मोटरसाइकलको पछाडि बस्नेका लागि हेल्मेट तत्काललाई ‘होल्ड’ – Nepal Press

मोटरसाइकलको पछाडि बस्नेका लागि हेल्मेट तत्काललाई ‘होल्ड’

दुर्घटना तथ्यांक : पछाडि बस्नेभन्दा चालक नै बढी जोखिममा

काठमाडौं । मोटरसाइकल, स्कुटरलगायत दुई पांग्रे सवारीसाधनमा पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने तयारीलाई फेरि ‘होल्ड’ मा राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अगाडि बढाएपनि तत्कालका लागि हेल्मेटको महत्व बुझाउन जनचेतना जगाउने हिसाबले काम गर्नेमात्र निर्णय भएको हो ।

‘अहिले यसलाई लागू गर्ने विषयमा कुनै निर्णय भएको छैन । तर, हेल्मेट लगाउँदा हुने सुरक्षाका विषयमा सरोकारवाला निकायले जनचेतना बढाउने भन्ने चाहीँ भएको छ’, छलफलमा सहभागी मन्त्रालयका एक उच्च अधिकारीले भने ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न पटकपटक कुरा उठेपनि सरकार सफल भएको छैन । तयारी सुरू भएलगत्तै हेल्मेट व्यवसायीसँग जोडेर सरकार र सम्बन्धित निकायमाथि आशंका हुने गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट अधिकांश दुर्घटनामा टाउकोमा असर पर्ने र मृत्युको कारण पनि त्यही हुने भएकाले हेल्मेटको महत्वमाथि जोड दिन्छन् ।

‘दुर्घटना भइहाले पनि टाउको सुरक्षित छ भने सम्भावित जोखिम कम हुन्छ’, एसएसपी भट्ट भन्छन् । सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनुपर्नेबारे लेखिएको छ । उक्त दफाको उपदफा २ मा मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने लेखिएको छ ।

संयुक्त राष्ट्र संघले सन् २०३९ सम्म सवारी दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्यालाई कम्तिमा ५० प्रतिशत कम गर्ने लक्ष्य लिएको छ । ग्लोबल प्लान अफ एक्सन फर रोड सेफ्टी २०२१-२०३० अनुसार उक्त लक्ष्य निर्धारण गरिएको हो । संयुक्त राष्ट्र संघको यही लक्ष्यलाई पुरा गर्ने गरि नेपालले पनि नेपाल रोड सेफ्टी एक्सन प्लान २०२१-२०३० को मस्यौदा तर्जुमा गरेको छ ।

संयुक्त राष्ट्र संघले जस्तै नेपालको प्रस्तावित मस्यौदामा पनि सन् २०३० सम्म सडक दुर्घटनाबाट मृत्यु र घाइते हुनेको संख्यालाई कम्तीमा ५० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । नेपालमा गत वर्ष (आर्थिक वर्ष) मात्र सडक दुर्घटनामा २ हजार ८०० जनाले ज्यान गुमाएका थिए । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १९१ जनाको ज्यान गएको थियो ।

मोटरसाइकल/स्कुटर दुर्घटनामा चालक बढी जोखिममा

मोटरसाइकल/स्कुटरमा चालकसहित बढीमा दुईजनासम्म चढ्न पाउने नियम छ । त्यसमा चालकले हेल्मेट लगाउनुपर्ने अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकाको तथ्यांक हेर्ने हो भने सवारी दुर्घटनामा पछाडि बस्नेभन्दा चालक बढी जोखिममा देखिएका छन् । यद्यपि चालकका ज्यान गएका घटनामा मोटरसाइकल/स्कुटरको पछाडि अरु थिए कि थिएनन् भन्नेबारे ट्राफिक प्रहरीको तथ्यांक र विश्लेषण पाइँदैन ।

काठमाडौं उपत्यका ट्राफिका अनुसार गत आर्थिक वर्ष भएका मोटरसाइकल/स्कुटर दुर्घटनामा ८२ जनाको ज्यान गएको थियो । तर, तीमध्ये ३१ जनामात्र पछाडि बस्ने थिए । ज्यान गुमाउने चालकको संख्या ५१ थियो । त्यसबाहेक ४ हजार ४ सय ४२ चालक र एक हजार ८१८ जना पछाडि बस्ने घाइते भएको तथ्यांक छ ।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा एक सय ३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएकामा मोटरसाइकल तथा स्कुटरमा सवार मात्र ५० जना छन् । दुई पाङ्ग्रे सवारीसाधनमा ज्यान गुमाउनेमध्ये पछाडि बस्ने ८ जनामात्र रहेका छन् । यो अवधिमा २ हजार १ सय २७ जना चालक र ८ सय ७९ जना पछाडि बस्ने घाइते भएको उपत्यका ट्राफिकले जनाएको छ ।

यी हुन् दुर्घटनाका प्रमुख कारण

काठमाडौं उपत्यका ट्राफिकले हरेक वर्ष भएका दुर्घटनाको कारणबारे विश्लेषण गर्ने गरेको छ । ट्राफिकको उक्त तथ्यांकअनुसार पहिलो कारण चालकको लापरबाही मानिएको छ ।

ओभर स्पीड, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारीको यान्त्रिक गडबढी, ओभरटेक र पैदल यात्रीको लापरबाहीलाई पनि कारणका रूपमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

One thought on “मोटरसाइकलको पछाडि बस्नेका लागि हेल्मेट तत्काललाई ‘होल्ड’

  1. हैन हो सधै हुनै नस्कने विवाधित कुरामा किन अल्झिरहन्छन कत्ति दक्षिणा को खोजिमा । बरु सडक खाल्ट खुल्टी जेब्रक्रसिङ बनाउने की ? हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर