‘जंगे पिलर’ गोपाल गुरुङका सपना पूरा गर्ने सुस्ताबासीको संकल्प – Nepal Press

‘जंगे पिलर’ गोपाल गुरुङका सपना पूरा गर्ने सुस्ताबासीको संकल्प

नागरिकता, लालपुर्जा र सुरक्षाका विषयलाई तत्काल सम्बोधन गर्न राज्यको ध्यानाकर्षण

सुस्ता नवलपरासी । भारतीय अतिक्रमणमा परेको सुस्ता जोगाउन आफ्नो जीवनभर लडेका गोपाल गुरुङ मृत्युले १० दिनसम्म परिवारमात्रै होइन सुस्ताबासीका आँखा ओभाएको छैन ।

२०५१ सालमा प्रहरी हवल्दारबाट रिटायर्ड गुरुङ सुस्तामा भारतीय हस्तक्षेपविरुद्ध संगठन बनाएर निरन्तर आन्दोलनमा होमिएका थिए । उनकै अगुवाइमा देशका विभिन्न सीमा क्षेत्रमा भारतीय हस्तक्षेपका कारण नेपालीले भोग्नुपरेको पीडाका सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

अहिले पनि सुस्तामा गुरुङको सानो घरमा नेपाली झण्डा फहराइरहेको छ । उनै गुरुङको स्मृतिमा ‘सुस्ता बचाऊ आन्दोलन’ ले श्रद्धाञ्जली सभा गर्‍यो । कार्यक्रममा सुस्ता पुग्ने ठाउँमा उनको स्मृतिमा गेट निर्माणका लागि शिलान्यास तथा शालिक निर्माणका लागि काम थाल्ने घोषणा गरिएको छ ।

आन्दोलनका उपाध्यक्ष आदम खानले गुरुङको निधनले सबै सुस्ताबासीले अभिभावक गुमाएको बताए ।

‘यहाँको हरेक समस्या उहाँको अगुवाइमा समाधान हुन्थ्यो । उहाँ प्रहरीमा रहँदामात्रै होइन पेन्सनमा निस्केपछि पनि लगातार लड्नुभयो, कतिपटक भारतीय प्रहरी र भारतीयको पिटाइ खानुभयो तर अहिले हामीलाई टुहरो बनाउनुभयो, अब कसरी उहाँले नेतृत्व गरेका काम पूरा गर्ने भन्ने योजनमा छौं’, खानले भने ।

स्थानीय लैला खानले गोपाल गुरुङको सम्झनाले पूरा सुस्ताबासी रोएको बताइन् ।

‘यहाँ सरकारले कुनै ध्यान नदिँदा पनि उहाँले हामीलाई संरक्षण गरेर राख्नुभएको थियो । जहिले पनि यहाँका समस्यामा लडिरहनुभयो, अन्तिम समयम्म पनि यसैको लागि ध्यान दिनुभयो तर यति छिटो उहाँलाई हामीले गुमाएका छौं’, लैलाले भनिन् ।

बिहीबार गोपालको घरअगाडि गरिएको श्रद्धाञ्जली सभामा सहभागीले गुरुङको सपना पूरा गर्न आफूहरू निरन्तर लाग्ने भन्दै त्यसका लागि सम्बन्धित पक्षलाई झकझक्याए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाललाई जोगाउने ‘बोर्डर गार्ड’ का रूपमा रहेका गोपाल गुरुङले थालेको अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका छन् । सुस्ताको समस्यालाई सिंहदरबारको दैलोसम्म पुर्‍याउने गुरुङ नेतृत्वको अभियानका कारण सुस्तामा भारतीय हस्तक्षेपबाट अडिएको बताए ।

‘यहाँको समस्या समाधानका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वय आवश्यक छ । सुस्ताबासीका पीडाले सबैको ध्यान खिचेको छ, तत्काल गर्न सकिने र नीतिगत रूपमा समाधान गर्ने विषयलाई योजनाबद्ध रूपमा लैजान्छौं’, उनले भने ।

प्रदेश सांसद देवकरण कलवारले गोपाल गुरुङको इतिहासलाई सम्झनेगरी सुस्ताबासीको पीडा कम गर्न आफू सधैँ साथमा रहेको प्रतिवद्धता जनाए ।

‘हामीले सुस्ताका सबै विषयबारे बुझेका छौं, केही काम थालनी भएका छन्, अब बाँकी काम तीनै तहको सरकार मिलेर गर्नेछौं’, उनले भने ।

आन्दोलनका सचिव रविन्द्र जैसवालको सञ्चालनमा भएको कार्यक्रममा सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले पालिकाले सुस्ताका वास्तविक पीडित पहिचान गरेर आधारभूत समस्या समाधानको योजना बनाएको बताइन् ।

गोपाल गुरुङको घर ।

‘शिक्षाका लागि अहिले ८ कक्षासम्म मात्र पढाइ हुने विद्यालय छ, आगामी दिनमा कम्तीमा माध्यमिक तहलाई चलाउने योजना बनाएका छौं, स्वास्थ्य इकाईको काम सुरू भएको छ, पुल निर्माणको काम अन्तिम चरणमा छ, कृषि क्षेत्रलाई पनि व्यवस्थित बनाउने छौं’, उनले आश्वस्त पारिन् ।

कार्यक्रममा एसएसपी रेवती ढकाल, सुस्ता बचाऊ युवा अभियानका संयोजक योगेन्द्र गौतम, स्थानीय लैला बेगमले सुस्ताको संरक्षणका लागि गोपाल गुरुङले पुराएको योगदानको चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर