सेभन थ्री स्पोर्ट्सद्वारा क्यानसँगको सम्झौता एकतर्फीरूपमा भंग – Nepal Press
नेपाल टी-२० लिग विवाद

सेभन थ्री स्पोर्ट्सद्वारा क्यानसँगको सम्झौता एकतर्फीरूपमा भंग

काठमाडौं । भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता एकतर्फीरुपमा भंग गरेको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘टर्मिनेसन नोटिस’ पठाएको हो ।

गत ९-२७ पुसमा काठमाडौंमा आयोजना भएको नेपाल टी-२० लिग तीव्र विवादित बनेको थियो । प्रतियोगिता अगाडिदेखि नै क्यान र सेभन थ्री स्पोर्टसबीच सम्झौतालाई लिएर प्रश्नहरू उठेका थिए भने प्रतियोगिताका दौरान खेलाडीको पारिश्रमिक र स्पट फिक्सिङको विवाद उब्जियो । फिक्सिङका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन विभाग (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । फिक्सिङमा १० जना संलग्न रहेको सीआईबीले बताएको छ, जसमध्ये दुई नेपाली खेलाडी पक्राउ परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर संघले गत बिहीबार पत्रकार सम्मेलन गर्दै सेभन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको बयान दिएका थिए । उनले सम्झौता रद्द गर्ने प्रक्रियामा जाने पनि बताएका थिए । त्यसको पाँच दिनपछि सेभन थ्री स्पोर्ट्सले क्यानलाई सम्झौता भंग भएको पत्र पठाएको हो ।

सेभन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहुवालीयाले क्यानलाई सम्झौता अन्त्य गरेको पत्र पठाएको पुष्टि गरे ।

उनले भने, ‘नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदबाट सहमति प्राप्त भएको भनेर क्यानले हामीलाई अन्धकारमा राखेको भर्खरै मात्र हाम्रो जानकारीमा आयो । नेपालको कानूनविपरीत हामी जान चाहँदैनौं । त्यसैले सम्झौता रद्द भएको पत्र पठाएका छौं ।’

नेपालको कानूनी प्रावधानअनुसार कुनै पनि खेल संघले विदेशी संस्थासँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषदको सहमति लिनुपर्छ । तर, क्यानलाई परिषदले सहमति नदिएको भनेर पहिल्यैदेखि सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भएका थिए । आहुवालीया भने क्यानको विश्वास गरेर आफूहरु प्रतियोगिता आयोजना गर्न तयार भएको बताउँछन् ।

‘हामीले पटक-पटक सोध्दा पनि क्यानका अधिकारीले सहमति प्राप्त भइसकेको भनेका थिए । तर, देखाएका थिएनन् । तैपनि हामीले उनीहरुलाई विश्वास गरेर प्रतियोगिता आयोजना गरेका हौं । तर, हाम्रो अनुसन्धानमा त्यस्तो सहमति नलिएको देखियो । यसर्थ सम्झौतामा अघि नबढ्ने निधो गरेका छौं,’ उनले भने ।

अहुवालीयाले क्यानलाई पठाइएको ‘टर्मिनेसन नोटिस’ तत्काल कार्यान्वयन हुने पनि उललेख गरे । तर, यदि क्यानले खेलकुद परिषदको सहमति लिएर आएमा उसँग फेरि सहकार्य हुन सक्ने उनको भनाइ छ ।

‘त्यस्तो सहमति पत्र ल्याएको खण्डमा हामी खुशीसाथ प्रतियोगितामा संलग्न हुन सक्छौं । अन्यथा नेपालको कानूनविपरित जाने हाम्रो मनसाय छैन,’ उनले भने ।

क्यानले नेपाल टी-२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गरेको थियो । भारतीय कम्पनीले क्यानलाई ८ वर्षमा ३३ करोड रूपैयाँ दिने सम्झौतामा उल्लेख छ भने पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ दिने भनिएको छ । तर, अहिलेसम्म कम्पनीले लाइसेन्स शुल्कबापत १ करोड २० लाख रूपैयाँमात्र दिएको छ । यसअघि सेभेन थ्रि स्पोर्टसले खेलकुद परिषदको सहमति नआउञ्जेल बाँकी पैसा दिन नसक्ने जनाएको थियो ।

अहुवालीयाले भने, ‘राखेपले क्यानलाई सहमति दिएको दिनबाट मात्रै हाम्रो सम्झौता प्रभावकारी हुने शर्त थियो । तर, क्यानले त्यो शर्त पूरा गर्न नसकेपछि हामीेले पैसा रोकेका हौं ।’
क्यानसँगको सम्झौता रद्द गर्दा आफूहरुलाई आर्थिकरुपमा घाटा भएको उनको दाबी छ ।

‘हामीले क्यानलाई लाइसेन्सका लागि १ करोड २० लाख दिएका थियौं भने मैदानका पूर्वाधारहरुका निम्ति २५ लाख रुपैयाँ खर्च गरेका छौं । हामीले दिर्घकालीन फाइदा हेरेर लगानी गरेका थियौं । तर, हामी कुनै पनि गैरकानूनी विषयको अंग बन्न सक्दैनौं,’ उनले भने ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको पारिश्रमिक पनि क्लीयर भएको छैन । लुम्बिनी र पोखराका बाहेक अन्य ४ टिमका खेलाडीहरुले समयमा पारिश्रमिक पाउन सकेका थिएनन् । अब यस विषयमा क्यानले नै जवाफ दिनुपर्ने जतिनको तर्क छ ।

सेभन थ्री स्पोर्टसले पठाएको पत्रबारे बुझ्न खोज्दा क्यानका अधिकारीहरुसँग सम्पर्क हुन सकेन । क्यानको बोर्ड वैठक आज पोखरामा बसिरहेको छ, जहाँ सातजना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर