सहिद हेमनारायण यादव : हत्याको १८ वर्ष बित्यो, हत्यारालाई भएन कारबाही – Nepal Press

सहिद हेमनारायण यादव : हत्याको १८ वर्ष बित्यो, हत्यारालाई भएन कारबाही

जनकपुरधाम । सिरहाका कम्युनिष्ट नेता हेमनारायण यादवको हत्या भएको १८ वर्ष बितेको छ । २०६० माघ १९ मा उनको हत्या भएको थियो । हत्या भएको तीन वर्षपछि यादवलाई सरकारले सहिदसमेत घोषणा गरेको थियो ।

ती नै सहिद यादवको आज नेकपा एमालेले १९औं स्मृति दिवस मनाएको छ । सिरहा सदरमुकाममा सहिद यादवको सालिक छ । चोकको नाम पनि ‘हेमनारायण चोक’ राखिएको छ । उनको सालिकमा सिरहा नगरपालिकाका मेयर डा. नवीन यादव र जिल्लाभरका एमाले नेता तथा निर्वाचित जनप्रतिनिधिहरुले माल्यार्पण गरी श्रद्धाञ्जली दिएका छन् ।

मेयर नवीन उनै सहिद यादवका छोरा हुन् । सहिद यादवको स्मृति दिवस मनाउन प्रायः एमालेका ठूला नेताह आउने गर्थे । एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले महासचिव तथा अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल पनि पटक-पटक सहिद यादवको श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । तर, यो पटक पार्टी केन्द्रबाट कुनै पनि नेता श्रद्धाञ्जली दिन आएनन् ।

मधेसका प्रभावशाली नेता थिए हेमनारायण यादव । एमालेबाट सांसदसमेत भएका थिए उनी । तर, हत्या भएको १८ वर्ष बितिसक्दा पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याएको छैन ।

एमाले महासचिव रहेका बेला माधवकुमार नेपालले सिरहामै आएर श्रद्धाञ्जली सभामा भनेका थिए, ‘हत्यारा पातलो पर्दाको पछाडि छन् । तर, सरकारमा नभएकाले अगाडि ल्याउन समस्या भयो । छिट्टै हत्यारालाई कानूनको कठघरामा उभ्याउँछौं ।’

हुन त नेता नेपाल अहिले एमालेमा छैनन् । तर, एमालेमै रहेका वेला उनी प्रधानमन्त्री भएका थिए । तर, हत्यारालाई पर्दा पछाडिबाट अगाडि ल्याएर कानून कठघरामा उभ्याएनन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा पनि यादवका हत्यारालाई कारबाही गर्न चासो देखाएनन् ।

तैपनि एमाले नेताहरुले सहिद यादवको हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता गर्न छाडेका छैनन् । एमालेले पटक पटक सरकारको नेतृत्व गरे पनि हत्यारा कारबाहीको दायरा नआउँदा एमाले नै हत्याराको बचाउमा लागेको धेरैको गुनासो छ ।

बुवाको हत्यारालाई अझै कारबाही नभएकोमा मेयर नवीन दुःख व्यक्त गर्छन् । उनी भन्छन्, ‘माधवकुमार नेपालजीले अपराधी पर्दाको पछाडि रहेको भन्नुभएको थियो । त्यसैले पनि प्रधानमन्त्री भएको बेला उहाँलाई भेट्न पनि पुगेको थिएँ । तर उहाँले केही पनि गर्नुभएन ।’

उनका अनुसार हत्याको विषयमा छानबिन गर्न बनेको समितिले नेपाली सेना चोहर्वा ब्यारेकका कर्णेल बाबुकृष्ण कार्कीले नै घटना घटाएको भनिसकेको छ । संसदीय अनुगमन टोलीले पनि हत्यामा कर्णेल कार्कीकै संलग्नता रहेको भन्ने सबै प्रमाण सार्वजनिक गरिसक्दा पनि कारबाही भएको अवस्था छैन ।

‘कानूनको कार्यान्वयन पक्ष कमजोर भएकै कारण अहिलेसम्म न्याय पाउन सकेको छैन’, उनले भने ।

को थिए हेमनारायण ?

२०३६ सालको जनमतसंग्रहको घोषणासँगै विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका हेमनारायण यादव २० वर्षको संघर्षपछि २०५६ मा सांसदमा निर्वाचित भएका थिए । २०४० सालमा उनी स्वर्गीय रामराजाप्रसाद सिंहको जनवादी मोर्चामा लागेकै कारण काठमाडौं र सिरहामा भएका बमकाण्डमा मुछिए र १ महिना १७ दिन जेल परे ।

हेमनारायणलाई सम्झँदै एमाले नेता दिनेश यादव भन्छन्, ‘उहाँ जहिल्यै जनताको आवाज बोल्नुहुन्थ्यो । उहाँ सरल र सहज स्वभावको हुनुहुन्थ्यो । जहिल्यै गरिब जनताको पक्ष लिनुहुन्थ्यो ।’

यसरी भएको थियो हत्या

२०६० साल माघ १९ गते मोटरसाइकल लिएर उनी एमालेको तत्कालीन जिल्ला सचिव हीरा सुनुवारको घर धनगढीतिर लागे । गोलबजार नपुग्दै उनी अपहरणमा परे । राति घर नफर्किंदा घरपरिवारका सदस्यहरु आत्तिए । खोजबिन गरे । कतै भेटिएनन् ।

अपहरणमा परेकै राति अपराधीले उनको हत्या गरे र शव सिरहा-धनुषा जोड्ने कमला नदी नजिकै फाले । तीन गोली हानेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर