‘स्वतः विजयी’ घोषित हुनसक्ने सम्भावना केलाउँदै उमेश श्रेष्ठ, निर्वाचन आयोगसँग जवाफ माग्ने – Nepal Press

‘स्वतः विजयी’ घोषित हुनसक्ने सम्भावना केलाउँदै उमेश श्रेष्ठ, निर्वाचन आयोगसँग जवाफ माग्ने

उपचुनाव नै हुने भए फेरि लड्न तयार

काठमाडौं । रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि एउटा कोणबाट चर्चा चलाइएको छ- चुनावमा पहिलो हुने उम्मेदवार ‘अयोग्य’ ठहरिएपछि दोस्रो हुनेलाई स्वतः विजयी घोषणा गर्नुपर्छ । यद्यपि, यस्तो व्यवस्था कानूनमा छैन ।

चितवन-२ मा लामिछाने भारी मतले विजयी हुँदा दोस्रो भएका थिए कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ । यी दुई उम्मेदवारबीच झण्डै ३५ हजारको मतान्तर थियो, जुन देशभरमै सबैभन्दा धेरै हो । तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेल थिए ।

रविको आँधीमा बढारिएका कांग्रेस उम्मेदवार श्रेष्ठलार्ई अहिले फेरि झिनो आशा पलाएको छ । विजयी उम्मेदवारलाई अदालतले अयोग्य मानेपछि आफू स्वतः विजयी घोषणा हुनसक्ने आधारहरू उनी खोजिरहेका छन् ।

एउटा हाइड्रोपावर उद्घाटन गर्न बझाङ पुगेका श्रेष्ठ भोलि काठमाडौं फर्किँदैछन् । काठमाडौं पुगेर तत्काल आफूले यो विषयमा परामर्श थाल्ने श्रेष्ठले बताए । पार्टीका नेताहरू र आफ्ना वकिलहरूसँग परामर्श गरेर निर्णयमा पुग्ने उनको भनाई छ ।

नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले भने, ‘उपत्यकाबाहिर भएकाले मैले यो विषयमा छलफल गर्न पाएको थिइनँ । अब गर्छु ।’

अहिले उत्पन्न अवस्था नै विशेषखालको भएको श्रेष्ठको बुझाइ छ ।

उनले थपे, ‘विजयी उम्मेदवार बहुलाएमा वा मृत्यू भएमा उपनिर्वाचन हुने भनिएको छ । तर, यो अवस्थामा चाहीँ के हुन्छ भन्ने संविधान-कानूनमा स्पष्ट लेखिएको छैन । तर, मलाई धेरैले सम्भावना छ भनिरहेका छन् । उहाँको उम्मेदवारी प्रक्रिया नै रद्द भएको अवस्थामा मेरो संवैधानिक हकका कुराहरू आउँछन् ।’

उनले सुरूमा निर्वाचन आयोगसँग जवाफ माग्ने बताए । यत्ति चित्तबुझ्दो जवाफ आएमा चुप लागेर बस्ने अन्यथा अदालत जाने पनि उनको भनाई छ ।

‘अहिले नै अदालत जाने निर्णय लिइसकेको छैन । निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएमा आफ्नो अधिकारका लागि अगाडि बढ्ने हो,’ उनले भने ।

यदि आफूलाई स्वतः विजयी घोषणा नगरी उपचुनाव नै हुने भयो भने त्यसका लागि पनि उनी तयार छन् । पार्टीले आफूलाई टिकट दिए फेरि पनि त्यही क्षेत्रबाट लड्न तयार रहेको उनले बताए ।

३५ हजार मतले हारेको क्षेत्रमा फेरि लड्न आत्मविश्वास छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यो बेला एउटा हुरीबतास आयो । एकदमै अल अफ सडन भयो क्या । तर, त्यही स्थिति फेरि नदोहोरिएला । मान्छेहरुले रियलाइज गरिसकेका छन् । त्यसैले म आशावादी छु,’ उनले भने ।

त्यसो त पार्टीले अरु कसैलाई टिकट दिए सघाउन तयार रहेको पनि श्रेष्ठले बताए ।

‘अरुलाई टिकट दिए पनि मेरो आपत्ति हुँदैन । पार्टीको निर्णयलाई सहर्ष स्वीकार्नेछु,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर