छड्के २ को ट्रेलरलाई उछिन्दै छक्का पञ्जाको गीत ट्रेन्डिङ १ मा


काठमाडौं । अनमोल स्टारर चलचित्र ‘छड्के २’ को ट्रेलरलाई उछिन्दै चलचित्र ‘छक्का पञ्जा ४’ को हालै रिलिज भएको ‘दर्शन सलाम’ बोलको गीत ट्रेन्डिङ १ मा परेको छ।
५ दिन अघि रिलिज भएको छड्केको ट्रेलरले सार्वजनिक भए लगत्तै दर्शकको राम्रो प्रतिक्रिया र साथ पाएको थियो। सार्वजनिक भएको केही समयमा नै छड्के २ को ट्रेलर ट्रेन्डिङ नम्बर–२ मा परेको थियो।
ट्रेन्डिङमा परेको उक्त ट्रेलरलाई अहिले भने दुई दिन अघि मात्र रिलिज भएको छक्का पन्जाको गीतले उछिनेको छ। छक्का पञ्जाले उछिने लगत्तै छड्केको ट्रेलर ट्रेन्डिङ नम्बर ३ मा पुगेको छ। २ दिनमै छक्का पञ्जाको गीतलाई १२ लाखले जनाले हेरेका छन् भने छड्केको ट्रेलरले हालसम्म १५ लाख दर्शक पाएको छ।
ट्रेन्डिङमा त जे पनि पर्न सक्छन् तर यी दुई चलचित्रबिच भने किन तुलना गरिएको होला भन्ने धेरैमा कौतुहलता हुन सक्छ। कारण हो, यी दुई चलचित्रको रिलिज मिति। नेपाली बक्स अफिसमा तहल्का मच्चाउने प्रबल सम्भावना बोकेका यी दुई चलचित्र एकै दिन रिलिज हुने भएको छन्। फाल्गुन १९ गते यी दुई चलचित्रबिच भिडन्त हुने भएको छ। दुवै चलचित्रका निर्माण टिमले फाल्गुन १९ गते रिलिज मिति तय गरेपछि आफूहरू अघि–पछि नहट्ने अठोट गरेका थिए। दुवै निर्माण टीम एकै मितिमा अड्किएपछि चलचित्रहरू ‘छड्के’ र ‘छक्का पञ्जा ४’ भिड्ने निश्चित भएको हो।
हेमराज बिसी निर्देशित चलचित्र ‘छक्का पञ्जा ४’ मा दीपक राज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, आदि लगायतका कलाकारहरूको अभिनय रहेको छ। जितु नेपाल टीमबाट बाहिरिएसँगै चलचित्रमा राज आचार्यले ईन्ट्री गरेका छन्।
हास्य–शृङ्खला तितो–सत्यमा बालकालकारको रूपमा चर्चा बटुलेका आचार्यले यसै चलचित्रबाट डेब्य् गरेका हुन। आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई दिपेन्द्र खनिया र केशव न्यौपानेले निर्माण गरेका हुन। कार्यकारी निर्माताको रूपमा भने कलाकारहरू केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्।
नायक अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २.०’ मा भने निगम श्रेष्ठको निर्देशन रहेको छ। प्रशान्त गिरी र देवकुमार श्रेष्ठले संयुक्त रूपमा मिलेर निर्माण गरेको चलचित्रमा अनमोल बाहेक रोबिन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देबु श्रेष्ठ, आदि लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
यी दुवै चलचित्र फाल्गुन १९ गतेबाट रिलिज हुनेछ।