सत्तापक्षमै कित्ताकाटः जब सदनमा राप्रपाविरुद्ध गणतन्त्रवादी दलहरू एक ठाउँ भए (भिडिओ) – Nepal Press

सत्तापक्षमै कित्ताकाटः जब सदनमा राप्रपाविरुद्ध गणतन्त्रवादी दलहरू एक ठाउँ भए (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदहरुको जुहारी चलेको छ । बुधबार बसेको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले संघीयताविरुद्ध बोल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएपछि सत्ता पक्षकै सांसदहरुको जुहारी चलेको हो ।

उनले राप्रपाका मन्त्रीहरुलाई लक्षित गर्दै भने, ‘सरकारमा सहभागी मन्त्रीहरू नै संविधानको मान्यताविपरीत धर्म निरपेक्षतालाई मान्दिनँ, संघीयतालाई मान्दिनँ भन्दै बोलिरहनुभएको छ । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक विवाद आएको राम्रो होइन । त्यसबारेमा छलफल आवश्यक भए क्याबिनेटमा गर्नुहोस् । तर, संविधानको आधारभूत संरचनाको बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा मुलुकको लोकतन्त्रको लागि राम्रो लक्षण होइन ।’

संविधानअनुसार मन्त्रीमा शपथ लिएका मन्त्रीहरूले व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने उनको भनाइ थियो ।

त्यसलगत्तै बोलेका माओवादी उपमहासचिव तथा सांसद शक्ति बस्नेतले पनि सडकमा बहस एक हदसम्म स्वीकार्य भए पनि मन्त्रीहरुले सरकारमा बसेर संघीयताको विरुद्ध बोल्न नमिल्ने भन्दै पन्तको अभिव्यक्तिमाथि सहमत भए ।

उनले भने, ‘क्याबिनेट सदस्यहरुले संविधानका मूल्यहरूभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन । यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहोस् र यी विषयलाई सच्याइयोस् ।’

तर, उनीहरुको भनाइप्रति राप्रपाका ज्ञानेन्द्र शाहीले नियमापत्ति जनाए । उनले उनले सांसदहरुको भनाइप्रति नियमापत्ति गर्दै सीता नेपालकी छोरी, विश्वको प्रसिद्ध ग्रन्थ वेद नेपालको भएकाले काेही नास्तिक नहुने दाबी गर्दै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

तर, शाहीको नियमापत्तिपछि सांसद पन्त र बस्नेतले बोल्न खोजे पनि सभामुख देवराज घिमेरेले तत्काल रोके । त्यसलगत्तै बोलेका राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले राजतन्त्र फर्काएरै छाड्ने सदनबाटै उद्घोष गरे ।

उनले भने, ‘राप्रपा सानो होला । तर, जनताको मनमा भिजेका छौं । हामी नेपालमा सनातन हिन्दू राष्ट्र कायम गर्न आएका छौं । हामी राजासहितको प्रजातन्त्र पुनःस्थापना गर्न आएका छौं । त्यो कुरा संविधानले रोक्दैन । हामी बोल्छौं र समयमा कार्यान्वयन गर्छौं ।’

उनले संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएको बताए ।

उनले थपे, ‘हामी यो व्यवस्था नमान्ने भए जंगल गएर बन्दुक उठाउँथ्यौं । यही संविधानलाई हाम्रो मूल्य र मान्यतामा परिवर्तन गर्न जनताले भोट दिएका छन् । हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस् ।’

तर, उनको भनाइप्रति जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले चर्को असन्तुष्टि पोखे ।

संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्न बाध्य हुने उनले चेतावनीसमेत दिए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले मन्त्रीहरुलाई स्पष्टीकरण सोध्छु भन्नुभएको थियो । त्यो के भयो ? यदि यही रवैया रह्यो भने हामी सदन घेर्न बाध्य हुन्छौं । होइन भने यस्ता अनुशासनहीन र संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ ।’

संविधान नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताउँदै उनले संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वाद र दाइजोबाट नआएको बताए ।

‘कसैको रहरले संघीयताविरुद्ध जान सकिँदैन । सरकारमा जाने, कार्यकारी जिम्मेवारीमा बस्ने अनि मन्त्री पदको दुरुपयोग गर्दै संघीयता र गणतन्त्रको विरोधमा बोल्यो भने जसपा चुप लागेर बस्न सक्दैन’, उनले चेतावनी दिए ।

त्यसो त यसअघि पनि राप्रपाका मन्त्रीहरुले संघीयताविरुद्ध बोलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कारबाही गर्ने चेतावनी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर