एसएलसी पनि पास नभएका दुई युवाले बनाएका थिए बैंक खातासम्म पुग्न सकिने ‘नेपाली केटी’ (भिडिओ) – Nepal Press

एसएलसी पनि पास नभएका दुई युवाले बनाएका थिए बैंक खातासम्म पुग्न सकिने ‘नेपाली केटी’ (भिडिओ)

काठमाडौं। एसएलसी पनि उत्तिर्ण नभएका दुई युवाले बनाएको ‘नेपाली केटी’नामक एप्लिकेसनबाट गिरोहले विभिन्न व्यक्तिको बैंक खाताबाट पैसा झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

काठमाडौंको बानेश्वरमा डेरा लिएर बस्ने पर्साका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले उक्त एप्लिकेसन बनाएको प्रहरीको प्रारम्भिक निष्‌र्कष छ। यी दुईले आईटी हेर्ने र उनीहरुसँगै कोठामा बस्ने पर्साकै २८ वर्षीय राजु पटेलले अन्य व्यवस्थापन हेर्ने प्रहरीले जनाएको छ।

प्रहरीले यी तीनजना बस्दै आएको कोठाबाट सफ्टवेर रहेको कम्प्युटर पनि बरामद गरेको छ। ‘आईटी हेर्ने दुवै व्यक्ति एसएलसी पनि पास नभएका व्यक्ति हुन्। युट्युब हेरेर एप्लिकेसन बनाउन सिकेको उनीहरुले बताएका छन्’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

ललितपुर प्रहरी परिसर स्रोतका अनुसार शंका लागेर राउत र परबेजलाई पक्राउ पछि कुनै एक एप्लिकेसन बनाउन पनि लगाइएको थियो।
‘उनीहरुले यति चाँडो एप्लिकेसन बनाए की हामी नै छक्क पर्‍यौँ’ ती अधिकारी भन्छन्।

स्रोतका अनुसार यो गिरोहका मुख्य व्यक्ति पटेल, परबेज र राउत हुन्। पक्राउ परेका अन्य ५ जनाले विभिन्न व्यक्तिको नाममा खाता खोल्ने र त्यसमा पठाएको पैसा निकाल्ने काम गरेका थिए। पक्राउ परेका नगेन्द्र शाह कानु र रविना चौधरी श्रीमान-श्रीमती हुन्।

‘परबेज र राउतले ६ महिनाअघिदेखि यो धन्दा चलाउँदै आएको बताएका छन्। ‘अन्य विषयमा हामी हेर्दै छौँ’, अनुसन्धान अधिकारी भन्छन्। ललितपुर प्रहरी परिसर, साइबर ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हालसम्म २० जनाले नेपाली केटीले ठगेको भन्दै उजुरी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *