विभागमा स्वास्थ्यमन्त्री पदम गिरीको अनुगमन : पारदर्शी र जवाफदेही भएर काम गर्न निर्देशन (भिडिओ) – Nepal Press

विभागमा स्वास्थ्यमन्त्री पदम गिरीको अनुगमन : पारदर्शी र जवाफदेही भएर काम गर्न निर्देशन (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीले बताए । बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्याममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अब पनि पाइए सैह्य नहुने चेतावनी समेत दिए ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए । उनले अस्पतालहरुलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताए ।

‘अहिले लगभग धेरैजसो मिडियाहरुमा यो खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरु बन्ने गरेका छन् । खरिद प्रक्रियामा शत प्रतिशत पारदर्शीता कायम गर्नेगरी यहाँहरुले काम गर्नुहोला । भोलि कहीँकतै यस्ता गुन्जायसहरु देखिए भने, रहे भने त्यतिबेला तपाईहरुलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन’, मन्त्री गिरीले भने, ‘यो धेरै संवेदनशील विषय छ । सबैको यसप्रति गम्भिर रुपले ध्यानाकर्षण भएको छ । यसमा तलमाथि भयो भने जनतामा ठूलो निराशा आउन सक्छ । त्यसकारण खरिद प्रक्रियामा हन्ड्रेड परसेन्ट शुद्धता कायम गरियोस् । त्यहाँ कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई पूरा निरुत्साहित बनाउनु पर्दछ । यो कुरामा सम्बन्धितको ध्यान जाओस् । स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैंत्री बनाउनु पर्दछ ।’

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए । उनले स्वास्थ्य उपकरणहरुको दूरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताए । मन्त्री गिरीले विभागले महंगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आईरहेकाले त्यस्तो अवस्था आउन नदिनेगरी काम गर्नु पर्ने पनि स्पष्ट पारे ।

‘यो विभाग जतिधेरै प्रभावकारी ढंगले काम गर्छ । आफ्नो अर्गान्सहरुलाई जसरी यसले म्यासिभ्ली जनताप्रति जवाफदेही, उत्तरदायी भएर जति काम गर्छ । त्यतिनै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छ । त्यसकारणले यो विभाग बढी जिम्मेवार भएर लाग्नका लागि पनि मैले यहाँहरुलाई अनुरोध गर्न चाहन्छु’, उनले भने ।

मन्त्री गिरीले विभागका कर्मचारीहरुको मेहनतप्रति धन्यवाद व्यक्त गरे । उनले कमी भएका ठाउँमा ध्यान नपुगेकोतर्फ पनि ख्याल गर्नुपर्ने बताए ।

कमी कहाँ कहाँ छन ? के–के कुरालाई सुदृढ बनाएर लैजाने भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने मन्त्रीको गिरीको भनाइ छ ।

‘आफ्नो शाखा, महाशाखा भित्रका परिभाषित जिम्मेवारीहरु निपुणताका साथ पूरा गर्ने त्यो अठोट, त्यो इच्छाशक्ति तपाईहरुमा हुनु पर्दछ’, गिरीले भने, ‘त्यसो भयो भने सिंगो विभाग र सिंगो मन्त्रालयले आफ्नो उद्देश्यहरु, आफ्ना लक्ष्यहरु समयमै पूरा गर्न सक्छ । यो कलेक्टिभली प्रयासबाट मात्रै सम्भव हुन्छ । त्यसकारणले यहाँहरुले पनि आफ्नो जिम्मेवारी र दायित्वलाई बहुत बुझेर त्यो ढंगले काम जुटिदिनोस् ।’

मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । त्यसक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले आफू मातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर