त्यो जनयुद्ध, यो जनादेश- जंगलदेखि संसदसम्म पासाङको यात्रा – Nepal Press

त्यो जनयुद्ध, यो जनादेश- जंगलदेखि संसदसम्म पासाङको यात्रा

काठमाडौं । खोटाङका प्रतिनिधिसभा सांसद रामकुमार राई ‘पासाङ’ २०६४ सालको संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भए । २०७४ सालमा प्रदेशसभा सांसद चुनिए । अहिले २०७९ सालमा पुनः प्रतिनिधिसभा सांसद बने । ३ कार्यकाल गरी ११ वर्षको संसदीय यात्रामा रहेका पासाङभित्र २०३६ सालको जनमतसंग्रहमा ११ वर्षको उमेरमा राजनीतिको भ्रुण रोपिएको थियो ।

खोटाङको रतन्छाका पासाङ स्कुल पढ्दाताका २०३६ सालको जनमतसंग्रह भयो । शिक्षकहरुले भनेपछि ‘बहुदललाई भोट दिनू’ भनेर भोट माग्दै हिँडे । बहुदलले हार्‍यो । त्यही हारबाट राजनीतिको रङ बोकेर बालक पासाङ हुर्कंदै गए ।

‘म त किसानको छोरो । २०३६ सालमा भोट मागेको थिएँ । त्यो त राजनीति रहेछ, निकै पछि पो बुझें’, बाल्यकालीन स्मृतिमा पुग्छन् पासाङ ।

११ वर्षको उमेरबाट वामपन्थी बनेका पासाङ नेकपा मालेमा जोडिए । विद्यार्थी राजनीति सुरु गरे । पञ्चायतकाल थियो । बोल्न नपाइने । दुईजना बसेर गफ गर्न नपाइने । राजा महाराजाको जयजयकार गर्नुपर्ने । यो काम पासाङका लागि झन्झटिलोमात्रै होइन, उच्चटलाग्दो पनि थियो । झनै जब समाज, देश र मुक्तिबारे सोच्थे, ‘जयजयकार’ गर्नुपर्ने काम वाहियात लाग्थ्यो ।

‘महाराज चिरायु रहून्’ भन्न त्यसवेलाकै चेतनाले पासाङलाई दिएको थिएन । त्यसमा झनै राजनीतिक सचेतना जोडिएपछि जयजयकार गर्ने प्रसंगै रहेन । ‘राजाको जन्मोत्सव मनाउनु हुँदैन’ भन्दै हिँड्दा शिक्षकको पिटाइ खाएको घटना अहिले पनि पासाङको आँखामा झलझली छ ।

आफ्नो अहिलेको राजनीतिको जग ती नै प्रसंग र चेतनाहरुमा हुर्किएर यहाँसम्म आइपुगेको बताउँछन् पासाङ ।

बम पड्काएर २०५४ सालमा भूमिगत

२०४७ सालमा नेपालका नेकपा माले र मार्क्सवादी मिलेर नेकपा एमाले गठन भयो ।

एकातिर मदन भण्डारीलगायत नेता थिए, अर्कातिर मनमोहन अधिकारी । मनमोहन अधिकारी फेस भ्यालु भएका नेता थिए । तर, संगठनात्मक हिसाबले कमजोर थिए । माले पूर्वबाट झापा क्रान्तिको जगमा व्यापक ढंगले उदाइरहेको थियो । पश्चिमतिर वामदेव गौतमले मालेलाई विस्तार गरिरहेका थिए ।

पार्टी एकता त भयो । तर, खोटाङमा न्यायोचित रुपमा नेता-कार्यकर्ताको व्यवस्थापन र संयोजन भएन । लामो समयदेखि पार्टीमा पसिना बगाएका पासाङहरुलाई उपेक्षा गरियो । अन्यहरुले अवसर पाए । पार्टीमा खटिने खास नेता-कार्यकर्तालाई भूमिकाविहीन बनाइयो ।

यस प्रकारको परिवेशले विक्षिप्त बनेका पासाङ पार्टीमा निष्क्रिय रहे । पासाङकै शब्दमा ‘राजनीतिक फ्रस्टेसन’मा गए । उनी थप्छन्, ‘बहुदलका लागि योगदान गर्ने, जेल, हिरासत बस्ने हामीहरुको योगदानलाई नजरअन्दाज गरियो । यस हिसाबले पनि ममा फ्रस्टेसन आएको थियो ।’

खोटाङमा पासाङलगायतले २०४८ सालको आमनिर्वाचनमा भाग लिएनन् । नेकपा एमालेले भने भाग लियो । राष्ट्रव्यापी रुपमा ७८ सीट जितेर दोस्रो ठूलो दल बन्यो ।

लगत्तै २०४९ साल भदौ ४ गते नेता गोपाल किराँतीले खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा गठन गरे । राजनीतिक हिसाबमा सक्रिय रहे पनि दलीय हिसाबमा निष्क्रिय रहेका पासाङलगायत नेता २०५० सालतिर खरामुमोमा जोडिए । पार्टीमा पदाधिकारी थिएन, त्यसैले केन्द्रीय सदस्य बने । संगठन निर्माणतिर लागे ।

उनी भन्छन्, ‘भाषाहरु जीवित हुनुपर्छ । त्यो वेला संस्कृत मृत भाषा जस्तै बनेको थियो । कसैले बोल्दैन थियो । बरु आदिवासी जनजातिका सयौं भाषाहरु थिए, जो राज्यको नजरमा परेको थिएन ।’

२०५४ साल साउनबाट पूर्ण रुपमा भूमिगत भए । २०५२ सालबाट माओवादीले जनयुद्ध घोषणा गरेर सशस्त्र युद्धमा होमिएको थियो । पश्चिमबाट माओवादीको उभार आइरहेको थियो । मध्यपूर्वमा खरामुमोले पनि संस्कृति पढाउने विद्यालयहरुमा बम पड्काएर युद्धको शंखघोष गर्‍यो । सिंगो संगठन नै भूमिगत बन्यो ।

संस्कृत भाषाको ठाउँमा भेगअनुसारको आदिवासी जनजातिको मातृभाषाहरुलाई पाठ्यक्रममा समावेश गराइनुपर्छ भनेर पासाङहरुले गरेको गतिविधि राज्यको नजरमा आतंकवाद थियो । एकातिर माओवादी जनयुद्धसँग मुद्दाहरुको समरुपताका कारण खरामुमोको जनयुद्धलाई नैतिक समर्थन थियो । अर्कातिर माओवादी राष्ट्रिय समस्या भएको र खरामुमोको गतिविधि क्षेत्रीय समस्या भएकाले क्षत्रीय समस्यालाई पहिला सिध्याउन राज्यले सम्पूर्ण स्रोत र शक्तिको परिचालन गर्‍यो । दमनको नीति लियो । नेता-कार्यकर्ता लुकीलुकी हिँड्न थाले ।

तर, संस्कृत भाषालाई मृत भाषा भन्दै त्यसलाई हटाइनुपर्छ भनेर खरामुमो हिँड्यो । अहिले फर्केर हेर्दा भाषा नै सिध्याउनुपर्छ भन्ने त्यो कदम पासाङलाई सही लाग्छ ?

उनी भन्छन्, ‘भाषाहरु जीवित हुनुपर्छ । त्यो वेला संस्कृत मृत भाषा जस्तै बनेको थियो । कसैले बोल्दैन थियो । बरु आदिवासी जनजातिका सयौं भाषाहरु थिए, जो राज्यको नजरमा परेको थिएन । अहिले पनि संस्कृत भाषा कतिपय कलेजहरुमा पढाइन्छ, त्यसमा हाम्रो विरोध होइन । तर, कसैले नबोल्ने भाषालाई त राज्यले त्यसरी संरक्षण गर्छ भने आदिवासी जनजातिले बोल्ने भाषाालाई किन संरक्षण नगर्ने भनेर विद्रोह गरेका थियौं । त्यो विरोध र विद्रोह आजसम्म पनि यथावत छ । राज्यले सबै भाषालाई उत्तिकै संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।’

तीनबुँदे सहमतिसहित माओवादीमा विलय

मध्यपूर्वबाट खरामुमो उदाइरहेको परिदृश्य र पश्चिमबाट माओवादी उदाइरहेको परिदृश्य । एजेन्डा एकै जस्तो थियो । तर, जनयुद्ध भनेर राष्ट्रिय रुपमा अगाडि बढिरहेको माओवादीलाई पूर्वमा नफैलिई भएको थिएन । त्यसका लागि क्षेत्रीय रुपमा सक्रिय खरामुमोसँग सहकार्य नगरी सुखै थिएन । माओवादीलाई पूर्वमा पनि चाँडोभन्दा चाँडो फैलनु थियो । आफ्नो शक्ति विस्तार गर्नु थियो ।

डा. बाबुराम भट्टराईले सम्हालेको माओवादीअन्तर्गतको संयुक्त क्रान्तिकारी मोर्चा र खरामुमाबीच सहकार्य गर्ने सहमति बन्यो । पासाङका अनुसार कुनै ठाउँमा आक्रमण गर्दा दुवै पक्षले एक-अर्कालाई जानकारी गर्ने, गराउने मुख्य सहमति थियो ।

पासाङ सुनाउँछन्, ‘तर, बीचमा सहमतिहरु टुट्दै गए । उहाँहरुले एक्सन गर्दा हाम्रा साथीहरु गिरफ्तार भए । हामीले एक्सन गर्दा उहाँहरु गिरफ्तार हुनुभयो । यसले समस्या निम्त्यायो ।’

फेरि २०५७ सालमा संखुवासभामा माओवादीकै नेतृत्वमा खम्बुवान र लिम्बूवान समेटिएर किराँत राष्ट्रिय मुक्तिमोर्चा गठन भयो । महासचिव गोपाल किराँती बने । भक्तराज काङ्दावा अध्यक्ष बने । पासाङ उपाध्यक्ष बने । तर, उक्त बैठकमा प्रचण्ड उपस्थित थिएनन् । उनी भारततिर भूमिगत थिए ।

‘प्रचण्ड नभएकै कारण हामीले जिम्मेवारी र भूमिका पाएनौं । यसपछि सहमति तोड्यौं’, पासाङ सम्झिन्छन् ।

माओवादीबाट अलग बनेपछि किराँत वर्कस पार्टी गठन भयो । माओवादीले नहुने निर्क्योलसहित किराँत वर्कस पार्टीले शक्ति प्रदर्शनसमेत गर्‍यो । त्यसो हुँदा कतिपय स्थानमा त्रिपक्षीय लडाइँसमेत भएको पासाङ बताउँछन् । एकातिर सेना र पुलिसको दबदबा । अर्कातिर माओवादी र किराँत वर्कसको आआफ्नै दबदबा । किराँत वर्कस र माओवादीकै कतिपय ठाउँमा झडपसमेत भयो ।

‘छातीमा लागेको भए म पनि ढल्ने थिएँ । धन्न पाखुरामा लाग्यो र घाइते भएर भाग्न सफल भएँ’, पासाङ भन्छन्, ‘हामी सातजना बाँच्यौं । सातजना जनता मारिए ।’

‘यो त समस्या भयो । एकै एजेन्डाप्रति अगाडि बढेका थियौं । त्यसो हुँदा मिलाउनुपर्छ भनेर वार्ता संवाद भयो । प्रचण्ड नै पूर्व आएर पार्टी एकता भयो । तीन बुँदै सहमति भयो’, २०५९ सालमा माओवादीमा विलय भएको प्रसंग सुनाउँछन् पासाङ ।

आर्मीले नौजनालाई भुटे, पासाङ घाइते भए

पार्टी एकतापछि पासाङ सगरमाथा-जनकपुर व्युरोको सदस्य र खोटाङ जिल्ला इन्चार्ज भए । खोटाङ जिल्लाको इन्चार्ज भएकाले जिल्लामै संगठनको काममा सक्रिय थिए । काम गर्ने सिलसिलामा दोहोरो भिडन्त भइरहन्थ्यो । पासाङका अनुसार ननुहाएको धेरै भएको थियो । त्यसैले उनीलगायत नौजना माओवादी कार्यकर्ता नुहाउन रतन्छा तल साप्सु खोलातिर लागे ।

सँगै राजेन्द्र राईलगायत गाउँलेहरु पनि माछा मार्न आए । उनीहरुले ब्लास्टिङ पनि लिएर आएका थिए । तर, पासाङले पड्काउन दिएनन् । तैपनि गाउँलेले जोडबल गरेपछि कमाण्डरलाई फोन गरेर अनुमति लिए । खोलामा ब्लास्टिङ पड्काए ।

गाउँलेले पड्काएको ब्लास्टिङको आवाज अलि माथि रहेको सेनाले सुन्यो । आवाज सुनेपछि सेना दोभान झरे । लप्सेबाट झरेर माथिबाट दोभानमा घेरा हाल्यो । तलबाट आएको भए परैबाट देखिन्थ्यो । सबै भाग्न सक्थे । तर, माथिबाट घेरेकाले अप्ठ्यारो ठाउँमा उनीहरुले भाग्ने अवसर नै पाएनन् ।

पासाङ भन्छन्, ‘त्यहाँ ठाउँको ठाउँ आठजनालाई मारे । एकजनालाई पक्राउ गरेर मारे । आठजना त मेरै गाउँको हुनुहुन्थ्यो । दुई जना माओवादीसहित सात गाउँलेलाई भुटे ।’

आर्मीले घेरा हालेपछि घेरा तोड्न पासाङहरुले प्रतिकारस्वरुप पेस्तोल पड्काए । सेनाले हानेको गोली पासाङको पाखुरामा लाग्यो । घाइते भए ।

‘छातीमा लागेको भए म पनि ढल्ने थिएँ । धन्न पाखुरामा लाग्यो र घाइते भएर भाग्न सफल भएँ’, पासाङ भन्छन्, ‘हामी सातजना बाँच्यौं । सातजना जनता मारिए । खासमा जनता नमारिनुपर्ने । राजेन्द्र राई त ठाउँको ठाउँ ढलेको थियो । पक्राउ पर्दा पनि सबैले हामी जनता हो भनेका थिए । एकजना १३ वर्षको भाइले म स्कुले विद्यार्थी हुँ । माओवादी भएको भए किन खाजाको रुपमा जाँड बोकेर आउँथ्यौं भन्दा पनि छाडेनन् । राजेन्द्रकै दाइ रामबहादुर भर्खरै प्रहरीबाट रिटायर्ड भएका थिए । सेनालाई उनले सलाम पनि भनेका थिए । तर, पक्रेर कुटीकुटी गोली ठोकेर मारियो ।’

२०५९ सालमै बाक्सिलामा पनि पासाङहरु बसेको घरमा घेराबन्दी गरेर आर्मीले गोली भुटुटु चलाए । त्यहाँ पनि चारजना सहिद भए । पासाङका अनुसार गाउँकै एकजना लाटालाई समेत गोलीले उडाइयो । पासाङ त्यहाँ भाग्न सफल भए ।

पासाङ भन्छन्, ‘सदरमुकाम आक्रमण गरेपछि हामीलाई अलि राहत भयो । पेलेर, हेपेर जान कम भयो । उनीहरु अलि हच्किए ।’

‘ओख्रो डाँडागाउँमै बिहान घेरा हालेर भिडन्त भयो । हामीलाई घेराबन्दी गरेर भुट्न खोज्थे । हामीलाई पेलेर, हेपेर आउँथे’, पासाङ सुनाउँछन् ।

चार इन्सास र तीन एसएलआर कब्जा

खोटाङकै मौरेमा एम्बुस थाप्यो माओवादीले ।

त्यहाँ पूर्वकै सबैभन्दा ठूलो आक्रमण गरिएको थियो । जिल्लाभरि पार्टी संगठनमा सक्रिय रहेका कार्यकर्तालाई अत्यधिक पेलेकाले एउटा ठूलो कारबाहीको जरुरत भएकाले आक्रमण गर्नुपरेको पासाङ बताउँछन् ।

त्यहाँबाट चारवटा इन्सास र तीनवटा एसएलआर माओवादीले कब्जा गर्‍यो । त्यसवेलाको सबैभन्दा आधुनिक हतियार पूर्वबाट कब्जा भएको पहिलो घटना थियो ।

अलि पछि खोटाङको सदरमुकाम दिक्तेलमा हमला गर्‍यो माओवादीले । रातभर लडाइँ भयो । माओवादीले कारागार कब्जा गरे । जिल्ला प्रशासन कब्जा गरे । भौतिक हिसाबले माओवादीलाई फाइदा भए पनि दुईजना माओवादीले शहादत प्राप्त गरे ।

त्यसको पर्सिपल्ट भोजपुरको पान्धारेमा पनि लडाइँ भयो । सबैलाई घेरा हालेर मार्ने योजना आर्मीको थियो । त्यसैले त्यहाँ ठूलो भिडन्त भयो ।

पासाङ भन्छन्, ‘सदरमुकाम आक्रमण गरेपछि हामीलाई अलि राहत भयो । पेलेर, हेपेर जान कम भयो । उनीहरु अलि हच्किए ।’

अनि २०६४ सालमा सभासद्

त्यतिखेरै माओवादीले एकैपटक तीन ठाउँमा हमला गर्ने भनेर योजना बनाएको थियो । शेरबहादुर देउवाको सरकारलाई दबाब दिन माओवादी देशव्यापी रुपमा तीनवटा आक्रमण गर्ने तयारीमा थियो ।

पश्चिम कमाण्डले दाङको घोराही आक्रमण गर्ने, मध्य कमाण्डले एउटा सदरमुकाम हान्ने र पूर्व कमाण्डले सोलु हान्ने रणनीतिमा माओवादी थियो । त्यही मितिलाई जनमुक्ति सेना घोषणा मान्ने तयारीमा माओवादी पार्टी पंक्ति थियो । तर, पूर्वको सोलु भने एक्सपोज भइदियो । त्यसको दश दिनपछि मात्रै हमला भयो ।

त्यसवेला पासाङ ओखलढुंगामा थिए । पार्टीको बैठक चलिरहेको थियो । सोलु एक्सपोज भइसकेपछि पासाङ मेची-कोसी व्युरोमा सरुवा भए । संखुवासभाको इन्चार्ज भए । भोजपुरको घोडेटार कब्जा गर्ने योजना पार्टीले बनायो ।

पासाङ सहयोगका लागि आए । संगठनमा थिए, जनमुक्ति सेनाका लागि खाना, बासको व्यवस्थापनलगायत काममा खटिनुपर्थ्यो । पासाङ सुनाउँछन्, ‘तर, हामीले घोडेटार जित्न सकेनौं । स्काइ भ्यानले देखाइदिने, अनि तीनवटा हेलिकोप्टरले आक्रमण गर्ने । ८१ सेल हानिदिने । स्काइ भ्यानले देखाइदिएपछि स्याटेलइटमा कुरा गर्दै रुखमा छ, घर छ भनेर देखाइदिन्थे । अनि हेलिकोप्टरले त्यहाँ आक्रमण गर्थे ।’

तर, पासाङ संखुवासभामा हुँदा भने खासै ठूलो आक्रमण भएन त्यहाँ । पासाङका अनुसार त्यहाँ सेना प्रहरीको ज्यादती कम थियो । जहाँ ज्यादती धेरै हुन्छ, त्यहाँ नै धेरै प्रतिकार हुने उनी बताउँछन् ।

११ महिनापछि पासाङलाई सोलु सल्लेरी बिग्रेडको कमिसार बनाएर पठायो । त्यसको सात महिनालगत्तै शान्ति प्रक्रिया घोषणा भयो । जनआन्दोलन भयो । संविधानसभाको घोषणा भयो । कमिसारहरु सबैलाई घर फर्किएर चुनावमा होमिन पार्टीले निर्देशन दियो ।

लगत्तै चुनाव भयो । पासाङ सभासद निर्वाचित भए ।

पासाङ सुनाउँछन्, ‘मलाई खोटाङका जनताले विश्वास गरेर तीनपटक जिताइसक्नुभएको छ । मैले केही कामहरु गरेको छु । तर, मैले अझै धेरै गर्नु छ । खोटाङका जनताको समस्याबारे अवगत छु । त्यसैले यो कार्यकालमा जतिसक्दो अत्यधिक काम गर्ने योजनामा छु । खोटाङका जनताले मलाई दिएको मत खेर जान नदिने गरी काम गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर