बुद्ध जन्मस्थल लुम्बिनीमा शून्य पोलेथिन अभियान – Nepal Press

बुद्ध जन्मस्थल लुम्बिनीमा शून्य पोलेथिन अभियान

रुपन्देही । बुद्ध जन्मस्थल रहेको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलेथिन अभियान सुरु भएको छ । पोलेथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रीनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ । अभियानको शुभारम्भ गर्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताए ।

सांसद घिमिरेले यसअघि आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शून्य खुला पोलिथिनमुक्त नगर बनाउन एक लाखभन्दा बढी नगरबासीलाई सरसफाई अभियानमा सहभागी गराएको उल्लेख गर्दै व्यापक जनसहभागिताले मात्र अभियान सफल हुने स्पष्ट पारे । उनले लुम्बिनीपछि रुपन्देही क्षेत्र नं. ५ का अन्य स्थानीय तहलाई समेत शून्य पोलोथिन बनाउन पहल गर्ने जनाएका छन् ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाई लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएकाले शून्य पोलोथिन अभियानले सकारात्मक परिणाम दिने बताए । अभियानलाई सफल बनाउन ‘माई पकेट ः माई फष्ट डष्टबिन’ अवधारणालाई लुम्बिनीमा पनि कार्यान्वयन गराइनुपर्नेमा उनको जोड छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले पोलिथिनजन्य फोहोरले पर्यावरण र जलवायु परिवर्तनमा नकारात्मक असर परेकोले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै यो अभियानमा विश्वविद्यालय पनि सहकार्य गर्न तयार रहेको बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यवसायिक संघसंस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाई अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने जानकारी दिए ।

ग्रीनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक सचेतना अभिवृद्धिका साथैं फोहोर संकलन, फोहोर वर्गीकरण र फोहोर बिसर्जनमा खटिने बताउँदै यो अभियानमा सबैको सहयोग आवश्यक रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *