हर्क साम्पाङले धरानको सर्वेसर्वा मै हुँ भनेपछि मन्त्री मेन्याङ्बोसँग भयो चर्काचर्की (भिडिओ) – Nepal Press

हर्क साम्पाङले धरानको सर्वेसर्वा मै हुँ भनेपछि मन्त्री मेन्याङ्बोसँग भयो चर्काचर्की (भिडिओ)

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काम गर्ने शैली र आफ्नै अभिव्यक्तिका कारण बेलाबेला विवादमा परिरहन्छन् । भर्खरैमात्र एक सार्वजनिक कार्यक्रममा मन्त्रीसँगको उनको सवालजवाफको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ ।

‘पालिका सवाल’ विषयक एक बहस कार्यक्रममा आफ्नो अनुमतिविना कसैलाई योजना चलाउन नदिने भनेपछि प्रदेश १ का खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूसँग चर्काचर्की नै परेको छ ।

‘यो धरान उपमहानगरपालिकाको मेयर म हुँ । मलाई थाहा हुनुपर्छ मेरो नगरमा के हुँदैछ भन्ने । मलाई थाहा नहुने हो भने जुनसुकै योजना होस् म त्यसलाई रोक्छु-रोक्छु’, मेयर साम्पाङले भनेका थिए ।

मेयरको उक्त अभिव्यक्तिपछि मन्त्री मेन्याङ्बोले सबैले आ-आफ्नो अधिकार क्षेत्रभित्र बसेर काम गर्नुपर्ने बताए । उनले बोलेरमात्र केही नहुने भन्दै कानूनले जे भन्छ त्यो गर्ने भन्दा साङपाङ पुन: जंगिएका थिए ।

यस्तो छ सवालजवाफ

मन्त्री मेन्याङ्बो : संविधानले तीनै तहका सरकारको अधिकार क्षेत्र किटान गरेको छ । त्यो अधिकार क्षेत्रभित्र बसेर सबैले काम गर्ने हो । नगरपालिकाको मेयर प्रधानमन्त्रीभन्दा अधिकारसम्पन्न होइन, मुख्यमन्त्रीभन्दा बढी अधिकार लिएर बसेको मेयर होइन । मेयरको भन्दा बढी अधिकार वडाध्यक्षको पनि छैन होला । आ-आफ्नो अधिकार क्षेत्रभित्रको काम गरौं । अधिकार क्षेत्रभित्र बसेर बोलौं । बोलेर केही हुँदैन । अनुमति लिनुपर्ने ठाउँमा लिन्छौं लिनुनपर्ने ठाउँमा लिँदैनौं । कानूनले जे भन्छ त्यो गर्ने हो । यसमा सबै प्रष्ट हुनुपर्‍यो ।

(मेयर साम्पाङ बीचबीचमा बोलेपछि सञ्चालकले सहजीकरण गर्न खोज्छिन्)

पुन: मन्त्री : केन्द्र र प्रदेशबाटै भ्रष्टाचार भइराको छ भन्नुहुन्छ यदि त्यसो हो भने किन चर्को चर्को कुरामात्र गर्नुहुन्छ । अगाडि बढेर मुद्दा लाउनुस् न किन रमिता हेरेर बस्नुहुन्छ । (त्यसपछि फेरि चर्काचर्की) ।

मेयर : नगर सरकारलाई बाइपास गरेर आउने जुनसुकै योजना रोक्छु ।

मन्त्री : नेपाल सरकारभन्दा ठूलो तपाईँ होइन । अधिकार क्षेत्रको कुरा गर्नुस् न ।

मेयर : अन्य नगरपालिकामा गर्न सक्नुहुन्छ । मेरो नगरमा मेरो अनुमतिविना कसैलाई दिन्नँ ।

मन्त्री : सस्तो लोकप्रियताको लागि काम गर्ने होइन । दीर्घकालीनरूपमा समाधान गर्ने सोचका साथ जानुपर्छ ।

मन्त्री मेन्याङबोले धरानमा खानेपानीको समस्या देखिएपनि यही हिसाबले समाधान नहुने बताए ।

उनले भने, ‘मेयर साबले ढुंगा बोक्दैमा समस्या समाधान हुँदैन । दीर्घकालीन योजना बनाउनुस् । केन्द्र सरकारले बजेट बनाउँदा यहाँको मेयरलाई सोधेर बनाउँदैन । यहाँबाट निर्वाचित भएर गएका सांसदको मागअनुसार केन्द्र सरकारले योजना राख्छ । प्रदेश सरकारले पनि योजना राख्दा मेयरलाई सोध्देनौं । प्रदेश सांसदसँग माग्छौं । उहाँहरूले स्थानीय स्तरमा तपाईँहरूकै मागअनुसार योजना ल्याउनुहुन्छ । मेयरले पनि मन्त्री सांसद कसैलाई सोध्नुपर्दैन । कहाँ-कहाँ लगाउने यहीँकालाई । म यहाँको मेयर हुँ मलाई सोध्नुपर्छ नि भन्दा परर्र ताली बजाउने कुराले सच्चाइ व्यक्त गर्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर