सन्दीपविरुद्धको पुनरावेदन सर्वोच्चको प्राथमिकतामा, फास्ट ट्र्याकमा शुक्रबार नै पेशी


काठमाडौं । बलात्कार आरोपी सन्दिप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध परेको पुनरावेदनको पेशी सर्वोच्च अदालतले प्राथमिकतामा राखेको छ । जसअनुसार शुक्रबार नै पेशी तोकिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शुक्रबारका लागि पेशी तोकिएको बताए ।
यसअघि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायधिवक्ता कार्यालयले थुनामा राखेर मुद्धा पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्चमा यसै साता मात्र पुनरावेदन गरेको थियो ।
फौजदारी कसुरको पुनरावेदन दर्ता भएपछी सर्वोच्च अदालतमा तत्कालै पेशीको पालो आउँदैन। तर रिटजस्तै सन्दीपविरुद्धको पुनरावेदनलाई प्राथमिकता दिइएको छ ।
अदालतले धरौटीमा छाडेपछि नेपाल क्रिकेट संघले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा भएसँगै सन्दीपलाई बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।