पोर्चुगल, साइप्रस र माल्टाका नेपाली समस्यामा, एक महिनाभित्र घुम्ती टोली पठाउने परराष्ट्रमन्त्रीको आश्वासन – Nepal Press

पोर्चुगल, साइप्रस र माल्टाका नेपाली समस्यामा, एक महिनाभित्र घुम्ती टोली पठाउने परराष्ट्रमन्त्रीको आश्वासन

काठमाडौं । पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरू समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने भएको छ ।

परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी रहेको जानकारी दिएकी हुन् ।

गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरूको पहलमा आयोजित जुम अन्तरक्रियामा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरूमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरूले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने बताइन् ।

मन्त्री पौडेलले भनिन्–पोर्चुगलको धेरै कुराहरू सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ । तत्काल समस्या समाधानका लागि २५ देखि १ महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहीन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ ।

मन्त्री पौडेलका अनुसार मन्त्रालयले यसबारे निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।

युरोपेली मुलुक माल्टामा दूतावास नहुँदा समस्या परेको विषयमा पनि मन्त्रालय जानकार रहेको मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने आश्वासन दिएकी छन् । हाल बेलायतस्थित दूतावासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेको छ ।

त्यस्तै साइप्रसमा घरेलु कामदारको रूपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो । मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको समेत जानकारी दिइन् ।

पासपोर्ट नवीकरण गर्दा लामो समय लाग्ने तथा अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गरेकी छन् ।

पोर्चुगलमा आत्महत्याको अवस्था, साइप्रसमा सकस

अन्तरक्रियामा पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउन सक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रूपमा गैरकानूती तवरले बसिरहेका नेपालीको संख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरिन् ।

एनआरएनए पोल्याण्डका महासचिव पवन, खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराए । माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा दूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारी गराएका थिए ।

यस्तै, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीले त्यहाँस्थित नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल गरी आवश्यक व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउन अनुरोध गरे ।

एनआरएनकी महिला उपाध्यक्ष यास्मिन सैयद बेगमले मध्यपूर्वमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी गराउँदै शव व्यवस्थापन र स्वदेश फिर्ताका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताइन् ।

कार्यक्रममा एनआरएनकी मिडिया समिति कोचेयर बाबा राजेश्वरीले कार्यक्रमको सारांश प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण एनआरएनएका उपमहासचिव रामशरण सिम्खडाले गरेका थिए ।


प्रतिक्रिया

One thought on “पोर्चुगल, साइप्रस र माल्टाका नेपाली समस्यामा, एक महिनाभित्र घुम्ती टोली पठाउने परराष्ट्रमन्त्रीको आश्वासन

  1. वेलायत मा मेराे पनि छाेरा छ स्टुडेन्ट भिसा मा १८ लाख नेपाली खर्च गरेर गयकाे ,यसै गरि तमाम नेपाली जनता छाेरा छाेरी काे भविष्यमाथि खेलवाड गर्ने गराउने दलाल माथि छानबिन गरियोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर