‘हामीले गृह मन्त्रालय रवि लामिछानेलाई दिएका हौं, रास्वपालाई होइन’ – Nepal Press
नेपाल टक

‘हामीले गृह मन्त्रालय रवि लामिछानेलाई दिएका हौं, रास्वपालाई होइन’

माओवादी सचिव आचार्यकाे चेतावनी- हामीलाई गलाएर नाजायज काम गराउँछु भन्ने नसोचे हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालयको विवादले सत्ता गठबन्धनभित्र विवाद चर्किंदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नदिन पार्टीभित्र चर्को दबाब छ । तर, रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने भन्दै बिहीबार बसेको बैठकले दुई दिन अल्टिमेटम दिइसकेको छ । बिहीबार नै सरकारबाट बाहिरिने निर्णय गर्ने भनिएकोमा लामिछानेलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको फोन आएपछि रास्वपा सरकारबाट बाहिरिने निर्णयबाट ब्याक भएको थियो ।

विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाको लगभग सबै सांसदको समर्थन पाएका प्रधानमन्त्री प्रचण्डले सरकारमा महत्वपूर्ण कुनै मन्त्रालय लिन सकेका छैनन् । त्यसैले उनलाई पार्टीभित्रबाट चर्को दबाब छ । यस्तै, पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले अहिले राष्ट्रिय सहमति खोजेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर थापेको ढोक्साको कारण प्रचण्डलाई केही कम्फर्टेबल भएको छ । तर, एमाले अध्यक्ष ओली माओवादीले खोजेको राष्ट्रिय सहमतिमा सकारात्मक छैनन् ।

यही विवादको कारणले सत्ता गठबन्धनमा खटपट भएपछि प्रचण्डले आफ्नो कार्यव्यस्ततालाई देखाएर पार्टीको बैठक पटक–पटक सारेर आन्तरिक छलफमा छन् । गृहमन्त्री, राष्ट्रपति निर्वाचन, पार्टीका विभागलाई पूर्णता दिनेलगायतको विषयमा छलफल गर्ने कार्यसूची थियो । निरन्तर सार्दै आइरहेको बैठक बस्न नसक्नुको कारण, गृहमन्त्रीको विवाद, राष्ट्रपति निर्वाचन, वामपन्थी एकताको पहललगायतको विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यसँग नेपाल प्रेसकर्मी रमेश पराजुलीले गरेको कुराकानीः

– माओवादीले बैठकको मिति तोक्दै सार्दै गरिरहेको छ । बैठक बस्न नसक्नुको खास कारण के हो ?

पछिल्लो समय राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । त्यसले गर्दा राजनीतिक घटनाक्रमको बारेमा पनि केही ठोस निर्णय गरेर बैठक टुंग्याउन खोजिएको हो । तर, अहिले राजनीतिक घटनाक्रम अझै तरल नै छ । त्यसैले अहिले विकसित घटनाक्रमबारे ठोस धारणा बनाउन बैठक सारिएको हो ।

– पार्टीको विभागहरुलाई पूर्णता दिने विषय टुंग्याउन नसकेको कारणले सारिएको भन्ने पनि छ नि ?

त्यसमा केही समस्या छैन । कार्यविभाजनका कुराहरु छन् । विभागहरुलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेका छन् । तर, त्यसमा केही जटिलता आएर रोकिएको होइन । पार्टीभित्रको नभएर राजनीतिक कारण नै प्रमुख हो ।

– यो पछिल्लो राजनीतिक तरलतालाई माओवादीले कसरी हेरिरहेको छ, सत्तारुढ दलहरुमै खटपट देखियो नि ?

राजनीतिमा यो सामान्य प्रक्रिया जस्तो नै हो । तर, नीतिगत रुपमा उहाँहरुले माओवादीलाई गलाएर, थकाएर नाजायज कुनै कामहरु गराउन सकिन्छ कि भन्ने ठान्नुभएको छ भने त्यो उहाँहरुको गल्ती हो । हामी त्यस्तो पक्षमा छैनौं ।

गृहमन्त्रीको विषयमा हाम्रो पार्टी क्लियर छ । रवि लामिछानेजीले नागरिकता पाएकै दिन मलाई शपथ गराइदिहाल्नुपर्‍यो भनेर प्रधानमन्त्रीकहाँ पुग्नुभएको थियो ।

माओवादी आफ्नो नीति, सिद्धान्त र कार्यक्रमअनुसार नै अगाडि बढ्छ । त्यसमा तलमाथि हुनेगरी हामी सत्ताकै लागि पनि सम्झौता गर्दैनौं । तर, आपसमा बसेर छलफल गरेर टुंगिन सक्ने विषयहरुमा एकोहोरो हद पनि देखाउँदैनौं । त्यसैले अहिलेको परिस्थितिलाई हामीले गम्भीरतापूर्वक लिएका छैनौं ।

– तर, प्रधानमन्त्रीले रवि लामिछानेलाई गृहमन्त्री नदिँदा गठबन्धन भत्किनेतर्फ गइरहेको देखियो नि ?

गृहमन्त्रीको विषयमा हाम्रो पार्टी क्लियर छ । रवि लामिछानेजीले नागरिकता पाएकै दिन मलाई शपथ गराइदिहाल्नुपर्‍यो भनेर प्रधानमन्त्रीकहाँ पुग्नुभएको थियो । तर, प्रधानमन्त्रीले तपाईंमाथि विभिन्न विषयमा कुरा उठिरहेका छन् भन्नुभयो । नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट पूर्णपाठ पनि आएको छैन । त्यो हेरौं । अहिले अदालतको प्रारम्भिक फैसलाले तपाईंलाई सबैतिरबाट बर्खास्तमात्रै भनेको छ । अर्को कुरा, तपाईं अब सांसद हुनुहुन्न । भर्खरै निर्वाचनबाट आएका अरु सांसदहरु पनि हुनुहुन्छ । यो वेलामा गैरसांसदलाई गृहमन्त्री दिँदा बाहिर राम्रो म्यासेज पनि जान्न । त्यसैले तपाईंले हतार नगर्नुस् भन्ने कुराकानी भएको हो ।

– रास्वपाले हिजो बैठक बसेर दुई दिनको अल्टिमेटम पनि दिएको छ । रवि लामिछानेबाहेक दोस्रो व्यक्ति आए गृहमन्त्रालय दिने पक्षमा माओवादी हो ?

उहाँहरुले रविजीबाहेक अर्काे व्यक्तिको नाम लिनुभएको छैन । बाहिर मिडियातिर मैले पनि हेरिरहेको छु । अर्को कुरा, गठबन्धनले रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्री दिएको हो । रास्वपालाई नै दिएको त्यहाँबाट जो आए पनि मान्छौं भन्ने स्थिति म देख्दिनँ । जो आए पनि मान्छौं भन्ने होइन ।

कार्यविभाजनको क्रममा रास्वपाको रवि लामिछानेलाई गृहमन्त्री दिएको हो । तर, उहाँको अहिले सांसदसहित सबै पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिसकेको अवस्था छ । उहाँमाथि अहिले पनि गम्भीर प्रकृतिका मुद्दाहरु पनि छन् । दोहोरो राहदानीको विषय पनि आइरहेका छन् ।

उहाँहरुले रविजीबाहेक अर्काे व्यक्तिको नाम लिनुभएको छैन । बाहिर मिडियातिर मैले पनि हेरिरहेको छु । अर्को कुरा, गठबन्धनले रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्री दिएको हो ।

तर, हामी त्यता प्रवेश गरेका छैनौं । नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म नहतारिनुस् भन्ने हाम्रो कुरा हो । अब हाम्रो कुराले छुन्छ छुँदैन भन्ने उहाँहरुको कुरा हो ।

– भनेपछि रास्वपाले रवि लामिछानेबाहेक अन्य व्यक्तिलाई अघि सारे पनि माओवादीले गृहमन्त्री छाड्दैन ?

अब उहाँहरुले कसलाई अगाडि सार्छ, त्यो विषयमा छलफल गर्ने कुरा हुन्छ । तर, रास्वपाले जसलाई सार्दा पनि पाइहाल्छ, गृहमन्त्री रास्वपाको ठेक्का हो भन्ने कुरा होइन । तर, उहाँहरुले अर्को व्यक्तिलाई अघि सार्‍यो भने नयाँ शिराबाट सोच्नै नसिकने भन्ने होइन ।

– अब राष्ट्रपति निर्वाचनबारे कुरा गरौं । तपाईंहरुले राष्ट्रिय सहमतिमा जोड गर्दैगर्दा गठबन्धनको प्रमुख घटक एमाले सकारात्मक देखिएन त ?

राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमतिमा जानेमा ढुक्क छौं, दृढ छौं । हामीले राष्ट्रिय सहमति खोज्ने प्रयत्न गर्नुपर्छ अन्तिमसम्म । त्यसमा एउटा सफलता हासिल होला भन्ने हाम्रो आशा छ । राष्ट्रिय सहमति धेरै अप्ठ्यारो र सुन्दर कुरा पनि हो । प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा दुई जना सांसदबाहेक सबैले मत दिएर राष्ट्रिय सहमति बन्यो । त्यसलाई अलिक परसम्म जोगाएर लैजाऔं भन्ने हाम्रो भनाइ हो ।

देशका गम्भीर मुद्दाहरुमा राष्ट्र एकै ठाउँमा उभिएर निर्णय गर्ने ठाउँमा पुग्छौं । जनताको कामलाई सहज तुल्याउन राष्ट्रिय सहमतिको कुरालाई जोड दिएका हौं । त्यो कति सम्भव होला या नहोला, कुन दललाई कति बिझ्ला या नबिझ्ला, त्यो भोलिको घटनाहरुले देखाउँछ ।

– राष्ट्रपतिमा राष्ट्रिय सहमतिको एजेण्डामा माओवादी र कांग्रेसको मत मिल्यो । त्यसले यो सत्ता समीकरण फेरबदल त हुँदैन ?

राष्ट्रपतिको विषयलाई लिएर गठबन्धन तलमाथि हुन्छ जस्तो मलाई लाग्दैन । केही दिन तिक्तता हुनसक्ला । तर, राष्ट्रपतिमा आफूले चाहेको पात्र छान्न नसकेको कारणले एमालेले अन्यथा निर्णय गरेर सरकारबाट बाहिर जाने वा अन्य पार्टी जाने या माओवादीले पनि त्यस्तो निर्णय गर्ने म देख्दिनँ ।

राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमतिमा जानेमा ढुक्क छौं, दृढ छौं । हामीले राष्ट्रिय सहमति खोज्ने प्रयत्न गर्नुपर्छ अन्तिमसम्म । त्यसमा एउटा सफलता हासिल होला भन्ने हाम्रो आशा छ । राष्ट्रिय सहमति धेरै अप्ठ्यारो र सुन्दर कुरा पनि हो ।

– राष्ट्रपतिको विषयमा के माओवादीले कांग्रेससँग पनि संवाद गरिरहेको छ ?

यो विषयमा छलफल त सबै दलहरुसँग भइरहेकै हुन्छ लगातार । संवाद र बोली बराबरको तहमा त नेपालको राजनीति कहिले पनि जान्न नि ! अप्ठ्यारा संघर्षको बीचमा पनि वार्ता, भेटघाट चलिरहने कुरा हो । त्यो कांग्रेससँग पनि चलिरहेको छ । अहिले एमालेसहितको गठबन्धनमा छौं । देशको राजनीतिक परिस्थितिको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल गरिरहेका छौं ।

– माओवादीले कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियान थालेको छ । पार्टी बैठकमा पनि अहिलेसम्मको प्रगतिबारे छलफल भइरहेकै होला नि होइन ?

पार्टी एकताको विषयमा नेकपा एकीकृत समाजवादीसँग कुराकानी भइरहेको छ । बाबुरामजीहरुसँग एक तहको समझदारीमा पुग्ने सहमति भइसक्यो । विप्लवहरुसँग पनि एक तहको कुरा भएको छ । यस्तै, विप्लवबाट अलग भएको नेकपा बहुमत, किरणजीहरुले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र क्रान्तिकारीसँग पनि संवाद भइरहेको छ । तर, अहिलेसम्म कुनै निष्कर्षमा पुगेको छैन ।

छलफललाई अगाडि लगेर हिजोका माओवादीहरु र अरु वामपन्थी पार्टीहरु पनि एउटै झण्डामा आउनुपर्छ भन्ने हाम्रो पहल हो । त्योबाहेक समाजवादी केन्द्र निर्माण गरेर जाने भनेर उपेन्द्र यादवजीको पार्टीसँग पनि छलफल भइरहेको छ । तर, निष्कर्षमा पुगिसकेको छैन ।

– यो भनेको एमालेबाहेक कम्युनिष्टहरु एकै ठाउँमा हुने प्रयास गर्नुभएको हो ?

हामीले विचार, नीति र कार्यक्रम मिल्नेहरु एकै ठाउँमा आउने प्रयत्न गरेका हौं । हिजोका माओवादीहरु र अरु वामपन्थी पार्टीहरुलाई पनि एकै ठाउँमा केन्द्रित गर्ने भन्नेमै छौं । यो त सकारात्मक पहल नै भयो नि ! त्यसमा एमालेको नाम नै लिनुपर्छ भन्ने छैन । हामी विचार र कार्यक्रम मिल्ने सबै कम्युनिष्ट मिल्नुपर्छ भनेर लागिरहेका छौं ।

– तपाईंहरुले माधव नेपाल नेतृत्वको नेकपा एससँग चाहिँ पार्टी एकताको बढी नै जोडबल गरिराख्नुभएको छ । उहाँहरुबाट कस्तो जवाफ पाउनुभएको छ ?

उहाँहरु पनि सकारात्मक नै हुनुहुन्छ । छलफल गर्दै जाउला भनेर लागिराख्नुभएको छ उहाँहरु पनि । एकअर्काको दस्तावेजहरु आदानप्रदान गरेर अध्ययन भइरहेको छ । त्यसमा सहमति र विमतिका विषयहरु खोज्ने क्रममा छौं अहिले ।


प्रतिक्रिया

2 thoughts on “‘हामीले गृह मन्त्रालय रवि लामिछानेलाई दिएका हौं, रास्वपालाई होइन’

  1. काम गर्ने, देश विकास गर्नेतिर माओवादीको कुनै ध्यान छैन । प्रचण्डले प्रधानमन्त्री भएपछि कोरा निर्देशन दिने बाहेक केही गरेको देखिदैन । काम गरेर देखाउन सकिने अवस्था थियो अहिले तर प्रचण्ड र माओवादी काम र भएको सहमति पालनातिरभन्दा तिकडमतिर बढी लागेको देखिन्छ । मन्त्रीहरूको आफ्नै प्रयासले केही काम भएको ( जस्तै विष्णु पौडेल) बाहेक सरकारले मुभ गर्न नै सकेको देखिदैन । भैसकेको सहमतिलाई छोडेर राष्ट्रपतिमा हुनै नसक्ने र वाहियात राष्ट्रिय सहमतिको राग अलापिरहेको छ । यस्तो कुरा गरेर गठबन्धन दलभित्र अविश्वास पैदा गराएर झन सरकार अस्थिर बनाईरहेको छ । सरकार बन्ने बितिक्कै देशले त्यसलाई सकारात्मक रूपमा लियो । पुरानै गठबनधन र देउवाकै नेतृत्व भएको भए जनताले निराश भएर मात्र त्यो सरकारलाई स्विकार्थे । तर नयाँ गठबन्धन बनेपछि यसले चाहिँ केही काम गरेर देखाउन सक्छ भन्ने सबै जनतामा परेको थियो केबल सत्तामा बसेर लुटेर खाईरहेका केहि काँग्रेसीहरू बाहेकलाई । जब प्रचण्ड तिकडमतिर लागे, विश्वासको मत दिनु अघिल्लो दिन देउवासँग कानेखुशी गर्न गए र काँग्रेसले पनि प्रतिपक्ष पनि दावी गर्ने र विश्वासको मत पनि दिने दोहोरो चरित्र देखायो त्यसपछि देशले अब राजनीति बिग्रियो भन्ने बुझ्यो । त्यसको प्रत्यक्ष प्रमाण बढीरहेको शेयरबजारमा ब्रेक लागेको अवस्थाबाट झल्किन्छ । शेयर बढीरहनुपर्छ भन्ने होईन । तर त्यसले जनताले यो सरकारलाई कसरी लिईरहेका छन् भनेर बुझ्न सकिन्छ । त्यस दिनदेखि अस्थिर देखिएको राजनीति अहिलेसम्म पनि अस्थिर छ । यसको एकमात्र कारण माओवादी हो । माओवादी भनेको अरूको केही भएको देख्नै नसक्ने डाडे पार्टी हो । अरूको केही भएको देखेर डाहा भएर नै यसले कथित जनयुद्व नामको व्यक्तिहत्याको राजनीति गरेको हो । अहिले पनि एमालेले जितेको सिट अनुसार मन्त्री अलि बढी लिएको, सभामुख पद पाएको डाडे माओवादीलाई पटक्कै मन परेको छैन । त्यो डाहा पोख्न उसले अस्थिरताका कुराहरू गरिरहेको छ । लुटन पल्केको काँग्रेस लुटन नपाएर छटपटाईरहेको बेलामा प्रचण्डको राष्ट्रिय सहमतिको रागले केहि हौसिएको छ । राष्ट्रपति पद नपाएको भोलिपल्टदेखि भने प्रचण्डको सबैभन्दा ठूलो शत्रु फेरि त्यहि काँग्रेस हुनेछ । त्यसैले काम गरेर देखाउन सकिने राम्रो मौका हुँदाहुदै अस्थिरतातिर लाग्दा सबैभन्दा बढी माओवादीलाई नै घाटा भैरहेको देख्छु म त किनकी जनताले त्यसलाई कसरी लिईरहेका छन् भन्ने कुरा महत्वपूर्ण ह‍ुन्छ । आगे त सधै अस्थिरता मन पराउने प्रचण्डको जो विचार ।

  2. दिलालाराम आचार्य लाज नभाको मान्छे हुन। यिनी राजमोको महासचिब भैसकेको मान्छे। र मसालका एक प्रमुख नेता। यिनी केहि वर्ष सम्म पहिले मसालका कार्यकर्तालाई माओबादि प्रधान शत्रु जस्तो गरेर तालिम दिन्थे। त्यसैले माओबादिले छानी छानी मसालका कार्यकर्ता पिट्ने, मार्ने गर्ने । अहिले यिनै माओबादीका नाईके । कस्तो नकचरो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर