सन्दीपलाई टीममा नराख्न क्यान अध्यक्षलाई कांग्रेसका दुई महामन्त्रीको दबाब – Nepal Press

सन्दीपलाई टीममा नराख्न क्यान अध्यक्षलाई कांग्रेसका दुई महामन्त्रीको दबाब

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्रीले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिममा नराख्न नेपाल क्रिकेट संघलाई दबाब दिएका छन् । उनीहरु आफैंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दबाब दिएको खुलाएका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो स्टाटसमा सन्दीपलाई टिममा राखिएकोमा विरोध जनाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आफूहरुले टिममा नराख्न भनेको तर उनले अटेर गरेको महामन्त्रीद्वयको भनाइ छ ।

महामन्त्री गगन थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार पाउन नसक्ने बताएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आफूले भेटेरै अदालतको फैसला नआउञ्जेल हतारमा निर्णय नगर्न आफूले निर्देशन दिएको उनको भनाइ छ ।

‘उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो, तर त्यसो हुन सकेन,’ थापाले लेखेका छन् । उनले क्यानको निर्णय फिर्ता लिनसमेत माग गरेका छन् ।

त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफूले क्यान अध्यक्षलाई फोन गरेको बताएका छन् । ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन ?’ भनि सोधेको उनको भनाइ छ । यस विषयमा उनले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

One thought on “सन्दीपलाई टीममा नराख्न क्यान अध्यक्षलाई कांग्रेसका दुई महामन्त्रीको दबाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर