सांसद अरुण चौधरीलाई अदालतले जारी गरेको कैदी पुर्जीमा के छ ? – Nepal Press

सांसद अरुण चौधरीलाई अदालतले जारी गरेको कैदी पुर्जीमा के छ ?

काठमाडौं । फरार सूचीमा रहेका नागरिक उन्मुक्तिका  सा‌ंसद अरुणकुमार चौधरीलाई आज जेल चलान गरिएकाे छ ।  कैलाली जिल्ला अदालतले कैलाली कारागारलाई  कैदी पुर्जी जारी गरेर उनलाई जेल  पठाइएकाे हाे ।

कैदी पुर्जी अनुसार उनी आगो लगाएको आरोपमा फरार भएका थिए । उनलाई ६ महिनासम्म कारागार राख्न आदेश दिएको छ । सांसद चौधरी ७ वर्षदेखि फरार थिए ।

अरुण चौधरीलाई लागेको ६ महिना कैदको हकमा उनी पक्राउ परेको दिनदेखि कैद कट्टी हुने गरी २०८० साल साउन १९ गते कैदबाट मुक्त गर्न निर्देशन दिएको छ ।

अदालतको कैद पूर्जीमा लेखिएको छ,‘पक्राउ परेको मिति १९ गतेदेखि कैद कट्टी हुने हुँदा २०८० साल साउन १८ गतेसम्म कैदमा बसी ०८० साल साउन १९ गते कैदबाट छुटि जाने हुँदा आजदेखि २० गतेदेखि ०८० साउन १९ गतेसम्म नियमानुसार निज प्रतिवादीले पाउने सिधा खर्च र अन्य सेवा सुविधा उपलब्ध गराई कैदमा राखी मिति २०८०।०४।१९ गते कैदबाट मुक्त गरी सो को जानकारी दिनु हुन अनुरोध गरिन्छ ।’

बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको थियो ।

फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौँ लगेको थियो । काठमाडौँबाट उनलाई बिहीबारनै जहाजमा धनगढी ल्याएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार थिए ।

गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए ।

विसं २०७० वैशाख ९ मा कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतले पीडितलाई आठ लाख १८ हजार चार सय २३ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *