गृह मन्त्रालय रास्वपाबाट खोस्ने प्रचण्डको दाउ, के गर्छन् रवि ? – Nepal Press

गृह मन्त्रालय रास्वपाबाट खोस्ने प्रचण्डको दाउ, के गर्छन् रवि ?

काठमाडौं । रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुदार देखिएका छन् । पावर सेयरिङका क्रममा रास्वपाले पाएको गृह अब आफैँले राख्ने प्रधानमन्त्रीको मनस्थितिले गठबन्धनभित्र द्वन्द्व चर्किने संकेत देखिएको छ ।

नेकपा एमाले भागबन्डाअनुसार गृह रास्वपालाई नै दिनुपर्ने र त्यसमा पनि लामिछानेलाई नै पुनः नियुक्त गर्नुपर्ने पक्षमा छन् । लामिछानेले हिजै आफ्नो नेपाली नागरिकता पुनः कायम गरिसकेपछि उनलाई गैर संसदका रूपमा मन्त्री नियुक्त गर्न कानूनी अड्चन नरहेको एमाले बुझाइ छ । तर, प्रधानमन्त्री प्रचण्ड भने यही मौकामा गृह आफ्नै पार्टीको पोल्टामा पार्ने दाउमा छन् ।

लामिछाने हिजो पार्टी सभापतिमा पुनर्स्थापित भएसँगै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । स्रोतका अनुसार उक्त भेटघाट गृह मन्त्रालयकै नेतृत्वका विषयमा केन्द्रित थियो । लामिछानेले आफू फेरि गृहमन्त्री बन्ने आकांक्षा प्रस्तुत गरेको तर प्रचण्डले सकारात्मक जवाफ नदिएको स्रोतले बतायो ।

प्रचण्डले लामिछानेको राहदानी सम्बन्धी विवादको निरूपण नभएसम्म उनलाई सरकारमा ल्याउन नसक्ने संकेत गरेका थिए । रास्वपा स्रोतले भने यो प्रचण्डको बहानावाजी मात्र भएको बतायो ।

‘राहदानीको विषय प्रहरी अनुसन्धानमा छ भन्नु केवल बहानावाजी हो । यही कारणले गृहमन्त्री बनाउन नमिल्ने भए हिजो कसरी बनाउनु भयो ?’ रास्वपाका एक केन्द्रीय सदस्यले भने ।

प्रचण्ड यतिबेला सत्ता सहयात्री दल एमालेको सुझाव पनि मान्ने मुडमा छैनन् । गृह आफैँसँग राख्ने वा माओवादीबाट कसैलाई जिम्मा दिने उनको तयारी रहेको बुझिएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने गृह मन्त्रालय आफूहरूले नछाड्ने बताउँछन् । उनले भने, ‘यो हाम्रो भागमा परेको मन्त्रालय हो । यसमा प्रधानमन्त्रीज्यूबाट कुनै तलमाथि हुन्छ जस्तो लाग्दैन ।’

खाली भएको गृहमा कसलाई पठाउने भन्ने रास्वपाकै चासोको कुरा भएको उनको भनाइ छ । गैरसांसदका रूपमा सभापति लामिछानेलाई नै गृहमा पठाउने भनेर टुंगो नलागिसकेको पनि परियारले बताए । ‘उहाँलाई नै पठाउने भनेर पार्टीले निर्णय गरिसकेको अवस्था छैन । सम्भवतः आज यसको निर्णय हुन्छ,’ उनले भने ।

हिजो बसेको केन्द्रीय समितिको बैठकमा भने लामिछानेले आफू नै गृहमा फर्किने संकेत गरेका थिए । उनको चाहना बुझिसकेपछि अरू कसैको नाममा पार्टीभित्र छलफल नै भएन । यदि गृह नपाएको खण्डमा के गर्ने भन्ने पनि पार्टीमा छलफल नभएको परियार बताउँछन् ।

‘गृह नपाए के गर्ने भन्ने काल्पनिक प्रश्न हो । त्यतातिर हामीले सोचेका नै छैनौँ र त्यो परिस्थिति आउँछ जस्तो पनि लाग्दैन,’ उनले भने । गृहको साटो अर्को मन्त्रालय अफर गरिएमा रास्वपाले के गर्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यस्तो सम्भव नै छैन ।’

पार्टीका केही नेता भने प्रचण्डबाट धोकाधडी भएमा सरकारबाटै बाहिरिएर समर्थन फिर्ता लिनुपर्ने पक्षमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर