एसियाकै नम्बर १ धनाढ्यले १० दिनमै कसरी गुमाए ८६ अर्ब डलर ? – Nepal Press

एसियाकै नम्बर १ धनाढ्यले १० दिनमै कसरी गुमाए ८६ अर्ब डलर ?

काठमाडौं। गत हप्ताको बुधबारसम्म एसियाका सबैभन्दा धनाढ्य र विश्वका तेस्रो धनी व्यक्तिको रुपमा स्थापित थिए भारतीय व्यापारी गौतम अडानी । एकहप्ता अघि सम्मको परिवेशलाई मध्यनजर गरेर भन्ने हो गौतम अडानी एक त्यस्ता सफल व्यापारी थिए जसको कम्पनीले दिन दुई गुणा र रात चगुणाको दरले धन आर्जन गर्न सफल भइरहेको थियो ।

अडानी ग्रुपको अन्तर्गतका सात कम्पनीको शेयर विगत ३ वर्षमा आठ गुणा भन्दा बढीले बढेको थियो । जसका कारण गौतम अडानीको निजी सम्पतिमा मात्र गत ३ वर्षमा ८ लाख १५ हजार करोड भारतीय रुपैयाँ भन्दा धेरैले बढेको थियो । तर गौतम अडानीले एक हप्तामै ६५ अर्ब डलर भन्दा बढी गुमाउन पुगे ।

यो रिपोर्ट तयार पारिँदा सम्म उनले ८६ अर्ब डलर भन्दा बढी घाटा व्यहोरिसकेका छन् भने उनको निरन्तरको ओरालो यात्रा कुन विन्दुमा गएर रोकिन्छ वा उनको कम्पनीको दिवालिया निस्किन्छ भने हाल सम्म निश्चित छैन । हाल गौतम अडानी विश्वका धनाढ्य व्यक्तिहरुको सूचीमा २१औँ नम्बरमा रहेका छन् ।

गौतम अडानीको व्यवसायिक जीवनमा यस किसिमको बज्रपात ल्याउनका निमित्त मुख्य भूमिका निर्वाह गर्ने कारक तत्व हो ‘हिण्डेनवर्ग रिपोर्ट’ । एक अमेरिकी कम्पनीद्वारा प्रकाशित एक वित्तिय रिपोर्टमा आखिर के कुरा समावेश गरिएको छ त जसका कारण अडानी ग्रुप बरबादीको बाटोमा दुर्तगतिले अगाडि बढिरहेको छ ? हिण्डेनवर्ग रिपोर्टको प्रभावकारिता कति ? र अडानी ग्रुपको अबको भविष्य कस्तो लगायतका प्रश्न आम मानिसहरुमा उब्जिनु स्वभाविक हो ।

हिण्डेनवर्ग रिसर्च अमेरिकी वित्तिय अनुसन्धान कम्पनी हिण्डेनवर्गद्वारा सार्वजनिक गरिने वित्तिय रिसर्च रिपोर्ट हो । आर्थिक विश्लेषक न्याथन नेट अन्ड्रेसनद्वारा सन् २०१७ मा स्थापित यस कम्पनीले मुख्यतय ‘फाइन्यानसियल रिसर्च पेपर’ सार्वजनिक गर्ने गर्छ । कम्पनीका अनुसार सजिलै प्राप्त गर्न नसकिने सूचनाको आधारमा फाइन्यान्सियल रिसर्च पेपर सार्वजनिक गर्नु यसको कम्पनीको मुख्य लक्ष्य रहेको छ ।

हिण्डेनवर्गका अनुसार यस कम्पनीले अडानी ग्रुपमा गरेको दुई वर्ष लामो अनुसन्धानको आधारमा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो । अडानी ग्रुप अन्तरगत रहेका सात कम्पनी सेयर बजारमा सूचीकृत रहेका छन् । ग्रिन इनर्जी , कोल माइनिङ , पावर ट्रान्समीसन , ग्यास वितरण तथा उत्पादन , बन्दरगाह लगायतका विभिन्न क्षेत्रमा अडानीको लगानी रहेको छ ।

केही वर्ष अगाडि सम्म अडानीको व्यवसाय यति ठूलो तथा विभिन्न क्षेत्रमा फैलिएको थिएन । विश्व धनाढ्य व्यक्तिको सूचीमा नम्बर ३ मा रहेको बेला अडानीको कुल सम्पत्ती १२० अर्ब डलर रहेको थियो । जसमध्य १०० अर्ब भन्दा बढि उनले मात्र ३ वर्षको समयमा आर्जन गरेका थिए । हिण्डेन वर्गको रिपोर्ट सार्वजनिक भएसँगै उनी चौथो , सातौँ हुँदै हुँदै अहिले विश्व धनाड्यको सूचीमा २१ औँ स्थानमा पुगेका छन् ।

पछिल्लो प्राप्त जानकारी अनुसार अडानी ग्रुपले ८६ अर्ब डलर भन्दा बढी गुमाइसकेको छ भने अडानीको ओरालो यात्रा निरन्तर जारी छ । हाइण्डेनवर्गले अडानी ग्रुपको वित्तिय रिपोर्टलाई व्यवसायिक क्षेत्रको हालसम्मकै सबै भन्दा ठुलो ठगीको संज्ञा दिएको छ । हिण्डेनवर्गले अडानी ग्रुप माथि ‘मनि लण्डरिङ्ग’, ‘स्टक म्यानुपुलेसन’, ‘अकाउन्टिङ फ्रड’ भ्रष्टाचार, करदाताको सम्पत्ति हिनामिना , अफसोर सेल कम्पनीको स्थापना लगायतका आरोपहरु लगाएको छ ।

रिपोर्टका अनुसार अडानी ग्रुप विभिन्न चार सरकारी अनुसन्धानको घेरामा रहेको छ । यति मात्र नभएर गौतम अडानीका भाई राजेश अडानीलाई सन् २००४ ( २००५ को समयमा १ हजार करोड भन्दा बढीको भ्रष्टचार आरोप लागेको छ भने किर्ते तथा कर छलीको आरोपमा उनी २ पटक सम्म पक्राउ परेका छन् । उनलाई अडानीले अडानी ग्रुपको म्यानेजिङ डाइरेक्टरको रुपमा नियुक्त गरेको पनि रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा अडानीका बैनी ज्वाई समिर बोरालाई पनि आरोप लगाइएको छ । आरोपका बाबजुत समिरलाई गौतमले अष्ट्रेलिया विभाग प्रमुखको रुपमा नियुक्त गरेका थिए । गौतम अडानीका दाई विनोद अडानीलाई पनि विभिन्न देशमा अफसोर सेल कम्पनी स्थापना गरेको आरोप लागेको छ । मोरेसियसमा मात्र अडानीका ३८ सेल कम्पनी रहेको रिपोर्टको दाबी छ ।

यस्तै रिपोर्टमा गरिएको अर्को एक दाबी अनुसार साइप्रसमा अवस्थित न्यु लाइना इन्भेस्टमेन्ट नामक एक कम्पनीको ९५ प्रतिशत पोर्टफोलियो केबल अडानी ग्रुपको थियो । यस कम्पनीलाई एमिक्रोप नामक अर्को कम्पनीले व्यवस्थापन गर्दै आएको थियो । एमिक्रोप ४० लाख मेलेसियन करदाताको ४ अर्ब डलर भन्दा बढी हिनामिना गरेको आरोप लागेको कम्पनी हो ।

१०६ पाना लामो रिपोर्टमा यस बाहेकका अन्य धेरै आरोप लगाइएको छ । हिण्डनवर्गले अडानीलाई यदि उक्त आरोपहरुको खण्डन गर्न चाहेको अवस्थामा आफ्ना ८८ वटा प्रश्नको उत्तर दिएर जवाफ दिन सक्ने भनेर चुनौती समेत दिएको छ । रिपोर्ट सार्वजनिक भएसँगै अडानीले २७ जनवरी पहिलो पटक यसको प्रतिउत्तर दिएको थियो । जसमा अडानी ग्रुपले आफ्नो कम्पनीले सरकारी नीति नियम अन्तरगत रहेर मात्र काम गरिरहेको दाबी गरेको छ ।

यति मात्र नभएर अडानी ग्रुपले यस रिपोर्टलाई नियोजित रुपमा कम्पनीलाई बदनाम गर्न अघि सारिएको‘प्रोपोगाण्डा’ समेत बताएको छ । अडानी ग्रुपले जारी गर्न लागेको एफपीओलाई मध्यनजर गर्दै उक्त षड्यन्त्र रचिएको कम्पनीका सिएफोओ जग्सिन्धर सिहंले बताएका छन् । अडानी ग्रुपले हिण्डेनवर्गलाई कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको छ । जसको प्रतिउत्तरमा हिण्डेनवर्गले आफु कानुनी लडाईको लागि तयार रहेको बताएको छ ।

२९ जनवरीमा अडानीले ४१३ पानाको काउन्टर रिपोर्ट सार्वजनिक गर्दै हिण्डेनवर्गले भारतीय व्यवस्था माथिनै प्रहार गरेको जनाएको छ । उक्त काउन्टर रिपोर्टमा हिण्डेनवर्गले सोधेका ८८ वटा प्रश्न मध्ये ६५ उत्तर पहिलानै प्रकाशित रहेको , १८ वटा प्रश्न थर्ड पार्टीसँग सम्बन्धित रहेको र ५ वटा प्रश्न निराधार रहेको जनाएको छ । हिण्डेनवर्गले अडानी ग्रुपको फेस भ्यालु ८५ प्रतिशत भन्दा बढिरहेको पनि जनाएको छ । रिपोर्ट सार्वजनिक भएसँगै अडानी ग्रुपको मुश्किल थप बढ्दै गएको छ ।

हालै मात्र फोर्ब्सले अडानीग्रुपले आफ्नो सेयर भ्यालु बढाउन आफ्नै सेयर किनेको आरोप लगाएको छ , यस्तै स्वीजरल्याण्डमा अवस्थित केर्डिट सु नामक एक इन्भेस्टमेन्ट बैंकले अडानीग्रुपको बोन्डलाई मार्जिन लोनको धितोको रुपमा स्वीकार नगर्ने जनाएको छ । हिण्डेनवर्ग र अडानीबीचको यो प्रतितिस्पर्धा दुबैको लागि ‘कट थ्रोट’ प्रतिस्पर्धा हुने हालको परिवेशबाट जगजायर भइसकेको छ । तर यसमा कसको जित हुन्छ भन्ने थाहा पाउन भने अझै केही समय कुर्न पर्ने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर