मायादेवीको गजुर मर्मत, दाताको नाम गोप्य – Nepal Press

मायादेवीको गजुर मर्मत, दाताको नाम गोप्य

रूपन्देही । लुम्बिनीमा रहेको मायादेवी मन्दिरको गजुर मर्मत गरिएपनि यसमा लगानी गर्ने दाताको नाम गोप्य राखिएको छ । यहाँ रहेको गजुर बाँदरले हल्लाएर जीर्ण बनाएपछि फलामको फ्रेमभित्र राखेर सुरक्षित गरिएको हो । फलामे फ्रेमबाहिर तामाको लेपन गरी आकर्षित तुल्याइएको छ ।

झन्डै दुई महिना लगाएर गजुर मर्मत गरिएको हो । अहिले गजुरमा सुनको जलप लगाउने काम भइरहेको छ । यसमा करिब ५० तोला सुनको जलप लगाइनेछ ।गजुर मर्मतका लागि काठमाडौंबाट आएका मूर्तिकार साजन शाक्यको नेतृत्वमा ६ जनाको टोलीले काम गरिरहेको छ ।

मन्दिरमाथि सानो कौशी छ । त्यसमाथि १२ फिट अग्लो गजुर छ । गजुरको सबैभन्दा तल चारैतिर बुद्धका आँखा छन् । त्यसमाथि चारै कुनामा बज्र, विश्व बज्र, रत्न र फूल छन् । त्यसमाथि १३ वटा तह भएको त्रियोदशोभुवन राखिएको छ ।

बुद्धको आँखा भएको भाग एक मिटर गोलाइको छ । धार्मिक विधि पुर्‍याएर गजुर बनाइएको हो । यसअघिको सुनको जलपलाई तेजाब प्रयोग गरेर लिक्विड बनाएर राखिएको छ । त्यसलाई पुनः प्रयोग गर्ने बताइएको छ । करिब १२ लाख रुपैयाँ ज्यालामात्र रहेको छ । थाइल्यान्डस्थित एक दाताले गजुर पुनःनिर्माणमा सहयोग गरेका छन् ।

मायादेवी मन्दिर बनाउँदा उक्त गजुर राखिएको थियो । मन्दिर चुहिएपछि थाइल्यान्डको थाई पुङ थाई फाउन्डेसनले पुरातात्त्विक मूल्य–मान्यता अनुसार मर्मतका लागि श्रीलंकन आर्किटेक्ट इन्जिनियर सानुका तिलकरत्नेलाई खटाएको थियो । उनले यहाँ एक महिना बढी बसेर मर्मत सम्भारको डिटेल डिजाइन, ड्रोइङ र इस्टिमेट बनाएका थिए ।

सोही योजना अनुसार अहिले गजुर मर्मतसम्भार भइरहेको हो । उनी पनि गजुर मर्मतको रेखदेख गरेर बसेका छन् । काम सक्नका लागि अझै एक महिना लाग्ने बताइएको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले दाताले आफ्नो नाम प्रचारमा ल्याउन नचाहेकाले गोप्य राखिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *