पर्ने चेतावनी दिएका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ८ टारकेराबारीमा एमालेको पार्टी कार्यालय शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले राष्ट्रपतिको बारेमा सरकार गठनकै बेला समझदारी भइसकेकाले प्रचण्डले दायाँबायाँ गरे आफैँ समस्यामा पर्ने बताए ।

ज्ञवालीले भने– माओवादीका नेताहरूले बुझुन्, कांग्रेस बेइमान शक्ति हो भन्ने व्यवहारबाट प्रमाणित भइसकेको छ । प्रचण्ड जी फेरि कांग्रेसको अलमलमा लाग्नुभयो भने उहाँ नै खाल्डोमा पर्ने हो । राष्ट्रपति कसलाई बनाउने, सभामुख र प्रधानमन्त्री आलोपालो गर्ने समझदारी भएको हो र त्यही अनुसार प्रदेशहरूमा सरकार बनिसकेका छन् । सभामुख र उपसभामुख चुनाव भएर स्थिति धेरै अघि बढिसक्यो ।

उपाध्यक्ष ज्ञवालीले सहमतिबाट दायाँबायाँ लागेर यो गठबन्धन भत्किए देश अर्को संकटमा पर्ने र पुनः संसद् विघटन हुने चेतावनी समेत दिए ।

गृह मन्त्रालय कसलाई दिने भन्ने निर्णय नेताहरू आपसमा बसेर टुंगो लगाउनुपर्ने र सहमतिमा इमानदार बन्नुपर्ने ज्ञवालीले बताए ।

उनले भने– प्रचण्ड जी राष्ट्रपतिको बारे जे सहमति भएको हो त्यसमा इमानदार हुनुस् । उहाँले राष्ट्रिय सहमति होस् भन्नु राम्रो हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भने ठिकै छ । जसरी प्रधानमन्त्रीमा कांग्रेसले भोट हाल्यो त्यसै गरी राष्ट्रपतिमा पनि एमालेको उम्मेदवारलाई भोट हालेर जिताउनुस् । त्यसपछि कांग्रेसको काम सकियो ।

ठेकेदारका धम्कीबाट विचलित नहुन उपाध्यक्षलाई ढाडस

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री ज्ञवालीले हालै लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई बदनाम ठेकेदार कान्छाराम तामाङका पेटी ठेकेदार राजन सुवेदीले धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग गरेको विषयलाई एमालेले नोटिसमा लिएको बताए ।

उनले समाजको लागि केही गरौँ भनेर राजनीतिमा आएका नवयुवाहरूलाई विचलित बनाउने र महिलाको आत्मसम्मानमा चोट पुग्ने भाषा प्रयोग गर्नेहरू समाजका लागि खतरा रहेको बताए । सुवेदीले केही दिनअघि उपाध्यक्ष थापालाई भर्खर जन्मेकी केटी भन्दै जे पनि हुनसक्ने धम्की दिएका थिए ।

ज्ञवालीले भने- अस्मिता थापालाई अपमान गरेर बोल्नु भनेको जन्मदिने आमा, आफ्नी छोरी र दिदी बहिनिलाई अपमान गरेको । यस्ता खालका मान्छे हुन्छन् समाजमा,कांग्रेसको जातै त्यस्तै हो । तर तपाई विचलित नभई दृढतापूर्वक अघि बढ्नुस । महिलालाई अपमान गर्ने, हेप्ने होच्याउनेहरूलाई समाजबाट बहिष्कृत गर्नुपर्छ । कांग्रेसको नेता हुँ भन्छ, ठेकेदारी गरेको छ अनि केही गर्छु भनेर आएका जेहेन्दार महिलालाई अपमान गर्ने ? यो कुरालाई एमालेले नोटिसमा लिएको छ ।

सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष थापाले जिल्लाको विकास अलपत्र पार्ने ठेकेदारको आलोचना गर्दा आफूमाथि लाञ्छना र धम्की आए पनि त्यसबाट विचलित नहुने बताइन् । तर अरू महिलामाथि त्यस्ता अभिव्यक्ति र व्यवहार भएमा भने प्रतिवादमा उत्रिने चेतावनी दिइन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवार,केन्द्रीय सदस्य किशोर अधिकारी, प्रदेश कमिटी सदस्य केशवहरी ढुंगेल, जिल्ला सचिव कमल न्यौपाने,गाउँपालिका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर