धनुषामा प्रधानाध्यापकमाथि विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा ताला – Nepal Press

धनुषामा प्रधानाध्यापकमाथि विद्यार्थीले गरे दुर्व्यवहार, विद्यालयमा ताला

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका ७ धवौलीमा रहेको एसएनआर जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुर्व्यवहार गरेका छन् ।

पठनपाठन अस्तव्यस्त पारेको र करोडौं रूपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीले प्रधानाध्यापक गोहिवारमाथि कालो रंग फालेर दुर्व्यवहार गरेका हुन् । विद्यार्थीले प्रधानाध्यापक गोहिबारमाथि कालो रंग दल्नुका साथै विद्यालयमा तालाबन्दीसमेत गरे ।

पठनपाठन सुधार्न र हरहिसाब सार्वजनिक गर्न पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थी सुजितकुमार मण्डलले बताए ।

उनले भने, ‘यस्तो हेडसर हामीलाई चाहिँदैन । विद्यालयमा कुनै नियम नै छैन । सरस्वती पूजामा घटना हुँदा पनि केही गर्नुभएन ।’ भवन निर्माण, छात्तवृत्ति र पोशाक वितरण, कम्प्यूटर खरिद लगायतका शिर्षकमा प्रधानाध्यापक गोहिवारले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनले आरोप लगाए ।

अर्का विद्यार्थी जयकिसन पासवानले कक्षाकोठा समेत सफा नहुने गरेको गुनासो गरे ।

उनले भने, ‘४/५ दिन भयो लोखर्के (लुखी) मरेको । तर, अहिलेसम्म क्लास सफा गरिएको छैन । गन्हाइरहेको छ ।’

उनले प्रधानाध्यापक गोहिवार चरम लापरबाही गर्ने गरेकाले अर्को प्रधानाध्यापक नआएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने चेतावनी दिए । उनले छात्रवृत्ति वितरण र पाठ्यपुस्तकको भर्पाई, धानबालीबाट भएको आम्दानी र खर्च विवरण, खाजा व्यवस्थापन खर्चको विवरणलगायत सबै हरहिसाब सार्वजनिक गर्नुपर्ने पनि माग गरे ।

प्रधानाध्यापक गोहिवारमाथि अभिभावकहरू पनि आक्रोश पोखेका छन् ।

अभिभावक दीपेश यादव भन्छन्, ‘उहाँ (प्रधानाध्यापक) आएदेखि अहिलेसम्म अभिभावक भेला गर्नुभएको छैन । यो विद्यालयमा उहाँले चरम लापरबाही गर्नुभएको छ । त्यसैले विद्यार्थीहरुले गरेको कारबाही सही हो ।’

अभिभावक यादवले पनि सरकारले बालबालिकाका लागि खाजाको व्यवस्था गरिए पनि प्रधानाध्यापक गोहिवारले कहिल्यै खाजा नखुवाएको बताए । उनले विद्यालयको रुख बिरुवाहरू अनधिकृतरूपमा कटान गरी रूपैयाँ चलाएको पनि प्रधनाध्यापक गोहिवारमाथि आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर