सिन्धुपाल्चोकको रत्नराज्य माविले पायो सुविधासम्पन्न भवन, निर्माण सकिएको साढे २ वर्षपछि हस्तान्तरण (तस्विरहरुसहित) – Nepal Press

सिन्धुपाल्चोकको रत्नराज्य माविले पायो सुविधासम्पन्न भवन, निर्माण सकिएको साढे २ वर्षपछि हस्तान्तरण (तस्विरहरुसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ५ चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयले सुविधासम्पन्न नयाँ भवन पाएको छ ।

चीन सरकारको करिब १ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न विद्यालय भवन शुक्रबार उद्घाटनसमेत गरिएको छ । चीन सरकारले नेपाललाई हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

नेपालका लागि चीनका राजदूत चेन साङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विद्यालयको साँचो हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री दाहालले विद्यालयका अध्यक्ष र प्रधानध्यापकलाई पुनः विद्यालयको साँचो हस्तान्तरण गरेका थिए ।

२०७२ सालको भूकम्पमा अरु विद्यालय जस्तै रत्नराज्य मावि पनि पूर्ण रुपमा ध्वस्त भएको थियो । भूकम्पपछि विद्यार्थीहरुले अस्थायी सिकाइ केन्द्रमा पढे । विद्यालयले भवन निर्माण गर्ने दाता खोज्यो । त्यतिवेला यो क्षेत्रका सासंद थिए अग्नि सापकोटा । चीनले सीमा जोडिएको जिल्लामा नमुना एवं सुविधासम्पन्न भवन बनाउन चाहेको प्रस्ताव गर्‍यो ।

चीनको चाहनाअनुसार सापकोटाले सिन्धुपाल्चोकको सबैभन्दा दुर्गम, अभाव र परिवर्तनको कुनै पनि अनुभूति गर्न नपाएको क्षेत्रमा विद्यालय बनाउन चिनियाँ अधिकारीहरुसँग प्रस्ताव राखे ।

उनले जुगल गाउँपालिकाको पाङताङमा विद्यालय बनाउन चीनसमक्ष प्रस्ताव गरेका थिए । तर, चिनियाँ पक्षले भवन निर्माण गर्न ठूला सामग्री लैजानुपर्ने भएकाले पक्की सडक चाहिने जनायो । त्यसपछि सबैको सरसल्लाहमा जुगल गाउँपालिकाकै केन्द्रमा रहेको रत्नराज्य मावि छनोट गरिएको पूर्वसभामुख सापकोटाले जानकारी दिए ।

जुगल गाउँपालिकाभित्र यही विद्यालयमा मात्रै १२ कक्षासम्म पढाइ हुन्छ । फेरि सबैलाई पायक पर्ने भएकाले रत्नराज्य माविको भवन निर्माण गर्न चिनियाँहरु सहमत भएको उनले बताए ।

के के छन् सुविधा ?

विद्यालयको नयाँ भवनमा अपुग केही पनि देखिँदैन । तीन वटा ठूला भव्य भवन ठडिएको छ विद्यालय परिसरमा । विद्यालयको मुख्य प्रवेशद्वारबाट भित्र सुरक्षा गार्ड भवन छ । नजिकै जोडिएको छ शिक्षक, विद्यार्थीका लागि चमेना गृह । चमेना गृहको अगाडि सुविधासम्पन्न भलिबल कोर्ट छ ।

भलिबल कोर्ट नजिकै साना बालबालिकाको लागि आर्कषक खेलस्थल निर्माण गरिएको छ । त्यसकै अगाडि कृत्रिम दुबो राखेर आर्कषक फुटसल मैदान निर्माण गरिएको छ ।

फुटसल मैदानपछि क्रमशः चार तले ठूला तीन भवन छन् । पहिलो भवनमा कक्षा कोठाको व्यवस्था गरिएको छ । यस भवनमा २१ वटा कक्षाकोठा रहेका छन् ।

मार्बल र टायल राखेर चिटिक्क बनाइएको सबै कक्षा कोठामा प्रत्येक विद्यार्थीका लागि एक-एक डेस्क र बेञ्च राखिएको छ । डेस्क र बेञ्चमा किताब र कापी त्यही राख्न मिल्छ । कक्षा कोठाभित्रै विद्यार्थीका किताब, कापी र ब्याग राख्ने छुट्टाछुट्टै लकरको व्यवस्था गरिएको छ । सबै कक्षा कोठाहरुमा आधुनिक कालोपाटी र फर्निचर राखिएका छन् ।

यहीबाट अर्काे प्रशासनिक भवनमा जाने बाटो छ । यस भवनमा अत्याधुनिक प्रयोगशाला, कम्प्युटर ल्याब, अडिटोरियम हलसहितका १५ वटा प्रशासनिक कक्षहरु छन् । त्यसपछि अर्को भवन छ, यो होस्टल भवन हो ।

चार तले होस्टल भवनमा शिक्षक र विद्यार्थीका लागि शौचालयबाहेक नै ७५ कोठा रहेका छन् । होस्टलको क्षमता ६५० विद्यार्थी रहेको विद्यालयका शिक्षक ऋषिराम पौडेलले जानकरी दिए ।

विद्यालय भवनमा आगलागी केही भए तत्कालै निभाउन सबै तलामा ग्यासलगायत अन्य उपकरणहरु राखिएका छन् । एउटा विद्यालयको लागि आवश्यक सबै सामग्रीको व्यवस्था छ, नपुग केही छैन ।

निर्माण सकिएको साढे २ वर्षपछि भवन हस्तान्तरण

विद्यालय भवन पहिल्यै निर्माण भएको हो । विद्यार्थीहरुले भवनमा अध्ययन सुरु गरेकै साढे २ वर्ष पुगेको छ । सन् २०१७ मा निर्माण सुरु भएर २०१९ मा सम्पन्न भएको थियो । त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत विद्यालय भवन उद्घाटनको तयारी भएको थियो । तर, चिनियाँ पक्षले निर्माण सम्पन्न नभएको भनेपछि उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो ।

२०२० सालमा स्वीकृत यस विद्यालयमा २०३४ सालपछि निम्न माध्यमिक तहमा पठनपाठन सुरु भएको थियो । २०४६ सालमा माध्यमिक र २०६५ सालमा उच्च मावि तहको पढाइ सुरु गरेको विद्यालय जुगल गाउँपालिकामै दश जोड दुई कक्षा सञ्चालनमा रहेको एकमात्रै विद्यालय हो ।

२०७४ साल साउन १४ गते भवन निर्माणको शिलान्यास गरिएको थियो । शिक्षा विभागका तत्कालीन महानिर्देशक बाबुराम पौडेलले शिक्षा विभागमै भवनको शिलान्यास गरेपछि काम सुरु भएको थियो । भवन निर्माण गर्दा प्रयोग भएको बालुवा र गिटीमात्रै नेपाली हो । बाँकी सामान र कामदार चिनियाँ नै प्रयोग गरिएको थियो ।

रत्नराज्य माविसँगै चीन सरकारले नेपालका हिमाली जिल्लामा दशवटा विद्यालय भवन बनाउने सहमति भएको थियो ।

स्थानीयको रकम भुक्तानी नै भएन

चीनको सरकारी कोष चाइना एडमार्फत विद्यालयको भवन निर्माण भएको हो । निर्माण सामग्रीमात्रै यहीको प्रयोग गरे पनि त्यसबापतको रकम भने चिनियाँ ठेकेदाहरुले अहिलेसम्म भुक्तानी गरेका छैनन् । जुगल गाउँपालिका- ५ का पूर्ववडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सनतकुमार अधिकारीका अनुसार चिनियाँ ठेकेदारले स्थानीयको ५३ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

चिनियाँ ठेकेदारहरुले अहिलेसम्म भुक्तानी नदिँदा समस्या भएको अधिकारीले जानकारी दिए । चिनियाँ दूतावासमा स्थानीयको रकम भुक्तानीका लागि पटक पटक अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live