लुम्बिनीका ‘आयातित’ सहकारीमा चुलिँदो संकट, मापदण्ड विपरीत ‘कारोबारी सहकारी’मा समस्या – Nepal Press

लुम्बिनीका ‘आयातित’ सहकारीमा चुलिँदो संकट, मापदण्ड विपरीत ‘कारोबारी सहकारी’मा समस्या

८ सय ऋण सहकारी नियमन गर्न ६ जना मात्रै कर्मचारी

रुपन्देही । लुम्बिनी प्रदेशमा अधिकांश ‘आयातित’ सहकारीमा बढी समस्या देखिएको छ । नवलपरासीदेखि बर्दियासम्म तराईका जिल्लामा समस्यामा परेकामध्ये सबैभन्दा धेरै सहकारी सहकारी कानुन उल्लंघन गरेर कारोबार गरेकाहरु रहेका छन् ।

यसरी समस्यामा पर्नेमध्ये धेरै बाहिरबाट रुपन्देहीमा कार्यक्षेत्र बनाएर कारोबार गरेका छन् । संकटमा परेकामध्ये धेरै संघीय व्यवस्था कार्यान्वयनमा गएपछि रहेका छन् । यसले सबैभन्दा बढी सहकारी संस्थाहरु नियमनमा समस्या थपिएको छ ।

रुपन्देहीमा रहेका सहकारीहरु पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएका छन् । रुपन्देहीको भलबारीमा रहेको कल्पवृक्ष, बुटवलमा रहेको शिव शिखर, सुप्रिम, आगन्तुक सहकारीहरुमा हाल बचतकर्ताहरुले रकम निकाल्न नपाएको विषय बाहिर आएको छ ।

प्रदेश सहकारी संघका अनुसार रुपन्देहीमा ०६४ मा स्वर्णिम सहकारीमा समस्या आएपछि अहिले रुपन्देहीको भलबारीमा रहेको कल्पवृक्ष, बुटवलमा रहेका शिवशिखर, सुप्रिम, आगन्तुकसहितका १० सहकारीमा समस्या आएको छ । यसरी समस्यामा आएका सबै यहाँ स्थानीय र प्रदेशमा दर्ता नभई संघमा दर्ता भएर विभिन्न ठाउँमा कार्यालय खोलेका हुन् ।

संघका अध्यक्ष कृष्णप्रसाद नेपालले कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु सहकारीले ७ करोड, बर्दियामा रहेको नमस्ते सहकारीले साढे १५ करोड, बाँकेमा रहेको अर्को नमस्ते सहकारीले १० करोड संचालकहरुबाट अपचलन गरेको रिपोर्ट आएकाले नियामक निकायसँगको समन्वयमा गम्भीर अनुसन्धान सुरु भएको बताए ।

शिव शिखर सहकारीबाट पीडित यज्ञ सापकोटाले नियामक निकायले सर्वसाधारणले दुःख गरेर जम्मा गरेको बचत फिर्ता गराउन नियामक निकायले वेवास्ता गरेको बताए । ‘आफ्नो क्षेत्रमा कारोबार गरेका सहकारीले बदमासी गर्दा हामीकहाँ दर्ता भएका थिएनन् भनेर उम्कन पाइदैन, किन कारोबार गर्न स्थान दिइयो त्यही आधारमा सर्वसाधारणको बचत फिर्ता हुनुपर्छ, सहकारी संचालकका सबै सम्पति रोक्का गरी सार्वजनिक गर्नुपर्दछ’– सापकोटाले भने ।

उनले आफूले १० हजार रुपैयाँसमेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको भन्दै सो सहकारी एउटा अपारर्मेन्ट सञ्चालन गरेको र पैसा लिन जानेहरुलाई बजार मूल्यभन्दा अत्यधिक धेरै मूल्यमा बेचेको भएपनि कोहीकसैले प्रश्न नउठाएको बताए । सहकारी अभियान्ताले ‘काठमाण्डौं मोडेल’को बुकलेट शुत्रअनुसार चल्दा केही सहकारीहरुले नागरिकको पैसा जोखिममा पारेको भन्दै सहकारीहरुका बेथितिहरु नियन्त्रण गर्न कार्यदल गठन गरी समस्याको समाधान गर्न सुझाव दिएका छन् ।

लुम्बिनीमा ३ हजार ७५५ सहकारीले ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब सेयर पुँजीको कारोबार गरेको रेकर्ड सहकारी बोर्डमा छ । यो ७७ को तथ्यांक भएपनि त्यसयता अझै अद्यावधिक भएको छैन् । ५ वर्ष बुटवलमा कार्यालय भएपनि अहिले भरखर दाङको देउखुरी सारिएको छ ।

लुम्बिनी प्रदेश सहकारी विकास वोर्डको उपाध्यक्ष टिकाराम पोखरेलले प्रदेशमा दर्ता नभएका तर कार्यक्षेत्रमा सञ्चालनमा आएका केही सहकारीहरुमा समस्या देखिएकोले सरकार कानु्नी प्रकृया अगाडि बढाएको बताए । पोखरेलले सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा संचालकहरुले चलखेल गर्दा यस्तो समस्या देखिएको बताए ।

उनले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिँदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सकृयताले मात्र समाधान गर्न थालिएको बताए । उनका अनुसार प्रदेशमा रहेका ७७१ बचत तथा ऋण सहकारी नियमन गर्न प्रदेश सरकारको नियामक निकायसँग जम्मा ६ जना कर्मचारी रहेकाले समस्या रहेको छ ।

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको अनुभव सुनाउँदै आफू आएको दुई महिनामा ५० भन्दा धेरै सहकारीमा प्रत्यक्ष पुगेर अनुगमन थालेको बताए । ‘कतिपय सहकारीलाई सुधार गर्न निर्देशन दिइएको छ, नियामक निकायमा कर्मचारी थोरै भएपछि चलखेल गर्ने सहकारीले यस्तो संकट पारेका हुन्, अब त्यसरी चल्दैन, कानुनी दायरमा ल्याइनेगरी अनुगमन थालिएको छ’– उनले भने ।

तिवारीले भने–‘सहकारी मूल्यमान्यता पालना नगरेको, गलत तरिकाले आफ्नो अनुकुल कामचलाउ लेखापरिक्षण गरी सहकारी चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको छ, सहकारी वित्तीय संस्था र कारोबारी भएकाले संकट आएको हो,उत्पादनमूलक काम गर्नुको साटो पैसाको किनबेचमा लागेको सहकारी समस्याग्रस्त देखिएको छ, अझै संकट आउनेवाला छ ।’

राष्ट्रिय सहकारी बैंक सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै वित्तीय अनुशासन पालना नहुँदा, अनुपातमा बचत संकलन गरी ऋण एकल रुपमा बढी लगानी गरेकाले सहकारीहरु धरापमा परेको वताए । ‘आयातित सहकारीमा बढी समस्या छ, संचालकको मनोमानीले यस्तो भएको हो, धेरै कमाउने लोभमा असुरक्षित लगानीले यस्तो भएको हो, सबै मिलेर समाधान गरौं’ उनले भने ।

‘सहकारी सञ्चालनका लागि बाहिरबाट ऋण लिने र सर्वसाधारणबाट क्षमताभन्दा वढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्ताहरुलाई फिर्ता गर्न समस्या परेको हो’ देवकोटाको भनाइ छ । जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहँुदा आर्थिक सुशासन कार्यान्यन नहुँदा सहकारीमा बेथिति भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर