कालिकोटको खडाचक्र नपाका मेयर र उपमेयरबीच बजेट बाँडफाँटमा विवाद – Nepal Press

कालिकोटको खडाचक्र नपाका मेयर र उपमेयरबीच बजेट बाँडफाँटमा विवाद

कालिकोट । कालिकोटको खाडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीबीच कार्यक्रमगत बजेट बाँडफाँटमा विवाद भएको छ ।

उनीहरुबीच लघु उद्योग कार्यक्रमका लागि छुट्याएको ५ लाख रुपैयाँका विषयमा आइतबार साँझ विवाद भएको स्रोतले जनाएको छ ।

के हो विवाद ?

असार मसान्तमा पाँच लाख बजेट कम्प्युटर सिकाइका लागि छुट्याइएको थियो । विपन्न परिवारका एसईई पास गरेका तर टाढा पढ्न जान नसक्ने विद्यार्थीहरुका लागि उक्त बजेट छुट्याइएको हो । उक्त रकमले ११ वडाका २२ जनालाई कम्प्युटरको सीप सिकाउने तथा पढाउने सम्झौता भएको थियो ।

त्यसमा पनि एक÷एक जना थप गर्न उपमेयर शाहीले जोड गरेका थिए । तर मेयर कमलले त्यो रकमले पुग्छ कि पुग्दैन भन्ने कुरा कर्मचारीहरुले सल्लाह गर्ने र पुगे थप्न सकिने जवाफ दिएको स्रोतले बतायो ।

‘उनीहरुलाई खाना नदिने, दिउँसो खाजामात्रै दिने भएपछि पाँच लाख रकम धेरै हुन्छ । एक÷एक जना थप्नुप¥यो नि’, उपमेयर शाहीको भनाइ उद्धृत गर्दै उनले भने ।

उनका अनुसार मेयर कमलले भनेका थिए, ‘त्यो मैले हैन कि त्यो कुरा कर्मचारीले निर्णय गर्ने हो । हामीले त बजेट विनियोजन गरेको हो । कर्मचारीले सल्लाह गर्ने हो । हाकिमले सल्लाह गर्नुहुन्छ ।’

त्यसपछि उपमेयर शाहीले झर्किँदै मेयर कमललाई प्रश्न गरे, ‘कस्तो कुरा गरेको हो ? तपाईंलाई थाहा नभए कसलाई थाहा हुन्छ ?’

मेयर कमलले पनि रिसाउँदै उपमेयर शाहीलाई भने, ‘हत्तेरी तपाईं कस्तो कुरा गर्नुहुन्छ ? कार्यकक्षमा बसेको समयमा यस्तो कुरा बोल्नुहुन्न । हामी बाहिर आएको बेला बोले जस्तो ।’

त्यसपछि मेयर र उपमेयरले बाझाबाझ गरेको स्र्रोतले बतायो । उनीहरुबीचको वादविाद बाहिरसम्म सुनिएको एक कर्मचारीले बताए । मेयर र उपमेयर आफू बसेको ठाउँबाट उठेर एकापसमा झम्टिन पुग्दा कर्मचारी तथा वडा अध्यक्षहरुले छुट्याउनुपरेको उनले जानकारी दिए ।

मेयर कमल उपमेयर शाहीका नाताले भतिजा पर्छन् । स्रोतका अनुसार उनीहरुबीच तीनदिन अगाडि पनि यसै विषयमा विवाद भएको थियो ।

मेयर शाही स्वतन्त्रबाट जितेका थिए । उपमेयर भने नेकपा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा एकीकृत समाजवादीले टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट मेयरमा चुनाव लडेका थिए । मेयर निर्वाचित भएपछि उनी पुनः नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर