राष्ट्रियसभा उपनिर्वाचन : फिर्ता भएन उन्मुक्तिको उम्मेदवारी, कसकाे कति छ मतभार ? – Nepal Press

राष्ट्रियसभा उपनिर्वाचन : फिर्ता भएन उन्मुक्तिको उम्मेदवारी, कसकाे कति छ मतभार ?

रुपन्देही । लुम्बिनी प्रदेशमा माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनैजना उम्मेदवार मैदानमा छन् । लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । निर्वाचनको लागि माघ ११ गते उम्मेदवारी दर्ता भएको थियो ।

सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ ।

एमालेबाट रोल्पा रुन्टीगढी- ५ का कुमार दसौतीले मनोनयन दर्ता गरेका थिए । दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ रहेका छन् ।

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आएका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् ।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन् ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको जानकारी दिए ।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि परिणाम आफ्नो पक्षमा आउने कांग्रेसले अपेक्षा गरेको छ । तर, उन्मुक्तिको मतविना पनि सत्ता गठबन्धनको मतभारले एमाले उम्मेदवार दसौदीको जीत निश्चित देखिएको छ ।

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिलाई मनाउने एमालेले अन्तिम समयसम्म प्रयास गरेको थियो । तर, उन्मुक्ति सहमत नहुँदा उम्मेदवारी फिर्ता भएन ।

राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन् । जसमा २१८ वटा स्थानीय तहका प्रमुख/उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरु रहनेछन् ।

यस्तो छ मतभार

निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रदेशमा नेपाली कांग्रेसका कुल २७ सांसद छन् । प्रदेशबाट मात्रै उसको १ हजार २९६ मतभार हुन्छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन् । उनीहरूको मतभार १ हजार ६५६ हुन आउँछ ।
यसअनुसार कांग्रेससँग कूल २ हजार ९५२ मतभार छ ।

एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ । एमालेका २९ जना प्रदेश सांसद छन् भने स्थानीय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् ।

प्रदेश र स्थानीय तहतर्फ माओवादीसँग कूल १ हजार १६६ मतभार छ । प्रदेशसभामा माओवादीका १० सांसद रहँदा स्थानीय तहमा ४० मतदाता छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको मतभार २४६, जनता समाजवादी पार्टीको २५२, लोकतान्त्रिक समाजवादी पार्टीको २१६, नागरिक उन्मुक्तिको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मतभार ९६ छ ।

यसअनुसार वर्तमान सत्ता गठबन्धनको मतभार ४ हजार ५९६ रहेको छ । जुन कांग्रेसको भन्दा १ हजार २५४ ले बढी हो ।

कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र एकीकृत समाजवादीले साथ दिएमा पनि उसँग ३ हजार ३४२ मतभारमात्रै हुन्छ । यदि यही गठबन्धन कायमै रहे एमालेका उम्मेदवारको जीत निश्चित जस्तै छ ।

जनता प्रगतिशील पार्टी र २ जना स्वतन्त्र सांसदले अहिलेसम्म स्पष्ट धारणा बनाइसकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर