नेपाललाई विकसित देशको रुपमा अघि बढ्न बेलायतले सघाउने, स्वास्थ्यमन्त्रीसँग राजदूतले के भनिन् ? – Nepal Press

नेपाललाई विकसित देशको रुपमा अघि बढ्न बेलायतले सघाउने, स्वास्थ्यमन्त्रीसँग राजदूतले के भनिन् ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् । ‘कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ । विपदको घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछौं’, मन्त्री गिरीले भने ।

उनले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (एनएचएस-एपी) कार्यान्वयन गर्न आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

राजदूत निकोलाले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् । उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

उनले सन् २०३६ सम्ममा नेपाल विकसित देशका रुपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ-नयाँ कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले स्वास्थ्य सेवामा भई आएका पुराना सहयोगलाई निरन्तरता दिने बताइन् ।

मन्त्री गिरीले राजदूत निकोलाले भनेका कुरालाई आफ्नो तहसम्म सकेसम्म पूरा गर्ने बचन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर