क्रिकेट प्रशिक्षक नियुक्तिमा बिलम्ब– खेलकुद परिषद्ले दियो क्यानलाई नै दोष – Nepal Press

क्रिकेट प्रशिक्षक नियुक्तिमा बिलम्ब– खेलकुद परिषद्ले दियो क्यानलाई नै दोष

सदस्य सचिव भन्छन्– समयमा निर्णय लिन क्यान चुकिरहेको छ

काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षकको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषद्‌मा अड्किएको छ । नेपाल क्रिकेट संघ क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइलाई नियुक्त गर्न आवश्यक सहमतिका लागि पठाएको पत्रमा परिषद्ले निर्णय लिएको छैन ।

स्रोतका अनुसार एक साता अगाडि क्यानको पत्र परिषद‌्‌मा पुगेको थियो । कानून अनुसार विदेशी प्रशिक्षक नियुक्त गर्नुपर्ने अवस्थामा परिषद्‌मार्फत खेलकुद मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ । यसका लागि परिषद‌्‌को कार्यकारी समितिको वैठक बसेर निर्णय लिनुपर्छ । क्यानले पठाएको पत्रबारे छलफल गर्न कार्यकारी समितिको बैठक बसेको छैन् ।

परिषद्का सदस्यसचिव टंकलाल घिसिङ कार्यकारी समितिको वैठक आजको भोली नै बोलाउन नसकिने बताउँछन् ।‘आज क्यानले पत्र पठायो, भोलिपल्टै बैठक राख्ने कुरा हुँदैन । कार्यकारी समितिको वैठक नियमित समयमा बस्छ । उहाँहरुले सहमति माग्नुभएपछि बैठक बसेको छैन्,’ उनले भने ।

उनले अब बस्ने कार्यकारी समितिको बैठकमा क्रिकेट प्रशिक्षकबारे निर्णय भएर मन्त्रालयमा पठाइने बताए । कार्यकारी समितिको बैठक छिट्टै बस्ने तयारी भए पनि कहिले बस्छ भन्ने टुंगो नलागेको उनको भनाइ छ ।

यति परिषद्‌बाट निर्णय लिन ढिलाइ भइरहँदा क्यानको आग्रहमा देसाइले अनौपचारिक तबरले नै नेपाली टिम सम्हालिसकेका छन् । उनले दुई दिनदेखि राष्ट्रिय टिमलाई प्रशिक्षण गराउन थालेका हुन् । नियुक्तिबिनै प्रशिक्षणमा लगाएको भनेर क्यानको आलोचना पनि भइरहेको छ ।

क्यानले भने नेपालको घरेलु सिरिज सुरु हुन थोरै समय मात्रै बाँकी रहेकाले प्रशिक्षण सुरु गरिएको बताएको छ ।प्रशिक्षक नियुक्तिमा ढिलाइ हुनुमा परिषद् जिम्मेवार नरहेको बताउँछन् सदस्य सचिव घिसिङ ।

उनले भने, ‘हामीलाई पत्र नै ढिला आएको हो । समयमा निर्णय लिएर व्यवस्थितरुपमा अघि बढ्ने कुरामा क्यान चुकिरहेको छ ।’
प्रशिक्षकलाई नियुक्तिबिनै प्रशिक्षणमा खटाइएकोबारे प्रश्न गर्दा घिसिङले जवाफ दिए, ‘तपाईंले भनेर थाहा पाएँ । सहमति नलिइकन प्रशिक्षक राख्न मिल्दैन । कानूनले निर्दिष्ट गरेबमोजिम गर्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर