संसदीय गतिविधिबाट नागरिकका समस्या समाधानको भूमिका निभाउन सभामुख घिमिरेको आग्रह (भिडिओ) – Nepal Press

संसदीय गतिविधिबाट नागरिकका समस्या समाधानको भूमिका निभाउन सभामुख घिमिरेको आग्रह (भिडिओ)

काठमाडाैं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाका सदस्यहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका सदस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरूलाई समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने बताए ।

सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरूको आचार, व्यवहारहरू जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने हिसाबबाट अघि बढ्न सुझाव दिए ।

उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरूले आफ्नो संसदीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरूको काम खोजिरहेको बताए ।

सभामुख घिमिरेले भने- पहिलो पल्ट सबै नयाँ नै हुन्छ, केही संख्या दोहोरिएर आउने कुरा बेग्लै हो, तर नयाँले पूरा गर्नुपर्ने दायित्व के हो ? कुन तरिकाबाट काम गर्न सक्दछौँ । गर्ने अभ्यासहरू कस्ता छन्, सामान्यतया यी कुराहरू अहिलेसम्मको अभ्यासमा हेर्दा, नयाँ संसद् बनिसकेका र धेरै सांसदहरूले विगतमा योगदान गर्नुभएका कुराहरू छन् । यी सबै काम गर्दा कत्तिको जनउत्तरदायी भएर काम गरेका छौँ ? विषयमा आधारित भएर गर्न सकेका छौँ की छैनौँ ?हामीलाई निर्वाचित गर्ने नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ । छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका हामीले खेल्नुपर्छ ।

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर