सामसुङले मार्चदेखि नेपालबाटै उत्पादन थाल्ने- टेलिभिजनबाट थालेर स्मार्ट फोनसम्म – Nepal Press

सामसुङले मार्चदेखि नेपालबाटै उत्पादन थाल्ने- टेलिभिजनबाट थालेर स्मार्ट फोनसम्म

काठमाडौं । विश्व बजारकै ठूलो मानिने कोरियाली कम्पनी साम्सुङ इलेक्ट्रोनिक्सले नेपालबाटै आफ्ना सामग्री उत्पादन थाल्ने भएको छ । आगामी मार्च महिनादेखि नेपालमै स्थापित फ्याक्ट्रीबाट आफ्नो उत्पादन थाल्ने भएको हो ।

सामसुङ कम्पनीको नेपाल कार्यालयका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई शिष्टाचार भेट गरी नेपालमै उत्पादन थाल्न लागिएको जानकारी गराएका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले भैरहवामा सामसुङको ‘एसेम्बलिङ फ्याक्ट्री’ स्थापना भएको र मार्चदेखि पहिलो चरणमा सामसुङका टेलिभिजन सेटहरु उत्पादन हुने जानकारी दिए ।

कम्पनीले विस्तारै नेपालमा सामसुङका अन्य उत्पादनहरु फ्रिज, वासिङ मेसिनदेखि स्मार्ट फोनहरु पनि उत्पादन गर्ने प्रबन्ध निर्देशक पार्कले बताए । कोरिया र भियतनाममा रहेका सामसुङका दक्ष प्रशिक्षकहरु नेपाली कामदारलाई तालिम दिन काठमाडौं आउन लागेको जानकारीसमेत उनले गराए ।

गोल्छा अर्गनाइजेशनसँग मिलेर सामसुङले सो उद्योग स्थापना गरेको हो । नेपालबाट पहिलो चरणमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र विस्तारै अरु उत्पादन बढेसँगै रोजगारीको संख्या पनि बढ्ने उनले बताए । नेपालीहरुलाई नै दक्ष बनाएर रोजगारी दिने नीति बनाउन मन्त्री पौडेलले आग्रह गरेकी छन् ।

सो भेटमा पार्कले सामसुङ कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग मिलेर नेपालका एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राविधिक विषयमा पढाइ गरिरहेको र त्यसको नाम सामसुङ इनोभेटिम कलेज रहेको बताइन् ।

परराष्ट्रमन्त्री डा. पौडेलले कोरिया र नेपालबीच सरकार तथा जनताको तहमा पनि राम्रो सम्बन्ध रहेको भन्दै सामसुङले नेपालमा आफ्नो उत्पादन कारखाना खोल्दा नेपालीले रोजगारी पाउने भएकाले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर