गण्डकीकाे योजना आयोगको उपाध्यक्षमा डा. गिरधारी नियुक्त


पोखरा । गण्डकी प्रदेशकाे नीति तथा योजना आयोगकाे उपाध्यक्षमा डा. गिरधारी शर्मा पौडेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले आयोगको उपाध्यक्षमा स्याङ्जाका पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहामगरले जानकारी दिए ।
आयोगको सदस्यमा तनहुँका डा. सुवास अधिकारी र कास्कीकी डा शान्ताकुमारी खत्रीलाई नियुक्त गरिएको मन्त्री गाहामगरले बताए । पौडेल संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका पालामा समेत आयोगको उपाध्यक्ष थिए ।
स्याङ्जाको आँधीखोला गाउँपालिका कमेरे स्थायी ठेगाना भएका पौडेल युएनडिपीसहित अन्तर्राष्ट्रिय दातृ संस्थाहरुमा काम गरेको लामो अनुभव छ । राष्ट्रिय योजना आयोगमा समेत उनी परामर्शदाताका रुपमा काम गरिसकेका छन् ।