गृह मन्त्रालयमा रविको जोडबल: ओलीको साथ, दबाबमा प्रचण्ड – Nepal Press

गृह मन्त्रालयमा रविको जोडबल: ओलीको साथ, दबाबमा प्रचण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालयको विवादले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारोमा परेका छन् ।

पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नदिन पार्टीभित्र चर्को दबाब परेपछि प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका हुन् ।

विश्वासको मत लिने वेलामा प्रतिनिधिसभाको लगभग सबै सांसदको समर्थन पाएका प्रधानमन्त्री प्रचण्डले सरकारमा महत्वपूर्ण कुनै मन्त्रालय लिन सकेका छैनन् ।

सरकारको नेतृत्व गरेको पार्टीले गृह, अर्थ, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय लिने प्रचलन छ । तर, तीमध्ये माओवादीले अहिले कुनै मन्त्रालय पाएको छैन । पार्टीभित्रको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई अहिले रिक्त रहेको मन्त्रालय नछाड्न नेताहरुबाट सुझाव आएको सचिव लीलामणि पोखरेलले बताए ।

तर, रास्वपा सभापति लामिछाने गैरसांसद भए पनि पुरानै जिम्मेवारीमा फर्कने चाहनामा छन् । आफूलाई नभए पनि आफ्नो पार्टीले पठाएको व्यक्तिलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई लामिछानेले दबाब बढाएका छन् । तर, प्रचण्ड अहिले गृह मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा छन् ।

यद्यपि माओवादी पदाधिकारी बैठकले लामिछानेको मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रीबारे निर्णय नगर्ने निर्णय गरिसकेको छ । तर, रास्वपा त्यो बेलासम्म कुर्न तयार छैन । प्रचण्डसँग निरन्तर संवादमा रहे पनि सकारात्मक सन्देश नआएकाले अहिले रास्वपाको निर्णायक छलफलका लागि अपरान्ह साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

बैठकअघि उनले चेतावनीको शैलीमा लेखेका थिए, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यू होइन ।’

उनले अभिव्यक्तिले आफ्नो पार्टीले गृह मन्त्रालय नपाएर सरकार छाड्ने संकेत गरेको प्रस्ट हुन्छ । तर, केन्द्रीय सदस्य दीपक बोहराले पार्टी सरकारमा रहने वा नरहनेबारे केन्द्रीय समिति र संसदीय दलको समितिमा छलफल हुने बताए ।

तर, लामिछानेलाई सरकारमा फर्काउन प्रधानमन्त्रीले इच्छा नदेखाए पनि सत्ता गठबन्धन दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओली सकारात्मक छन् । उनले रास्वपा सभापतिलाई गठबन्धन दलको सहमतिअनुसार गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ नचाहिने तर्क गरे ।

विराटनगरमा पुगेर ओलीले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?,’

ओलीले रविकै विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेको बताए ।

प्रचण्डमाथि गृहमा फर्किन दबाब बढाइरहेका लामिछानेलाई ओलीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति राजेन्द्र लिङ्देनले पनि साथ दिएका छन् । उनले बिहीबार बिहान बालुवाटार पुगेर नै लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउँदा सत्ता गठबन्धन बलियो हुने सुझाव दिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भने आफूमाथि चौतर्फी दबाब भए पनि सर्वोच्चको फैसलाविपरीत जान नहुने अडानमा छन् । जुन कुरा बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग राखेका थिए । तर, गृह मन्त्रालयको विषयले मात्रै नभएर सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयमा पनि उस्तै खटपट छ ।

पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले अहिले राष्ट्रिय सहमति खोजेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर थापेको ढोक्साको कारण प्रचण्डलाई केही कम्फर्टेबल भएको छ ।

तर, यही गठबन्धनलाई निरन्तरता दिने कि पुरानै गठबन्धनमा फर्किने भन्ने विषयमा पनि प्रचण्डमाथि नेताहरुको दबाब छ । त्यस विषयमा माओवादी नेताहरु दुई भागमा बाँडिएका छन् । तर, एमाले अध्यक्ष ओली माओवादीले खोजेको राष्ट्रिय सहमति एमालेको उम्मेदवारमै जुट्नुपर्ने दाबी गर्छन् ।

‘माओवादीले जुन राष्ट्रिय सहमतिको कुरा गरेको छ । त्यो भनेको एमालेले उठाएका उम्मेदवारलाई कांग्रेसले समर्थन गर्नु हो । त्यसो भएपछि राष्ट्रिय सहमति भइहाल्छ’, ओलीको भनाइ छ ।


प्रतिक्रिया

One thought on “गृह मन्त्रालयमा रविको जोडबल: ओलीको साथ, दबाबमा प्रचण्ड

  1. विगतमा रातो राहदानी दुरुपयोगमा संविधान सभाका तत्कालीन सभासद्हरु शिवपुजन राय यादव, बिपी यादव,गायत्री साहलगायतले कारबाही भोग्नुपर्यो । फौजदारी मुद्दा खेप्नुपर्यो,जेल गए,निलम्बितसमेत भए ।’ अबैध नागरिकता र दोहोरो राहदानीजस्ता गम्भीर आरोप खेपिरहेर जेल जानुपर्ने मान्छे रवि खुलेआम उपदेश दिँदै फेरि उपप्रधान तथा गृहमन्त्री बन्न बार्गेनिङ गरेको छ: सासद बिरेन्द्र शाह https://www.janaaastha.com/story/134817

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर