दलित आयोग र प्रहरीबीच पहिलो पटक अन्तरक्रिया, सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता – Nepal Press

दलित आयोग र प्रहरीबीच पहिलो पटक अन्तरक्रिया, सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय दलित आयोग र प्रहरी प्रधान कार्यालयबीच पहिलो पटक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित आयोग गठन भएको २१ वर्ष तथा आयोगले संवैधानिक मान्यता पाएको ६ वर्षपछि र प्रहरी प्रधान कार्यालय स्थापना भएको ७२ वर्षपछि पहिलो पटक प्रहरी प्रधान कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी स्थापना भएपछि पहिलो पटक प्रहरी प्रधान कार्यालय र आयोगकाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) उमेशराज जोशीले जानकारी दिए । उनका अनुसार आयोग र प्रधान कार्यालयबीच सहकार्य भइरहे पनि प्रधान कार्यालयमा नै पदाधिकारीलाई बोलाएर पहिलोपटक छलफल गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितविरूद्ध दैनिक जसो घटना घटिरहेको भएता पनि मुद्दा दर्ता अत्यन्त न्यून रहेको बताए । उनले पहुँच नहुनेको लागि न्यायको सबैभन्दा पहुँच हुने कार्यालय नै प्रहरी भएको भन्दै प्रहरीले कुनै पनि विभेद नगरी न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

आयोगको भूमिकालाई प्रभावकारी बनाउन र दलितसँग सम्बन्धित कानूनको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कानून कार्यान्वयनमा नेपाल प्रहरीले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष विश्वकर्माले बताए । समाजिक सञ्जालमार्फत दलित समुदायको मान प्रतिष्ठमा आँच आउने गतिविधि हुने गरेकोतर्फ प्रहरीको ध्यानाकर्षण गराउदैँ उनले त्यस्ता गतिविधिमा संलग्नलाई कानूनको दायरामा ल्याउन आग्रह पनि गरेका छन् ।

अध्यक्ष विश्वकर्माले शक्ति र सार्वजनिक पद धारण गरेको आधारमा दलितमाथि दमन र दुव्र्ययवहार गर्ने कार्यलाई निरूत्साहित गर्न प्रहरीले आवश्यक कार्य गर्नुपर्ने बताए ।

साथै उनले आयोगप्रति नेपाल प्रहरीको अपेक्षालाई कार्यान्वयन गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै दलितको विषयमा शून्य सहनशिलता नीति अपनाएर सोही अनुरूप दलितको समस्यालाई सम्बोधन गर्न राज्यका सबै सरोकारवाला निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेसमेत बताए ।

आयोगका सदस्य मीनादेवी सोवले राष्ट्रिय दलित आयोग र नेपाल प्रहरीवीचको अन्तरक्रिया कार्यक्रम अत्यन्तै प्रभावकारी भएको भन्दै हरेक तीन/तीन महिनामा यस्ता अन्तरक्रिया कार्यक्रम आयोजना हुनुपर्नेमा जोड दिइन् ।

साथै उनले यस्तो अन्तरक्रिया कार्यक्रममा महिला प्रहरीको सहभागिता बढाउनसमेत आग्रह गरेकी छन् । आयोगका सदस्य मेहल पार्कीले जातीय विभेदका घटनामा निर्मम ढंगले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेका छन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीले गर्ने काम कानूनको दायराभित्र रहेर सम्पादन हुने उल्लेख गर्दै नेपाल प्रहरीले नियमित रूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिवद्ध रहेको बताए ।

उनले दलित समुदायलाई होच्याएर वा प्रतिष्ठामा आँच आउने गतिविधि गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउनसमेत प्रहरी क्रियाशील रहेको बताए । महानिरीक्षक सिंहले सामाजिक सञ्जालमार्फत देश बाहिर रहेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिन कठिन भएता पनि त्यसतर्फसमेत आवश्यक कदम चालिने बताए ।

दलितको प्रतिनिधित्वका लागि नेपाल प्रहरीको भर्ना प्रकृयामा राज्यले अंगिकार गरेको समावेशी प्रावधानलाई अक्षरस पालना गरिएको बताउँदै उनले नेपाल प्रहरी दलित समुदायको सबैभन्दा बढी प्रतिनिधित्व भएको संगठन रहेको बताएका छन् ।

महानिरीक्षक सिंहले दलित समुदायको प्रतिनिधित्वका लागि नेपाल प्रहरी सदैव सकारात्मक रहेकोसमेत बताए । राष्ट्रिय दलित आयोगका अध्यक्ष एवम् पदाधिकारीको उपस्थितिका लागि आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर रुपमा अन्तरक्रिया आयोजना हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले दलित समुदायको हकहित संरक्षणमा नेपाल प्रहरी अन्तर्गत दलित समुदायसँग सम्बन्धित नेपालमा विद्यमान कानूनी व्यवस्थाबारे जानकारी गराएका थिए ।

त्यस्तै, उनले नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्वको वर्तमान अवस्था, दलित सेलको काम कर्तव्य, दलित समुदाय माथि हुन सक्ने अपराध, विभेद, हिंसा र यसका स्वरूप, दलित समुदायका नागरिकाई प्रहरी सेवा प्रवाह तथा कामकारवाहीमा प्रहरी कर्मचारीले ध्यान दिनुपर्ने कुरासम्बन्धी प्रस्तुती राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीले जातीय विभेद लगायत दलितसँग सम्बन्धित समस्याको समाधानका सम्बन्धमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र डा. आशा सिंह, प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँ, किरण बज्राचार्य, रामदत्त जोशी, सन्दिप भण्डारी, पोषराज पोखरेल, साइबर ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल लगायत राष्ट्रिय दलित आयोगका प्रतिनिधि, सञ्चारकर्मीको लागयतको उपस्थिति रहेको थियो ।

केहि दिनअघि राष्ट्रिय दलित आयोगले प्रहरी महानिरिक्षक सिंहलाई आयोगमै बोलाएर जातीय छुवाछुतका घटनामा प्रहरीलाई संवेदनशील बन्न निर्देशन दिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले आयोगका पदाधिकारीलाई बोलाएर कार्यालयमा नै बोलाएर अन्तरक्रिया कार्यक्रम गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *