लुम्बिनीको ‘रामकथा प्रवचन’ रोक्न बौद्ध धर्मावलम्बीको माग – Nepal Press

लुम्बिनीको ‘रामकथा प्रवचन’ रोक्न बौद्ध धर्मावलम्बीको माग

सबै धर्मस्थलमा कार्यक्रम भए,अन्यथा लिनुहुँदैनः आयोजक

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा हुन लागेको रामकथा प्रवचन कार्यक्रम रोक्न बौद्ध धर्मावलम्बीहरुले माग गरेका छन् । माघ २१ देखि ९ दिनसम्म भारतीय हिन्दु आध्यात्मिक गुरु मोरारी बापुबाट रामकथा प्रवचन गर्ने कार्यक्रम भइरहेको बेला बौद्ध धर्मावलम्बीहरुले यस्तो माग गरेपछि यो कार्यक्रम विवादमा तानिएको हो ।

बौद्ध धर्मावलम्बीहरुको संस्था धर्मोदय सभाले मारवाडी समुदायका उद्योगी व्यवसायीको अगुवाईमा कार्यक्रमको तयारी भइरहेका बेला उक्त कार्यक्रम रोक्न माग गरेको हो । लुम्बिनी बौद्धमार्गीहरुको पवित्र र सम्मानित स्थल भएकाले गैर बौद्ध धर्मावलम्बी कार्य सञ्चालन षड्यन्त्र भएको भन्दै कुनै हालतमा गर्न दिन नहुने धर्मोदय सभाको माग छ ।

धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यले केही समयअघि लुम्बिनीमै हिन्दु–बौद्ध सम्मेलन आयोजना गर्न खोजिएकोमा त्यसलाई पनि धर्मोदय सभाले प्रतिकार गरेर रोकेको बताए ।

उनले भने, ‘सबै धर्मावलम्बीको आआफ्नो क्षेत्र हुँदाहँुंदै बुद्धको पवित्र भूमिमा गैर बौद्ध कार्यक्रम सञ्चालन गर्नुको पछाडि कुनै षड्यन्त्र लुकेको आभाष मिलेको छ,बौद्ध धर्मावलम्बीको सम्मानित क्षेत्रमा हस्पक्षेप गर्न लागेको क्रियाकलाप तुरुन्त बन्द गर्न लुम्बिनी विकास कोषसंग हाम्रो जोडदार माग छ ।’

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले प्रवचन रोक्न माग गरेको विषय आफूले पनि थाहा पाएको तर भेटेर औपचारिकरुपमा कुराकानी नभएको बताए ।

‘उहाँहरुले राम कथा प्रवचन कार्यक्रम रोक्न माग गर्नुभएको रहेछ, भेटेर कुरा भएको छैन, तर कुराकानी भएको छैन, यो कार्यक्रम हिन्दु धर्मको प्रचारका लागि होइन,बौद्ध कथा पनि प्रवचन हुन्छ, त्यसैले धेरै नेगेटिभ जानुपर्छ भन्ने लाग्दैन,उहांहरु आउनुभयो भने छलफल गरेर निर्णयमा पुग्नुपर्ने हुन्छ’ उनले भने ।

राम कथा प्रेम यज्ञ समिति लुम्बिनीका संयोजक राजेशकुमार अग्रवालले यो प्रवचन कार्यक्रम लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले सुरु गरिएको बताएका छन् ।

मोरारी बापु ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका र उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरूमा प्रवचन गर्दै आएकाले अन्यथा सोच्न नहुने बताए । लुम्बिनीमा हुने प्रवचनका क्रममा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रमसमेत रहेको संयोजक अग्रवालले जानकारी दिए ।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावर्ती भारतीय शहर तथा गाउँहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा सहभागी हुने भक्तालुजनका लागि लुम्बिनीका अधिकांश होटलहरु बुकिङ भैसकेको आयोजकले जनाएको छ ।

होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले थला परेको लुम्बिनीको पर्यटनलाई राम कथा प्रवचनले राहत दिने अपेक्षा गरिएकाले विरोध गरेर विवादमा ल्याउन नहुने बताए । धर्म गुरु मोरारी माघ २० गते चार्टर्ड विमान मार्फत सिधै गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका कृष्णकुमार जालानले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *