बुद्धको देशमा आत्मदाह- दलाल पूँजीवादी विकासे मोडेलको उपज – Nepal Press

बुद्धको देशमा आत्मदाह- दलाल पूँजीवादी विकासे मोडेलको उपज

आत्मदाह गर्नु आत्महत्या गर्नु होइन । यो एउटा आन्दोलन हो । योखाले आन्दोलनमा आन्दोलनकारी मरेर जान्छ । तर, बाँचेकालाई पनि नैतिक रुपमा सजिलै हराइदिने अति कहालीलाग्दो विधिको रुपमा वेलावेला विश्व जगतमा प्रयोग भएको देखिन्छ । नेपालमा यो खालको घटना कहिल्यै सुनिएको थिएन । इलामका प्रेमप्रसादले यो तरिकालाई प्रयोग गरे । उनी मरेर गए । तर, देश र समाजलाई तरंगित बनाएर गए । यो तरंग लामो समयसम्म रहनेछ । देशमा विकसित राजनीतिक खुराफाती र आर्थिक दलालतन्त्रको अगाडि यो घटना भूत बनेर लामो समय तर्साएर बस्न सक्ने केही सम्भावनाहरु छन् ।

आफ्नो मन अथवा आत्मालाई सबैखाले आशक्तिहरु जस्तै धन, पद, प्रतिष्ठा, स्वार्थ जस्ता बन्धनहरूबाट मुक्त गर्न सक्नु नै जीवनमा मोक्ष प्राप्त गर्नु हो भन्ने बुद्धत्व प्राप्त हिमालयन चेतना र संस्कृति भएको गौतम बुद्धको देशमा आत्मदाह हुनु एउटा विकराल घटना हो । आत्मचित्कारका धेरै स्रोतहरु हुन्छन् । एकखाले चित्कार अन्याय, असमानता, शोषण, दमनका कारण कुनै उपाय नलागेर र आफ्नो कुनै सामाजिक स्थान नदेखेर आन्दोलनका रुपमा निस्कने चित्कार हुन्छ ।

अर्को खाले चित्कार चै घमण्ड, लोभ, रिस, ईर्ष्या र धनदौलतदेखि लिएर विभिन्न कुरामा गडेका आशक्तिहरुले पैदा गरेका हुन्छन् । यी आशक्तिहरु समाजमा विकसित ज्ञान, विवेक, संस्कार, संस्कृति, सामाजिक-आर्थिक संरचनाहरु र तिनीहरुमा आएका परिवर्तनले बढाउने अथवा घटाउने गर्दछन् । आशक्तिहरु व्यक्तिगत चाहना वा स्वभावका कारणमात्रै निर्माण हुने होइनन् । यी त समाज परिवर्तनको दिशा र गतिले निर्धारण हुन्छन् ।

चित्कारहरु समाजका ऐना हुन् । चित्कारहरु घट्ने क्रममा छन् र तिनलाई सजिलै सुनिदिने र समाधान सुझाउने संयन्त्रहरु निर्माण भएका छन् भने त्यो समाज र देश सभ्यता र न्यायउन्मुख छ भन्ने बुझ्नुपर्छ ।

यस्ता चित्कारहरुले धेरैलाई जलाइरहेको हुन्छ । कतिपय मानिसहरु भित्रभित्रै जलेर बाँच्न बाध्य हुन्छन् । कतिपयले जलनलाई सहन नसकेर शरीर नै जल्ने अवस्थामा पुर्‍याउँछन् । सामाजिक संरचनाले सिर्जना गर्ने यी चित्कारहरु बढ्ने क्रममा छन् कि घट्ने क्रममा छन् भन्ने कुराले देश र समाज परिस्कृत, सभ्य र विकसित हुँदै गएको छ कि झन् स्खलित हुँदै गएको छ भन्ने देखाउँछ ।

चित्कारहरु समाजका ऐना हुन् । चित्कारहरु घट्ने क्रममा छन् र तिनलाई सजिलै सुनिदिने र समाधान सुझाउने संयन्त्रहरु निर्माण भएका छन् भने त्यो समाज र देश सभ्यता र न्यायउन्मुख छ भन्ने बुझ्नुपर्छ । राजनीतिक, वर्गीय, लैंगिक, जातीय, सांस्कृतिक विभेदहरु र स्खलनहरु बढ्दै गएको नेपालमा न्यायोचित र समानतामूलक आर्थिक उत्पादन र सामाजिक संरचना तत्कालै निर्माण हुने क्रममा जाला भन्ने देखिँदैन ।

नेपालमा आत्मचित्कारहरु बढ्ने क्रममा छन् । सदियौंदेखिको सामन्तवादी सामाजिक संरचना, धनी र गरिबबीच ठूलो खाडल सिर्जना गर्ने र केही घरानालाई फाइदा पुग्ने तर देशलाई झन् पराधीन बनाउने दलाल पूँजीवादी आर्थिक प्रणाली र आफ्नो जीविकोपार्जन, संस्कृति र स्वावलम्बी आर्थिक चलनहरु मासेर अर्काको जीवनशैलीको सिको गर्नुलाई समृद्धि ठान्ने एनजीओकरण भएको पराधीन विकासे सोचको घनचक्करमा नेपाली राजनीति र समाज अघि बढिरहेको छ । यो घनचक्करले नेपालको विकास अवधारणालाई मौलिकताहीन र विकृत बनाएको छ । जसकारण देश आर्थिक रुपमा पूर्ण पराधीन हुँदै गएको छ । समाज चाहिं आफ्नो उत्पादनविनाको खोक्रो उपभोक्तावादको शिकार भएको छ । प्रेमप्रसादको आत्मदाह यही विकृत विकासे घनचक्करको उपज हो ।

सदियौंदेखिको सामन्तवादी सामाजिक संरचना, धनी र गरिबबीच ठूलो खाडल सिर्जना गर्ने र केही घरानालाई फाइदा पुग्ने तर देशलाई झन् पराधीन बनाउने दलाल पूँजीवादी आर्थिक प्रणाली र आफ्नो जीविकोपार्जन, संस्कृति र स्वावलम्बी आर्थिक चलनहरु मासेर अर्काको जीवनशैलीको सिको गर्नुलाई समृद्धि ठान्ने एनजीओकरण भएको पराधीन विकासे सोचको घनचक्करमा नेपाली राजनीति र समाज अघि बढिरहेको छ ।

आफ्नै औद्योगिक आधार नभएको तर पूँजीवादी उपभोक्तावादले गाँजेको विकृत विकासे मोडेलले नेपाली समाजमा दुई खालका कठिनाइ सिर्जना गरेको छ ।

पहिलो, नेपालको आफ्नो उत्पादन क्षमतालाई मासेर खुला बजार नीतिको नाममा राष्ट्रिय आर्थिक गतिविधिहरु उत्पादनमुखी भन्दा विदेशी उत्पादनको ब्रोकरको रुपमा सीमित गराउने अहिलेको विकास अवधारणाले शहरिया उच्च व्यापारीलाई अधिक फाइदा दिने तर साना उद्यमी र आम जनतालाई उच्च मूल्यवृद्धि हुने कारण आर्थिक असमानताको खाडल बढेर गएको छ । राज्य संयन्त्र, कर्मचारीतन्त्र, बैंकहरु, आयात निर्यात नीति–नियमहरु, विदेशी व्यापारीहरु, विकासे संस्थाहरु, ठेकेदारी प्रणालीहरु सबै ठूला खाले व्यापारीलाई फाइदा दिने खालका छन् । साना व्यापारी तथा उद्यमीहरूले प्रतिस्पर्धा नै गर्न सक्दैनन् ।

किसान र श्रमिक वर्गसँग देशभित्र अथवा बाहिर श्रम बेच्नेबाहेक अर्को विकल्प बाँकी छैन भने मध्यम वर्गीय किसान तथा व्यापारी उद्यमीहरू देशको उत्पादन क्षेत्रमा जोडिन सक्ने अवस्था नै छैन । शिक्षा, स्वास्थ्य जस्ता अति अनिवार्य क्षेत्रमा गरिएको निजीकरण र दलालीकरणले जीवनयापन अत्यन्त महँगो हुँदै गएको छ । यो खाले विकासे मोडेलले मध्यम र तमाम तल्लो वर्गका मान्छेहरुमा अभाव र आत्मचित्कारको अवस्था सिर्जना भएको छ ।

दोस्रो, आफ्नो जीवनशैलीलाई पछौटेपन ठान्ने र उपभोक्तावादी जीवन प्रणालीलाई आधुनिक र सम्पन्न भएको मान्ने सोचले नेपाली समाजलाई चुर्लुम्म डुबाउने काम नेपालमा लामो समयदेखि अभ्यास गरिएको मौलिकताहीन विकृत विकासे मोडेलले गरेको छ । एक पुस्तामै यो परिवर्तन आयो । नयाँ पुस्ताले परम्परागत जीविकोपार्जन प्रणालीलाई छाडी नै सक्यो र त्यो खाले जीवनलाई असफल र जीवन खेर गएको जस्तो ठान्छ । एनजीओवादी विकास र राजनीतिक दलहरुले सधैं सिंगापुर र स्विट्जरल्याण्ड जस्ता समाजलाई विकासे सपनाको रुपमा बाँड्ने गरेका कारण परम्परागत आफ्नो जीवनशैलीदेखि दिक्दार भएर जसरी पनि कि पैसा कमाउनुपर्ने कि त विदेशिनुपर्ने मान्यताबाट नयाँ पुस्ता अघि बढेको छ ।

शिक्षा, स्वास्थ्य जस्ता अति अनिवार्य क्षेत्रमा गरिएको निजीकरण र दलालीकरणले जीवनयापन अत्यन्त महँगो हुँदै गएको छ । यो खाले विकासे मोडेलले मध्यम र तमाम तल्लो वर्गका मान्छेहरुमा अभाव र आत्मचित्कारको अवस्था सिर्जना भएको छ ।

विशेष गरी शहरिया मध्यम वर्गलाई यो विकासे अवस्थाले पूरै गाँजेको छ । प्रेमप्रसादको आत्मदाह आफूसँग केही नभएर, खान नै नपाएर, खेती गर्ने जग्गाजमिन नभएर, केही उपाय नै नलागेर भएको होइन । हाम्रो विकृत विकासे मोडेलले आधुनिकताको सिढी चढ्न बाध्य बनाएर चढ्न खोज्दा दलाल पूँजीवादले सिर्जना गरेका हजारौं अवरोधका कारण भएको हो ।

नेपाली युवाहरु दलाल पूँजीवादले सिर्जना गरेको अभाव र आधुनिकताले थोपरेको नयाँ जीवनशैलीको चेपुवामा परेर निकै कठिन जीवन जिउन बाध्य भएको अवस्था छ ।

यो खालको विकास मोडेलले देशमा न्यायोचित आर्थिक समृद्धि प्राप्त हुने कुनै सम्भावना देखिँदैन । आर्थिक वृद्धिदर नापेरमात्रै जनस्तरमा कुनै प्रभाव पर्दैन । दलाल पुँजीवादी संरचनामा वृद्धि भएको आर्थिक लाभ केही सीमित घरानामा जाने अथवा विदेशिने हुन्छ । अचेल सरदर ४-५ खर्ब रुपैयाँ त केटाकेटी पढाउनमात्रै हरेक वर्ष विदेशिने गरेको छ । झन्डै ९० प्रतिशत जति औद्योगिक आवश्यकताहरु विदेशी आयातबाट पूरा गर्नुपर्ने बाध्यता छ । आधाभन्दा धेरै खाद्यान्न विदेशबाटै आयात हुन्छ ।

अर्कोतर्फ अधिकांश युवाहरुले आफूलाई बेरोजगार ठान्छन् । परम्परागत कृषि प्रणालीमा कुनै रुचि छैन । विकासे संघसंस्थाहरु, सरकारी कार्यक्रमहरु र राजनीतिक दलहरु परम्परागत कृषि प्रणालीलाई पुरातनवादी भनेर निरुत्साहित गर्छन् । जीविकोपार्जन खेतीमा कुनै सहयोग छैन । वैज्ञानिक कृषिका नाममा जग्गा र प्राकृतिक स्रोतलाई निजीकरण गर्दै दलालतन्त्रको पहुँच बढाउने काम भएका छन् ।

अहिलेको विकास मोडेलले न देशमा आर्थिक वृद्धि, औद्योगीकरण तथा रोजगारी सिर्जना हुन्छ न त कम्तिमा जीवनयापन गर्ने परम्परागत प्रणालीकै पनि जगेर्ना गर्नसक्छ । विकास निर्माणको नाममा डोजर आतंक सिर्जना भएको छ । नदीनाला सुक्न थाले । अब केही नयाँपन नदिने हो भने अन्य कति प्रेमप्रसादहरु निस्कने हुन्, स्थिति कहालीलाग्दो हुनसक्छ ।

नयाँ पुस्ताले परम्परागत जीविकोपार्जन प्रणालीलाई छाडी नै सक्यो र त्यो खाले जीवनलाई असफल र जीवन खेर गएको जस्तो ठान्छ । एनजीओवादी विकास र राजनीतिक दलहरुले सधैं सिंगापुर र स्विट्जरल्याण्ड जस्ता समाजलाई विकासे सपनाको रुपमा बाँड्ने गरेका कारण परम्परागत आफ्नो जीवनशैलीदेखि दिक्दार भएर जसरी पनि कि पैसा कमाउनुपर्ने कि त विदेशिनुपर्ने मान्यताबाट नयाँ पुस्ता अघि बढेको छ ।

अबको नेपालको समृद्धिको यात्राले अहिले जस्तो चित्कार सृजना गर्ने र नयाँ खालका आशक्तिहरु निर्माण गर्ने विकृत विकासे मोडेललाई रुपान्तरित गर्दै मौलिक, समानतामुखी, आफ्नो संस्कृतिमा अडिएको, आफ्नो जीवनशैलीमा गर्व गर्न सक्ने, आत्मनिर्भर उत्पादन उन्मुख र किसान, युवा तथा साना उद्यमीलाई प्राथमिकता दिने खालको समृद्धि अभियान तत्कालै सुरु गर्न आवश्यक छ ।

कम्तिमा तलका पाँच वटा कार्यक्रमहरु प्राथमिकताका साथ लागू गर्न सके प्रेमप्रसाद जस्ताका चित्कार घटाउनेतर्फ देश उन्मुख हुने थियो ।

पहिलो, खाद्यान्नमा आत्मनिर्भर बनाउन परम्परागत कृषि प्रणालीलाई थप मजबुत बनाउन गरिब किसानहरुलाई देशले प्रत्यक्ष सहयोग गर्न आवश्यक छ । वैज्ञानिक र आधुनिक कृषिका नाममा हरेक वर्ष अर्बौं रुपैयाँ देशले खर्च गर्ने गरेको छ । कर्मचारीतन्त्रको भ्रष्टाचार र बिचौलियाहरुको रजगज रहेको त्यस्तो खर्च खाद्यान्न उत्पादन गर्ने किसानमा पुग्ने सम्भावना छैन । ग्रामीण किसानहरु गाउँ-गाउँमा विस्तार भएका सहकारी र ग्रामीण लगानी बैंकहरुबाट प्रताडित छन् । यस्तो ऋणबाट गाउँ गाउँमा कति धेरै प्रेमप्रसादहरु निस्किसकेका होलान् ? अनुमान गर्न गाह्रो छ । बानेश्वर चोकमा प्रधानमन्त्रीको अघि आएर आफैंलाई आगो झोस्न नसक्ने गाउँ-गाउँका पीडितहरु नजिकैको रुखमा झुन्डिएर आहुति दिनेहरुको संख्या कति होला कति ।

दोस्रो, नेपालले साना र मझौला उद्योग तथा उत्पादन प्रणालीलाई एउटा अभियानको रुपमा अघि बढाउनु अनिवार्य छ । ‘एक वडा पाँच उद्योग’को कार्यक्रम लिएर जाने हो र त्यहीअनुसारको आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने हो भने गाउँ-गाउँमा उद्यमशीलताको विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ, विदेशबाट शहरमा हुने आयात घटेर जान्छ । प्रेमप्रसादहरुका चित्कार घटेर जान्छ । ठूला व्यापारी, बैंंक तथा लगानीकर्ताहरुबाट पीडित हुनुपर्दैन र न्यायोचित आर्थिक वृद्धिमा सहयोग पुग्छ ।

प्रेमप्रसादको आत्मदाह आफूसँग केही नभएर, खान नै नपाएर, खेती गर्ने जग्गाजमिन नभएर, केही उपाय नै नलागेर भएको होइन । हाम्रो विकृत विकासे मोडेलले आधुनिकताको सिढी चढ्न बाध्य बनाएर चढ्न खोज्दा दलाल पूँजीवादले सिर्जना गरेका हजारौं अवरोधका कारण भएको हो ।

तेस्रो, हरेक गाउँपालिकामा एउटा व्यवस्थित ढंगको प्राविधिक शिक्षालय स्थापना गर्नु अनिवार्य भैसकेको छ । अहिले भएका गाउँ-गाउँका स्कुलहरु चल्न नसक्ने अवस्थामा छन् । पहाडतिरका विद्यालयमा बिद्यार्थी नै छैनन् । स्कुलबाट पास भएर निस्किएपछि कुनै सीपमूलक ज्ञानको अभाव भएका कारण धेरै युवाहरु झन् निरुत्साहित र गन्तव्यहीन देखिन थालेका छन् । प्राविधिक शिक्षाका मध्यमबाट कुनै उत्पादनमा नजोड्ने हो भने चित्कारहरु झन् बढेर जानेछन् । धेरै आत्मदाहको सामना गर्नुपर्ने हुनसक्छ ।

चौथो, खुला बजार नीतिको नाममा नेपाललाई विदेशी बजार बनाउने काम तत्काल रोकेर राष्ट्रिय उत्पादन विशेषगरी साना र मझौला उद्योगहरुको बजार सुनिश्चितता गर्नु अहिलेको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्दछ । कम्तिमा खाद्यान्न र दैनिक उपयोगमा आउने औद्योगिक उत्पादनमा राज्यले आर्थिक सहयोग गरेर साना उत्पादनकर्तालाई पूर्ण रुपमा बजार उपलब्ध गराउनु पहिलो कदम हो । विदेशिएका युवा फर्काउन र गाउँ-गाउँमा उद्यमशीलतालाई गति दिन यो नै सबैभन्दा महत्वपूर्ण काम हो ।

पाँचौं, नेपालले उत्तर दक्षिण आर्थिक कोरिडोरहरु निर्माण गर्नैपर्छ । नदी तटीय कोरिडोरहरु निर्माण गरी उच्च हिमाली भागदेखि तराईसम्म विभिन्न खाले उत्पादनलाई समेटेर आर्थिक कोरिडोरहरु निर्माण नगर्दासम्म आर्थिक रुपले राष्ट्रिय सञ्जाल निर्माण हुँदैन । राष्ट्रिय रुपमा स्वावलम्बी अर्थतन्त्र निर्माण हुँदैन । ठूल्ठूला परियोजनाका नाममा नदीनाला, पहाड, जंगल सबै सखाप बनाउने तर जनस्तरको आर्थिक गतिविधिमा त्यस्ता स्रोतहरुलाई नजोड़ने हो भने स्थिति अझ विकराल भएर जाने निश्चित छ ।

प्रेमप्रसादहरुको चित्कार सुन्न र साँच्चैको परिवर्तन ल्याउन एउटा आयोग बनाएर अथवा कार्यदल बनाएर केही हुनेवाला छैन । परिवर्तनको लागि त नेपालले विकास अवधारणामै रुपान्तरण गर्नुपर्छ । विकास, समाज, जीवन, जीवनयापन आदिको बारेमा नयाँपन दिन सक्ने समृद्धिको अभियान सिर्जना गर्न सक्नु अहिलेको आवश्यकता हो । यस्तो समृद्धिको अभियान चालोस्, जसले समाजमा व्याप्त चित्कारहरु निस्तेज गरोस् र उपभोक्तावादी आशक्तिहरुबाट नयाँ पुस्तालाई जोगाओस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *