प्रहरीले दुःख दिएकाे लेकसाइडका व्यवसायीकाे गुनासाेपछि कार्यक्रमस्थलबाटै मुख्यमन्त्री अधिकारीकाे एक्सन – Nepal Press

प्रहरीले दुःख दिएकाे लेकसाइडका व्यवसायीकाे गुनासाेपछि कार्यक्रमस्थलबाटै मुख्यमन्त्री अधिकारीकाे एक्सन

पोखरा । पर्यटन व्यवसायी सूर्य भुजेल लेकसाइडका दुःखका पेटारो खोल्दै थिए । त्यसक्रममा उनले दुःख दिने नियत नै राखेजस्तो गरी लेकसाइडमा दिनदिनै मापसे चेकिङ हुने गरेकोमात्रै सुनाएनन्, पोखराका अरु कुनै पनि नाकामा चेकिङ नभएको पनि बताए । पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष भुजलले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई त्यस्तो सिकायत सुनाइरहेका थिए ।

भुजेलले कुरा सक्नै पाएका थिएनन्, मुख्यमन्त्री अधिकारीले भुजेललाई त्यतिमै एकैछिन पर्खन भने । सूर्य हातमा माइक समातेर उभिइरहेका थिए मुख्यमन्त्री अधिकारीले आफ्ना स्वकीय सचिव दिलीप न्यौपानेसँग आफ्नो मोबाइल फोन सेट मागे । त्यसपछि सिधै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीलाई फोन लगाए ।

उनले एसपीलाई भने, ‘पोखरामा लेकसाइडतिरका गाडीमा मात्रै चेकिङ हुन्छ रे, यहाँबाट बाहिर जाने पर्वत, स्याङ्जा, दमौली जानेमा गर्दैन रे । होटलका सटर ९ बजे नै तान्नुहुन्छ रे । होटलचाहिँ १२/१ बजे पनि खोल्नुपर्यो । सुरक्षाको हिसाबले के गर्नुपर्छ गर्नुपर्यो ।’

मुख्यमन्त्री त्यतिमै रोकिएनन् । त्यसैमा थप्दै भने, ‘समस्या समाधानका लागि एउटा मिटिङ राख्नुपर्यो । सिडिओसा’बलाई म भन्छु, तपाईंहरु मिटिङ बस्नुस्, त्यस्तो शंकास्पद व्यक्ति छ, त्यसको निगरानी गर्ने तर, यसलाई व्यवस्थित गरेर यहाँका पर्यटन व्यवसायीहरुको समस्या समाधान गर्नुपर्यो ।’

एसपी केसीले आफू काठमाडौं रहेको र पोखरा आएर त्यसबारे छलफल गर्ने मुख्यमन्त्रीलाई बताए । जसै फोन संवाद टुंगियो, मुख्यमन्त्री अधिकारीले फोन सेट टेबुलमा राखे अनि भने, ‘गफ गर्ने होइन, काम गर्ने हो ।’

पोखरा पर्यटन परिषदले शुक्रबार गण्डकीका मुख्यमन्त्री अधिकारीलाई स्वागत, सम्मान कार्यक्रम राखेको थियो । तर, मुख्यमन्त्री अधिकारीले आफूले खादा र माला नलगाउने भन्दै आयोजकसँग त्यसमा समय नखर्चिन अनुरोध गरे । बरु उनले पर्यटनकर्मीका कुरा सुन्न चाहे ।

त्यसै क्रममा भुजेलले मापसे चेकिङ र राति रेस्टुरेन्टमा प्रहरीले लेजर लाइट बाल्दै बन्द गराउने गरेको गुनासो पोखेका थिए । मुख्यमन्त्री अधिकारीले दिनदिनै भएको मापसे चेकिङ नगर्न भनेनन्, एसपी केसीलाई मात्रै पोखराबाट अरु जिल्ला र सहर जाने नाकामा किन चेकिङ हुँदैन भनेर सोधे ।

कार्यक्रमको सुरुवातमै पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न लगाएको प्रतिबन्ध फुकुवाका लागि नेपाल सरकारमार्फत कूटनीतिक पहल गर्नुपर्ने खाँचो औंल्याउँदै पहल गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे । श्रेष्ठ पनि अरु थप कुरा राख्दै थिए, तर मुख्यमन्त्रीले बीचैमा उनलाई रोकिन आग्रह गरे । आफ्ना स्वकीय सचिव दिलीप न्यौपानेलाई भने, ‘परराष्ट्रमन्त्री विमला पौडेललाई फोन लगाउनुस् ।’

दिलीपले फोन गरे । तर फोन लागेन । केहीबेरपछि उनले मुख्यमन्त्रीलाई भने, ‘श्रीलंका जानुभएको रहेछ ।’ परराष्ट्रमन्त्री पौडेलको फोन नलागेपछि दिलीपले उनी निकट सांसद दीपा शर्मालाई फोन गरेर बुझेका रहेछन् । दीपाले नै जानकारी दिइन् कि परराष्ट्रमन्त्री पौडेल श्रीलंकामा छिन् । मुख्यमन्त्री अधिकारीले चिनियाँ पर्यटक ल्याउनका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

उक्त कार्यक्रममा व्यवसायीहरुलाई मुख्यमन्त्री अधिकारीले भन्नुभन्दा पनि लिखित रुपमा आफ्ना कुराहरु राख्न आग्रह गरे । ‘तपाईंले उठाएका कुराहरु संस्थागत स्मरणमा रहनुपर्छ, भोलि मैले भुल्न पनि सक्छु, भोलि मुख्यमन्त्री म नहुन पनि सक्छु,’ उनले भने, ‘लिखित रुपमै दिनुभयो भने काम गर्न पनि सजिलो हुन्छ, संस्थागत रेकर्डमा पनि हुन्छ ।’

पोखरा पर्यटन परिषदले आयोजना गरेको गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारी कार्यक्रम भर नै सहज रुपमा प्रस्तुत भए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *